कोरोना रोकथाममा पहल गर्न संघीय संसद तयार

|

काठमाडौंः सभामुख अग्निप्रसाद सापकोटाले विश्‍वभर फैलिएको कोरोना भाइसर रोकथाका लागि सरकार निरन्तर लागिरहेको बताएका छन्। 

सोमबार सभामुख सापकोटाले भिडियो सन्देशमार्फत सरकारले कोरोना रोकथाममा लागिरहेको हुनाले जनताहरुले त्यसमा साथ दिएमा छिट्टै कोरोनालाई जित्न सकिने बताएका हुन्। 

‘कोरोना भाइरसले उत्पन्‍न गरेको हाम्रो समयको सबै भन्दा विषम परिस्थितिमा छौं। विश्वलाई नै आक्रान्त बनाइरहेको यो रोगका कारण लकडाउन गर्नुपर्ने बाध्यता आइपरेको छ', उनले भने, ‘संक्रमण भयावह हुन नदिन विकल्पहीन रहेको लकडाउनको पालना गरी घरभित्र बस्न, जमघट नगर्न, अत्यावश्यक कामका लागि बाहिर निस्कन परे सुरक्षाका उपाय अपनाउन अपिल गर्दछु।’

सरकारको तर्फबाट रोकथाम, नियन्त्रण तथा उपचारका लागि विभिन्‍न प्रयास भइरहेका समेत प्रष्टाए। ‘अत्यावश्यक स्वास्थ्य सामग्रीको प्रबन्ध भइरहेको छ। विभिन्न मित्रराष्ट्रले सहयोग गरिरहेका छन्’ उनले भने, ‘देशभित्रका पनि व्यक्तिस्तरबाट सहयोग हुन थालेका छ। त्यसमा अरुले पनि गर्न आग्रह गर्दछु।’ 

प्रतिनिधिसभाको फागुन २३ गतेको बैठकले कोरोनाविरुद्ध राष्ट्रिय संकल्पका साथ अगाढि बढ्ने जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गरेको समेत बताए। कोरोना रोकथामका लागि थप पहल गर्न संघीय संसद तयार रहेकोसमेत जनाए। 

‘सरकारले विभिन्‍न क्षेत्रलाई सम्बोधन गर्दै आर्थिक राहततथा सहुलियतका कार्यक्रम अघि सारेको छ। यसको कार्यान्वयनका लागि सबैको साथ आवश्यक छ’ उनले भने, ‘दैनिक ज्यालामा निर्भर तथा न्यूनआय भएका नागरिकका लागि राहत उपलब्ध गराउन आवश्यक छ।’

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको भूमिकालाई पनि सरकारले उच्च स्थानमा राखेर मूल्यांकन गरिरहेको प्रष्टाए। सरकारको अभियानमा सबैले साथ दिएको खण्डमा यो महामारीलाई जित्न सक्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.