|

काठमाडौं : विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपालभर 'लकडाउन' कार्यान्वयन भइरहेको छ। मानिसहरूको दैनिकी घरभित्र सीमित भएको छ। 

साविक समयमा दौडधुप गरिरहने र व्यस्त भइरहने नेताहरू यतिबेला फुर्सदिला भएका छन्। शीर्ष नेताहरूले सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गर्दै आफू स्वयम्‌लाई पनि घरभित्रै सीमित राखेका छन्‌। युवा नेताहरू पनि यतिखेर फुर्सदिला बनेका छन्। यो फुर्सदलाई नेताहरूले कसरी सदुपयोग गरिरहेका छन्‌ त? 

फोन र म्यासेन्जरमा व्यस्त बस्‍नेत

पार्टीको गतिविधिसँग जोडिएर निरन्तर सक्रिय रहने नेता हुन् नेकपा केन्द्रीय सदस्य तथा भक्तपुर क्षेत्र नम्बर २ का संघीय सांसद महेश बस्‍नेत। ‘कोरोनाको रोकथामको लागि सरकारले लकडाउनको निती अपनाएपछि घरमै ‘सेल्फ क्‍वारेन्टाइन’मा छु,’ उनले भने, ‘जहिल्यै बाहिर भइन्थ्यो, अहिले परिवारलाई पनि समय दिन पाइएको छ।’ 

घरमा रहेर पारिवारिक काममा सक्रिय रहेको तथा छोरोछोरी र भान्जाभान्जीहरूसँग खेल्ने गरेको कुरा उनले ठट्याउलो पारामा सुनाए। ‘धेरै जसो फोन म्यासेन्जर व्यस्त रहन्छु, फिल्म पनि हेर्ने गरेको छु।’

अनलाइनका समाचारहरूका साथै विभिन्‍न पुस्तकहरू अध्ययन गर्ने गरेको पनि उनी बताउँछन्। बाहिर निस्कने अवस्था नभएपछि जनप्रतिनिधिको हिसाबले जनताले नै सकेसम्म बाहिर ननिस्कन विभिन्‍न माध्यमबाट आग्रह गरिरहेकोले बाहिर ननिस्किएको बस्नेत बताउँछन्। 

‘तरकारीलगायतको खाद्यवस्तु खरिदका लागि धेरै सर्वसाधारण बाहिर निस्कने गरेको पाइयो, त्यसैले हामीले बिक्री-वितरणलाई समेत व्यवस्थित गरेका छौँ,’ उनले भने, ‘मूख्यगरी बजार क्षेत्रमा भीड जम्मा हुने गरेको रहेछ, त्यसैले धेरै ठाउँमा सहकारीको माध्यमबाट बिक्री-वितरणको व्यवस्था गरेका छौँ।’

जनतालाई कोरोनाका बारेमा समेत सचेत गराउँदै भक्तपुर इटा कारखानाबाट करिब १५ हजारभन्दा धेरैलाई सुरक्षित तरिकाले गन्तव्यसम्म पुग्न मद्धत गरेको पनि उनले जानकारी दिए।

राजनीतिक दस्तावेज अध्ययनमा रिजाल

नेकपा केन्द्रीय सदस्य विष्णु रिजाल पनि व्यस्त रहने युवा नेतामध्ये एक हुन्। कोरोना रोकथामका लागि सरकारले गरेको निर्णयलाई स्वागत गर्दै फुर्सदलाई अध्ययनमा सदुपयोग गरिरहेको उनी बताउँछन्। 

‘पहिलो कता-कता भइन्थ्यो, घर परिवारलाई समय दिन सकिएको थिएन, अहिले समय मिलेको छ,’ रिजालले भने, ‘अहिले मूख्यगरी घरमा रहँदा राजनीतिक दस्तावेज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चामा रहेका पुस्तकलगायत अन्य कुटनीतिक बिषयको समेत अध्ययन गरिरहेको छु।’

