भन्छन् : देशको चिन्ताले सताइरहन्छ

|

काठमाडौं : अहिले विश्वका १९५ भन्दा बढी देश कोरोनाको उच्च जोखिमा छन्। २५ हजार बढीले ज्यान गुमाइसकेका छन्। चीनबाट फैलिएको कोरोनाको प्रभाव एसिया र अफ्रिका भन्दा पनि युरोप र अमेरिकामा तीव्र गतिमा फैलिरहेको छ। यस्तो अवस्थामा सबै सचेत बन्‍नुको विकल्प छैन।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनसहित कयौँ शक्तिशाली देशका अधिकारी पनि कोरोनाको जोखिमबाट बच्‍न सकेका छैनन्। केही खेलाडी र खेल पत्रकारले ज्यान नै गुमाए। केही कोरोनाविरुद्ध जित निकालेर समान्य जीवनमा फर्किएका छन्।

यस्तो अवस्थामा सेल्फ क्‍वारेन्टाइनबाट बस्नु नै सबैभन्दा उत्तम विकल्प हो। नेपालीहरू विश्‍वका सबैजसो देशमा पुगेका छन्। नेपाली फुटबललाई लामो समय योगदान दिएका खेलाडी र प्रशिक्षक पनि प्रवासी जीवन बिताइरहेका छन्। कोरोनाको त्रास उनीहरूमा पनि छ। विदेशमा रहेका नेपाली पूर्व-खेलाडी र प्रशिक्षकको दैनिकीबारे थाहाखबरका लागि नमीन ढकालले उनीहरूकै शब्‍दमा तयार गरेको सामग्री :

प्रदीप हुमागाईं, अमेरिका : पूर्व थ्रीस्टारका प्रशिक्षक हाल कि-स्टोन क्लब अमेरिकाका प्रशिक्षक

म चार वर्षदेखि रिसोर्टमा बस्छु। मेरो क्लबले मेरो सबै व्यवस्थापन गरिदिएको छ। यो रिसोर्टमा १५०० कोठा छन्। म बस्‍ने ठाउँ अमेरिकाको पेन्सेल्भेनिया राज्यमा पर्छ। यहाँबाट न्युयोर्क १ घन्टा २० मिनेटमा पुग्छ। म बसेको ठाउँलाई पोकोना माउन्टेन भनिन्छ मेरो क्लब किस्टोन एथ्लेटिक चाहिँ स्ट्रोडस्वर्गमा हो। अहिले यहाँ १५० वटा कोठामा एक जना पनि गेस्ट छैनन्। यहाँ कामदारहरू सबैलाई बिदा दिएको छ।

मेरो क्लबको ट्रेनिङ विन्टरको अन्तिम दुई सिजन बाँकी थियो। हामी इन्डोर तालिम गरिरहेका थियौँ विन्टरमा। अब हाम्रो तालिम बाहिर सुरु हुने समय थियो। अहिले युएए फुटबल संघले अर्को सूचना जारी नभएसम्मका लागि सबै रद्द गरेको छ। हाम्रो आगामी अप्रिलमा वासिङ्गटन डिसीमा टुर्नामेन्ट थियो।

कोरोनाका कारण म घरबाट १५ दिनमा २ चोटी बाहिर निस्किए खानेकुरा लिनका लागि। दुवैचोटी केही किन्‍न पाइनँ। मसँग फ्रिजमा पर्याप्त फ्रोजन फुड त छ तर फ्रेस छैन। म हरेक दिन बिहान उठेर पेप ग्वार्डिओला, जर्गेन क्लोप, मार्सेलो बिलेसा सिमोन, जोसे मोउरिन्होको गेम टेक्टिस बुक पढिरहेको छु।

शारीरिक रुपमा केही कमजोर महसुस भइरहेको छ। आफ्नोभन्दा पनि नेपाल र परिवारको बढी चिन्ता लागेको छ। दैनिकजसो नेपालबारे समाचारबाट जानकारी लिइरहेको छु। कोही फुटबलको कुरा गर्ने च्यानलहरूलाई सोसल मिडियामा टाइम पनि दिएको छु। आफ्नो साथीभाइ र आफन्तहरूसँग नियमित कुरा भइरहेको छ।

अमेरिकामा अवस्था एकदम खराब छ। अस्तिबाट आफनो टिमको ट्रेनिङको लागि क्लबले भिडियो बनाएर पठाउनु भनेको कारण प्रत्येक दिन बेलुका मेरो टिमको खेलाडीहरूको लागि कोठाबाटै सानो ठाउँमा गर्न सकिने ट्रेनिङको फुटेज बनाएर पठाइरहेको छु। भिडियो क्लबमा गएपछि त्यहीमार्फत खेलाडीहरूलाई पठाइन्छ। म प्राथना गर्छु चाँडै कोरोनाको त्रास हटोस। 'स्टे होम एन्ड सेफ'

लोकबन्धु गुरुङ, बेलायत : पूर्वडिफेन्डर, नेपाली राष्ट्रिय फुटबल टिम

इलाम छाडेर बेलायतको लन्डनमा बसेको १० वर्ष भयो। कोरोनाका कारण अहिले यहाँ पनि लकडाउन छ। जसले गर्दा अहिले घरमै बसिरहेको छु। धेरैजसो समय नानीहरू र परिवारसँगै बिताइरहेको छु। नानीहरूलाई होमवर्क गर्न सघाउने काम पनि गर्दैछु।

