कोभिड-१९ {अपडेट}

कोरोना ए कोरोना ! यस्तो दुःख फेरि देख्‍न नपरोस्

चैत १६, २०७६

    काठमाडौं : सदाझै म नियमित ड्युटीका लागि कार्यालयतर्फ बाइकमा दौडिँदै थिएँ। मुलुक लकडाउनमा भएको समय। सडक पनि खुला। काम विशेषले सवारीमा हिँड्नेहरूका लागि मुख्य चोक र ट्राफिक लाइटमा बाहेक खासै रोकिनु पर्दैन।

     म पनि नयाँ बानेश्वर चोकमा आइपुग्दा एकैछिन रोकिनुपर्‍यो। दिउँसोको करिब १ जति बजेको थियो। सडकछेउमै ड्युटीमा रहेका एकजना प्रहरीले मलाई सोधे, ‘कहाँसम्म जाने?’ मैले जवाफ फर्काएँ, ‘माइतीघर मण्डलासम्म।’ लगत्तै उनले नजिकै उभिएकी एक युवतीतिर संकेत गर्दै आग्रह गरे, उहाँलाई त्यहाँसम्म लग्दिनुस् न..! ती युवतीले दुवै हातमा झोला झुण्डाएकी थिइन्। प्रहरीले मलाई आग्रह मात्रै गरेका थिए, ती युवती पनि नजिक आइन्। उनको अनुहार मलीन थियो।

    सरकारले इमरजेन्सी बिरामी र उनीहरूका आफन्त साथै समस्यामा परेका मानिसहरूका लागि सहजता प्रदान गर्ने केही व्यवस्था गर्नुपर्ने हो।  किन यस्तो प्रयास भइरहेको छैन? 

    आँखा रातोरातो र रुँदै गरेजस्तो देखिन्थ्यो। सर्जिकल मास्‍क र हातमा सेतो पञ्जा लगाएकी उनी भन्दै थिइन्, ‘भाउजू सुत्केरी हुनुहुन्छ हस्पिटल जानुपर्ने।’  लकडाउनका कारण समस्यामा परेकी उनले आफ्नो समस्या पोखेर चुप भइन्।  म एकछिन् अडिएँ, केही जवाफ दिन सकिनँ। मैले उनलाई बाइकमा बस्नुहोस् भन्न पनि सकिनँ।

    म शब्दविहीन भएर अडिइरहेँ। १०–१५ सेकेण्ड सोचेपछि जवाफ फर्काएँ, ‘लिफ्ट दिऊँ भने, कोरोनाको डर छ।’  मैले यसो भनिरहँदा प्रहरीले भने थिए, ‘उहाँलाई त्यस्तो केही भएको छैन लगिदिनुस्।’ प्रहरीले मलाई आग्रह मात्रै के गरेका थिए, ती युवती बोलिन्, ‘तपाईलाई शंका लाग्छ भने, म हिँडेरै जान्छु।’ यति भन्नेबित्तिकै उनी बाटो लागिन्। 

    अचानकको घटना तर जति सोच्यो उति पीडादायी अनुभूति। ती युवतीको पीडाको अगाडि कोरोना संक्रमणको त्रास पनि मेरो मनबाट कहाँ पुग्यो कहाँ ख्यालै भएन। ‘सायद उनले अलि जोड गरेर आफ्नो समस्या राखेको भए, म उनलाई सहयोग गर्न बाध्य हुन्थेँ होला।’ मेरो मनले यसो पनि भनिरह्यो।

    तर उनी पैदलै हिँड्न अघि बढिसकेपछि मैले पनि सहयोगका लागि तयार छु भन्न सकिनँ। मैले उनलाई लिफ्ट दिन्छु भनेर दोस्रोपटक सोच्नसम्म मौका पाइनँ। यस्तो समस्याको घडीमा सहयोग गर्ने भावना नभएको होइन। एकातिर कोरोनाको डर, त्यसमा पनि अचानक सहयोगका लागि प्रस्ताव आउँदा दोधारमा पर्ने नै भइयो। ती युवती बाटो लागेपछि प्रहरी पनि आफ्नै काममा लागे। त्यसपछि म पनि अघि बढेँ। स्टार्टमै रोकिएको बाइकको एक्सेलेटर बटार्न खोजेँ, तर अकस्मातको घटनाले बाइक पहिलेकै रफ्तारमा गुडाउन सकिनँ।

    किनभने, मनमा नानाथरी प्रश्न र प्रतिप्रश्न उब्जिरहे। बानेश्वर चोकसम्म प्रतिघण्टा ६०–८० किलोमिटर स्पिडमा आएको मलाई त्यहाँबाट मेरो कार्यालय (थाहा सञ्चार नेटवर्क) आइपुग्न करिब १०–१५ मिनेट नै लाग्यो होला। त्यसयता मैले बाइक प्रतिघण्टा १०–१५ किलोमिटरको गतिभन्दा धेरै गुडाउन सकिनँ।

    बानेश्वर चोकबाट– बबरमहल–माइतीघरको बीचमा अवस्थित जब कि अहिले लकडाउनको बेला २ मिनेटभन्दा बढी समय लाग्दैन। कौशलटारबाट बानेश्वर चोकसम्मको ५ किलोमिटर दूरी ७ मिनेटमा आइपुगेको मलाई त्यहाँबाट करिब २ किलोमिटरको दूरी पार गर्न झण्डै १५ मिनेट लाग्यो।   

    त्यसबीचमा मेरो मनमा धेरै प्रश्न उब्जिए, चार लेनको बानेश्वरको खाली सडकको बीच लेनमा म गुडिरहेको थिएँ। जहाँ मेरो बाइक र केही अत्यावश्यक एक/दुईवटा सवारीसाधानबाहेक सडक खाली थियो। थिए त चोकमा उभिएका केही प्रहरी।

    सडकको बीचलेनमै भए पनि धेरैपटक बाइक छेउ लगाएँ, सोचेँ समस्या परेको बेला सहयोग गर्नुपर्छ। फर्केर जाऊँ तर पनि सकिनँ।  घटना एकछिनको हो, तर त्यसपछि मैले धेरैबेर सम्झिएँ, घोत्लिएँ। कारण, मेरो पेसा (पत्रकारिता) पनि हुनसक्छ। 

    यस्तो बेला सरकारले इमरजेन्सी बिरामी र उनीहरूका आफन्त साथै समस्यामा परेका मानिसहरूका लागि सहजता प्रदान गर्ने केही व्यवस्था गर्नुपर्ने हो। प्रहरी वा कुनै सवारीद्वारा उनीहरूलाई राज्यले सहयोग गर्नुपर्ने। किन यस्तो प्रयास भइरहेको छैन? सरकारले बुझिरहेको छैन। केही वैकल्पिक व्यवस्था गर्न सकिन्थ्यो कि?

जगत भण्डारी

पत्रकार भण्डारी थाहा सञ्‍चार नेटवर्कमा आबद्ध छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]