|
फाइल फोटो

पर्वत : पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवाले कोरोना भाइरस (कोभिड १९) बाट सजगता अपनाउनको लागि बिभिन्न स्थानमा १३ बेडका आइसोलेटेड ठाउँहरू निर्धारण गरेको छ।

वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता टीकाराम गौडेलले दिएको जानकारी अनुसार वडामा कोही पनि व्यक्तिमा कोरोना सङ्क्रमण देखिएमा निर्धारित आइसोलेटेड ठाउँहरूमा राखेर हेरविचार गरिने छ।

तयार पारिएका आइसोलेटेड बेडहरूमा रुग्दीको शारदा आधारभूत विद्यालयमा २, बाल प्राथमिक विद्यालय चुरीमा २, सिर्सुवा सामुदायिक संस्थामा ३, माटेदेवल प्राविधिक विद्यालयमा २, गहते अम्बोट आधारभूत विद्यालयमा २ र सनलाईट बोर्डिङ स्कुलमा २ वटा रहेका छन्।

छिमेकी देश भारतसहित वैदेशिक रोजगारीबाट फर्किएकाहरू हरेक व्यक्तिलाई अनिवार्य रूपमा १४ दिने क्वारेन्टाइनमा राखेर उसका लक्षणको अवलोकन गरेर मात्र गाउँमा जान दिनेगरी वडाले कार्य योजना तयार पारेको छ।

वडाध्यक्ष गौडेलले क्वारेन्टाइन वा आइसोलेसनमा बसेका जोसुकै व्यक्तिको आर्थिक अवस्था कमजोर रहेको अवस्थामा वडा र सम्बन्धित पालिकाले खानाको व्यवस्था मिलाउने छन् भने आफ्नो खर्च धान्न सक्ने व्यक्तिले भने १४ दिनको अवधिमा लाग्ने खर्च आफैँले बेहोर्नु पर्ने जानकारी दिए।

यस्तै, आइसोलेसनमा राखिएका व्यक्तिलाई कुरुवा राख्नुपर्ने अवस्था भएमा सम्बन्धित परिवारले आवश्यक दूरी कायम गरेर पहरा दिन सक्ने तथा कुरुवा ल्याउन सक्ने अवस्था नरहेमा वडाले नै कुरुवाको व्यवस्था गरीदिने पनि वडाध्यक्ष गौडेलको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.