|

म्याग्दी  : म्याग्दी जिल्लामा लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउनका लागि दैनिक भत्ता दिएरै स्वयंसेवक खटाइएको छ।

जिल्लाको रघुगंगा गाउँपालिकाले माइकबाट कोरोना भाइरस (कोभिड १९) सम्वन्धी सूचना प्रवाह गर्न र लकडाउनलाई प्रभावकारी बनाउन प्रहरीको साथमा स्वयंसेवक खटाएको हो। सात जनाको समूहमा रहेको स्वयंसेवीको टोलीले वडाका प्रत्येक घरमा पुगेर सूचना प्रवाह गर्नुका साथै कोरोना भाइरससम्वन्धी जिज्ञासा राख्नेलाई बुझाउने गरेको महिला स्वयंसेवीका पुष्पा गर्वुजाले बताइन्।

पहिलो चरणमा रघुगंगा गाउँपालिका १ बाट शुरु गरिएको यो अभियान गाउँपालिकाका ८ वटै वडामा संचालन गरिने गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए। ‘८ वटै वडामा जनप्रतिनिधिले सघाउने गरी स्वयंसेवक खटाइएको छ। स्वयंसेवकले क्वारेन्टाइनदेखि बस्ती बस्तीका सर्वसाधरणलाई सरकारको निर्णयसँगै कोरोना भाइरसको जोखिम न्यूनीकरणको अभियानमा सक्रिय बनाउँछौं',अध्यक्ष भण्डारीले भने।

‘स्वयंसेवकलाई गाउँपालिकाले आवश्यकता अनुसार सहयोग गर्छ। समुदायमा उहाँहरूले गरेको योगदानको उचित मूल्यांकन हुन्छ',अध्यक्ष भण्डारीले बताए।
अनावश्यक काममा घर बाहिर जाने, भीडभाड र खेलकुदजन्य गतिविधिमा सहभागी हुने, विदेशबाट आएकाहरूले होम क्वारेन्टाइनमा वस्न आनाकारी गर्ने गरेकाले जनप्रतिनिधिसँगै स्वयंसेवक परिचालन गरिएको उनको भनाइ रहेको छ।

स्वयंसेवकलाई दैनिक ८ सय रुपैयाँ भत्ता र  खानाको व्यवस्था गाउँपालिकाले गरेको छ। त्यसमा पनि उत्कृष्ट काम गर्नेलाई सम्मान समेत गरिने पनि अध्यक्ष भण्डारीले बताए। गाउँपालिकाभित्र हरेक वडामा निर्मित क्वारेन्टाइनमा सोमबार विहानसम्म ११ जना आएका छन्।

चैत १ गते यता आएका र क्वारेन्टाइनमा आउन आनकानी गरेकालाई जनप्रतिनिधिले सवारी साधन लिएर उनीहरूका घरमा नै जाने योजना रहेको समेत भण्डारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.