म आफैं पनि कुक सेफ भएकाले श्रीमतीलाई खाना पकाउन सघाउने, युटयुबमा नयाँ नयाँ जानकारी हेरिरहेको छु। व्यायामका लागि यहाँ पार्क जान मिल्छ तर सामाजिक दूरी कायम गर्नुपर्छ। लकडाउन भएपछि चाहि म बाहिर निस्किएकै छैन। कोठामै सामान्य अभ्यास गरिरहेको छु। देश विदेशमा कोरोनाको प्रभावबारे दिनभरी समाचार हेरेर बस्‍ने हो। विशेष गरी देशकै चिन्ता छ। एक दशक भयो देश छाडेको त्यहाँको अहिलेको अवस्था कस्तो छ त्यसकै चिन्ता हुन्छ।

आफनो परिवार र सबै साथीभाइ नेपालमा नै छन्। अन्तमा सबैलाई घर छाडेर बाहिर ननिस्कनु होला कोरोनाले अहिले विश्‍व आक्रान्त छ। लकडाउनको वेवास्ता गर्दा इटाली अहिले संकटमा छ। नेपालमा त्यस्तो नहोस्।

प्रलय राजभण्डारी, अमेरिका : पूर्वमिडफिल्डर, नेपाली राष्ट्रिय फुटबल टिम

बिहान उठ्नेबित्तिकै २ माइलजसो मनिङ वार्क गइन्छ मास्क लगाएर। फुटबल खेल्न पाएको छैन। त्यसैले खासै बाहिरी व्यायाम गर्न पाएको छैन्।

बिहानदेखि बेलुकासम्म कोठामा खायो, पढ्यो, बस्यो। गत २५ मार्चमा बर्थ डे थियो साथीभाइहरू आएर रमाइलो गर्ने भन्दै थिए कोरोनाले गर्दा त्यो पनि रद्द गर्नुपर्‍यो। एक महिना अघिदेखि बनाएको प्लान एक्कासि रद्द हुँदा साह्रै नमज्जा भयो नि।

तर पनि केही छैन, युटयुबमा हेरेर खान पकाउन सिक्दा सिक्दै बबाल कुक भइन्छ जस्तो पो लग्‍न थाल्यो। मेरो सल्लाह चाहिँ समयको सदुपयोग गर्नुहोस् यो एउटा अवसर पनि केही नयाँ गर्ने। अहिले प्रविधिको जमाना छ, त्यहाँबाट भविष्यलाई चाहिने सिप र ज्ञान पनि लिन सकिन्छ। अन्तमा ‘स्टे होम स्टे सेफ एन्ड बी प्रोडक्टिभ’

लक्ष्मी पौडेल, अमेरिका : पूर्व-मिडफिल्डर, नेपाली महिला राष्ट्रिय टिम

म यहाँ न्यूयोर्कको वुडसाइटमा बस्छु र ज्याक्सन हाइटमा काम गर्थे। काम बन्द भएको पनि २ साता हुन लाग्यो। सबैतिर बन्द भएकाले कोठमा भित्र बस्दा बस्दा कैदीजस्तो हुन थाल्यो। विदेशमा नेपालको जस्तो ओल्लो कोठा पल्लो कोठा भेला भएर गफ गर्न पनि मिल्दैन।

त्यसमाथि पनि यस्तो बेला कोठामा बस्‍नु नै राम्रो हुन्छ। बजारमा खानेकुरा पनि किन्‍न जान पाएको छैन लकडाउनले गर्दा कोठामा राखेको खानेकुराले नै अहिले गुजारा चल्दैछ। सकिएपछि चाहीँ केही छिन निस्कनुपर्ला बजारतिर। यहाँ एउटा टिमलाई फुटबल पनि सिकाउँथे तर अहिले त त्यो पनि पाएको छैन। 

नविता दली श्रेष्ठ, दुबई : पूर्व-गोलरक्षक, नेपाली महिला राष्ट्रिय फुटबल टिम

हामी बसेको ठाउँमा खासै असर छैन। लकडाउन गरेको छ। टाइमटेबल राखिदिएको छ, हामी आवतजावत गरिरहेका छौँ। कामबाट आउँदा जाँदा हाम्रो भिल्लामा स्वास्थ्य चेकजाँच भइरहन्छ। हामी जहाँ छौ एक दम सुरक्षित छौँ। ड्युटी पहिला जसरी गर्दथ्यौँ अहिले पनि त्यसैगरी गर्छौँ।

नेपाली राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरेकी सुधा लामा, म र सजना राना मगर सँगै छौँ। यहाँ हामीलाई खासै समस्या छैन। तर पनि स्वास्थ्यबारे सचेत भएर काम नपरी बाहिर निस्किएका छैनौँ। स्वास्थ्य भन्दा ठूलो अरु केही हुँदैन। तै पनि विदेशको ठाउँ काम नगरी पनि त खान पुग्दैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.