सामान्यखाले बिरामी नआउन अस्पतालको आग्रह

|

लमजुङ : जिल्ला सामुदायिक अस्पतालले कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेपछि अस्पताल प्रवेश कडाइसँगै नियमित दिँदै आएको ओपिडी सेवा बन्द गरेको छ। अस्पतालले भर्ना नै गर्नुपर्ने गम्भीर खालका बिरामी मात्र सीधै आकस्मिक कक्षमा लिने गरेका छन्। प्रसूति सेवा भने खुला छ। चिकित्सकहरुले ओपिडी बाहिरबाटै सेवा दिइरहेका छन्। अस्पतालमा दैनिक दुई सयभन्दा बढी बिरामी हुने गर्थे। 

भाइरस संक्रमणको जोखिम बढेको भन्दै अस्पतालले अतिआवश्यकबाहेका सेवा लिन नआउन आग्रह नै गरेको छ। 

यद्यपि स्वास्थ्यसम्बन्धी सामान्य समस्या भएमा २४ सै घण्टा टेलिफोनमार्फत स्वास्थ्य परामर्श दिइने अस्पतालका प्रकाशकीय प्रमुख हेमन्त श्रेष्ठले बताए। समस्या लिएर आउने बिरामीलाई अस्पतालको मुख्य गेटमा सामान्य परीक्षण र परामर्श गरी फिर्ता पठाइने अस्पतालले जनाएको छ। अस्पतालले अस्थायी हेल्थ डेस्क स्थापना गरी इमरजेन्सी सेवा दिँदै आएको छ। पाँच शैयाको आइसोलेसन शैया तयार गरेको अस्पतालले आफ्ना स्वास्थ्यकर्मीहरुलाई भने कोरोनासम्बन्धी बिरामी आए जाँच तथा परामर्श र थप उपचारका लागि तयारी राखेको छ। 

अस्पतालले ओपीडी सेवा बन्द गरेपछि हाल १५/२० जनाको हाराहारीमा मात्रै बिरामी आउने गरेका छन्। यस सामुदायिक अस्पतालसँगै जिल्लाका अन्य ठाउँमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थामा पनि बिरामी आउन छाडेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.