|
चितवनको राप्तीकी कार्यपालिका सदस्य पुष्पा कुवँर पिपिई लगाएर फोटो खिचाउँदै

काठमाडौं : कोरोना भाइरसको रोकथामका लागि खटिइरहेका चिकित्सक र अन्य स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) अभावमा जोखिम मोलिरहेका छन्। पिपिई नहुँदा कोरोनाका सम्भावित बिरामीको पनि त्यतिकै जाँच्नु परिरहेको छ। यस्तोबेलामा जनप्रतिनिधिले पीपीई प्रयोग गरेको पाइएको छ।

देशभरका स्वास्थ्यकर्मीले पिपिई अभाव झेलिरहेका भेला जनप्रतिनिधिले त्यही पहिरिइरहेका छन्। चितवनको राप्ती नगरपालिकामा यस्तै अनौठो दृश्य देखियो। त्यहाँका जनप्रतिनिधि पिपिई लगाएनन् मात्रै फोटो खिचाएर फेसबुकमा हाल्न पनि भ्याएका छन्। 

सरकारले स्वास्थ्यकर्मीका लागि पठाएको पिपिई राप्तीका जनप्रतिनिधिले दुरुपयोग गरेका हुन्। पिपिई दुई प्रकारका हुन्छन्। कुनै एक पटक मात्रै प्रयोग गर्न मिल्ने कुनै पटक पटक प्रयोग गर्न मिल्ने। 

यस्तोमा नगरपालिकाकी कार्यपालिका सदस्य पुष्पा कुवँरले स्वास्थ्यकर्मीले लगाउने पिपिई लगाएर फोटो खिचाउँदै फेसबुकमा पनि हालेकी छन्। उनले पिपिई लगाएको फोटो फेसबुकमा हाल्दै लेखेकी छन्,‘आज दिनभरको व्यस्तता, सन्दर्भ कोरोनाविरुद्धको।’

सरकारले राप्ती नगरपालिकालाई आइतबार २० थान पिपिई पठाएको थियो। नगरपालिका प्रमुख प्रभा बरालले स्वास्थ्यकर्मीका लागि आएको पिपिई जनप्रतिनिधिलाई लगाउन नदिएको दाबी गरेकी छन्। तर कुवँरसहितले पिपिई लगाएको फोटोबारे जानकारी गराएपछी उनले यसबारे सोधखोज गर्ने बताइन्। कुवँरले आइतवार पिपिई लगाएर खिचेका फोटो सोमबारसम्म फेसबुकमा देख्न सकिन्थ्यो।

स्वास्थ्यकर्मीका लागि सरकारले पठाएका पिपिई लगाएको बारेमा कुवँरले भने पत्रकारहरुलाई उल्टै प्रश्न गरिन्। 'म जहाँबाट पनि ल्याउन सक्छु, एउटा ल्याएर लगाएकी हुँ', उनले ओठे जवाफ दिँदै भनेकी छन्, 'कसैले मलाई दिनुपर्दैन।’ 

कुवँरले आइतबार दिनभर आफ्नो वडा नम्बर ६ मा किटनाशक औषधि छर्दा पिपिई लगाएको भन्दै टार्न खोजिन्। 'मैले मात्रै होइन, अरु वडाका जनप्रतिनिधिले पनि लगाएका छन्', उनले पत्रकारहरुलाई भनिन्,'पिपिई लगाएर पहिले आफू सुरक्षित हुनुपर्‍यो भन्‍ने सन्देश दिएकी हुँ।'

पिपिई अभाव भएपछि सरकारले चीन सरकारसँग गुहार माग्नु परेको छ। पाल्पामा नेपाली सेनाका स्वास्थ्यकर्मीले प्लास्टिकको पिपिई बनाएर लगाएका छन्। यस्तोमा जनप्रतिनिधिलाई भने पिपिई फेसन जस्तै हुन थालेको छ। 

चितवनको राप्ती नगरपालिकामा एउटा अस्पताल र पाँच स्वास्थ्य केन्द्र छन्। राप्तीले कोरोना भाइरसका सम्भावित बिरामीको उपचारका लागि पिप्लेको बुद्धशान्ति अस्पतालमा २२ बेडको क्‍वारेन्टाइन बनाइसकेको प्रमुख बराले बताइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.