‘समय बिताउनको लागि पुराना चलचित्रहरू हेर्ने, समय अभावले लेख्न बाँकी रहेको लेख रचनाहरू समेत पुरा गरिरहेको छु’ उनी भन्छन्‌, ‘युवाहरूले लकडाउनपछि श्रमिक र बजारक्षेत्रमा रहेको ज्यालादारी गर्नेहरूको पक्षमा आवाज उठाएका थियौँ, त्यो पनि सरकारले पुरा गरेको छ, अब कोरोना रोकथामका लागि तयारी सक्दो साथ दिइरहेका छु।’

थाहा दिन र थाहा पाउन निस्किने थापा

राजनीति या कामको शिलशिलामा व्यस्त रहने नेता हुन् नेकपा केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापा। अरुजस्तो आफू भने खासै फुर्सदिलो नभएको उनी बताउँछन्। 

‘कामको शिलशिलामा बाहिर निस्किरहनु पर्छ, त्यसैले म अहिलेसम्म होम क्‍वारन्टाइनमा बसेको छैन,’ उनले भने, ‘यतिबेला महत्वपूर्ण जिम्मेवारी सरकारको हुन्छ।त्यसैले कतिपय कुरा प्रधानमन्त्रीको सचिवालयका तर्फबाट र पार्टीको प्रचार विभागको उपप्रमुखका जिम्मेवारी रहेकोले आफूले पनि जान्ने बुझ्ने सोध्ने र पत्रकारहरुलाई जवाफ दिने गर्नुपर्छ, त्यसैले त्यति धेरै समय फुर्सद हुँदैन।’

अत्यावश्यक बाहेकको भेटघाट बन्द गरेपनि बालुवाटार र सिंहदरबारको दौडमै रहेको बताउँदै उनले थपे, ‘काममा पहिलेजस्तो चाप नभएकाले फुर्सदको समयमा समाचारहरू अपडेट हुने, विभिन्‍न पुस्तकहरू अध्ययन गर्ने गरेरै समय बिताउने गरेको छु।’ भरसक कतिपय जानकारी लिन र जानकारी दिनका लागि नपुगी नहुने ठाउँमा जान निस्कने गरेको उनले सुनाए।

पुस्तक सम्पादन गर्दै  सापकोटा

पार्टी गतिविधिमा सक्रिय र व्यस्त रहने मध्येका युवा नेता हुन् नेकपा केन्द्रीय सदस्य एवम् राष्ट्रिय युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’। अहिले सापकोटा पनि फुर्सदिला भएका छन्।

‘पहिला राजनीतिक भेटघाट र विभिन्‍न पार्टीको कार्यक्रममा व्यस्त हुन्थेँ, तर अहिले लकडाउन भएपछि फुर्सदिलो बनेको छु’, उनले भने, ‘ दैनिकी शुरु हुन्छ  योगा लगायतका शारिरिक व्यायाम र  भान्साको कामबाट ।’
पारिवारिक गतिविधि बाहेक सापकोटा यतिखेर २०७१ सालमा प्रकाशित भएको आफ्नो उपन्यास ‘रात फुलेको याम’ को नयाँ संस्करणको तयारीमा जुटेको बताउँछन्‌। ‘अहिले त्यसको सम्पादन गर्ने काममा व्यस्त छु’ सापकोटाले भने, ‘विभिन्‍न किसिमका पुस्तकहरू पढ्दै त्यसपछि सामाजिक सञ्जाल, अनलाइन न्युजमा पनि उत्तिकै अपडेट भइरहन्छु, समय बिताउन केही पुराना चलचित्रसमेत हेर्ने गरेका छु। जीवन संघर्ष र संस्मरण अनि जानकारीमुलक विषयहरु अध्ययन गर्छु।’

युवाहरूको नेतृत्व गर्ने जिम्मेवारी भएकाले युवा गतिविधिलाई पनि आआफ्नो स्थानबाट सहयोग गर्ने आन्तरिक सर्कुलर नै जारी गरेको उनले बताए। सापकोटाले भने, ‘अहिले हामीले बाहिर निस्केर जनचेतना फैलाउन सक्ने अवस्था त छैन, तैपनि युवाहरूलाई आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न निर्देशन दिएका छौँ।’ 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.