सञ्‍चालक भन्छन्‌ : आपत परेपछि देश फर्किनेले कोरोना भित्र्याए

|

पर्सा : सरकारी अस्पतालभन्दा आफ्नोमा राम्रो उपचार र सेवा सुविधा रहेको भनी बिरामीबाट उपचारका नाममा चर्को रकम असुल्ने धन्दामा प्रायः सबैजसो निजी अस्पतालले कुख्याती कमाएका छन्‌। तर यतिखेर तिनै निजी अस्पतालले सामान्य बिरामीलाई पनि उपचार नगरी फर्काइरहेका छन्‌।

यसअघि एम्बुलेन्स चालकलाई समेत कमिशन दिएर उपचारका लागि अस्पताल धाउँदै गरेका बिरामीलाई यहाँका निजी अस्पतालहरूले आफुकहाँ ल्याउने गरेका थिए।

तर कोरोना संक्रमण फैलिएसँगै पर्साका निजी अस्पतालका सञ्‍चालक र चिकित्सकहरूले उपचार गर्न आएका बिरामीलाई स्वास्थ्य सेवा नै नदिई फर्काउन थालेका हुन्‌। 

निजी अस्पतालको प्रचारबाजी र आश्वासनका कारण यसअघि सरकारी अस्पतालमा खासै नजाने पर्सावासी अहिले सरकारद्वारा नै सञ्चालिन नारायणी उपक्षेत्रीय अस्पताल पुग्न थालेका छन्‌। नारायणी अस्पताल मध्यतराईकै सबैभन्दा ठूलो सरकारी अस्पताल हो। 

कोरोना संक्रमित बिरामीसमेतको रेखदेख गर्ने जिम्मेवारी लिएको नारायणी अस्पतालमा अहिले सामान्य बिरामीको घुइँचो थेगिनसक्नु छ। निजी अस्पताल सञ्चालकहरूले चिकित्सकीय धर्म नै बिर्सेर जिल्लावासीलाई उपचार नै नगरेपछि यो अवस्था आएको हो। 

देशव्यापी कार्यान्वयन भइरहेको 'लकडाउन' का कारण ओपीडीमा बिरामी संख्या घटेपनि आकस्मिक (इमर्जेन्सी) मा भर्ना हुन आउने बिरामीको संख्या बढिरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मनोज उपाध्यायले जानकारी दिएका छन्‌। डा. उपाध्यायले भने, 'हामीले साविक अवस्थामा पनि सबै प्रकारका बिरामीको स्वास्थ्यजाँच र उपचार गर्ने गरेका थियौं, संकटका बेलामा वहाना देखाएर पन्छिने सवाल नै भएन, तर अस्पतालमा यतिखेर बिरामीको चाप यसरी बढेको छ कि थेग्नै मुस्किल परेको छ।'

उता, नाम चलेका भनिएका निजी अस्पतालहरूले चाहिँ यतिखेर चोटपटक लागेकादेखि ज्वरो आएका बिरामीलाई समेत उपचार नै नगरी फर्काउने गरेका छन्‌। 

यी तीन घटना : जसले निजी अस्पतालको चरित्र उदाङ्गो पार्छ

यतिखेर तराईमा मुसुरोबाली थन्क्याउने समय भएको छ। अचेल थ्रेसरमा मुसुरो कुट्ने गरिन्छ। मुसुरो कुट्दै गर्दा बारा कलैया नगरपालिका वडा नम्बर २२ का २५ वर्षीय विजय कुशवाहालाई चोट लाग्यो। उपचारका लागि उनलाई आफन्तले वीरगन्जको नेशनल मेडिकल कलेज पुर्‍याए। तर अस्पतालले राम्ररी उपचार नै हुन नपाउँदै उनलाई सरकारी अस्पतालमा पठायो। 

नेशनल मेडिकल कलेजले राम्ररी उपचार नगरिदिँदा कुशवाहाकाे अवस्था खराब भैसकेको थियो। अन्तत: सुविधासम्पन्न भनिएको नेशनल मेडिकल कलेजबाट उपचार नै नदिई निकालिएका उनको सोमबार साँझ ८ बजे निधन भयो। 

वीरगञ्जकै गण्डक अस्पतालले पनि उपचारमा लापरवाही गर्दा एक युवाले पीडा भोग्नुपरेको छ। घाँटीमा समस्या देखिएपछि उपचार गराउन पुगेका २८ वर्षीय अनिल पटेललाई उक्त अस्पतालले चेकजाँच नै नगरी फर्काइदियो।


वीरगञ्‍जस्थित नेशनल मेडिकल कलेज, जहाँ बढी शुल्क असुलेपछि सो रकम फिर्ता मागेका विद्यार्थीहरूमाथि कुटपिट भएको थियो।

पटेललाई उनका काका शिव पटेलल (जो राष्ट्रिय जनता पार्टी (राजपा) का महासचिव पनि हुन्‌) ले उपचारका लागि सोमबार साँझ ८ बजेतिर त्यो अस्पतालमा लगेका थिए। तर अस्पतालका चिकित्सकहरूले उनलाई उपचार नै नगरी नारायणी अस्पताल जान अर्ती दिए। उपचार त परेको कुरा, गण्डक अस्पतालले पटेललाई राख्‍नसमेत नमानेको शिवले जानकारी दिएका छन्‌। 

गण्डक अस्पतालले उपचार नै नगरी निकालिदिएपछि अस्पताल खोज्दै वीरगञ्जको लिंकरोडमा भौतारिएका शिव पटेलले भतिजालाई स्थानीय भवानी अस्पतालमा पुर्‍याए। त्यो अस्पतालमा चिनजानका एकजना अहेबलाई उपचार गरिदिन आग्रह गरे। निकै बेर आग्रह गरेपछि उनले बिरामी पटेललाई मुखबाट वाफ दिए। 

बिरामीको प्रारम्भिक उपचार गरेका ती अहेबले अस्पतालकै माथिल्लो तहका चिकित्सकलाई बिरामीको लक्षण र आफूले गरेको उपचारबारे बताए। सो सुन्नासाथ ती माथिल्लो तहका भनिएका चिकित्सकले बिरामीलाई भर्ना नगर्न निर्देशन दिएको र बिरामीलाई घरमै ल्याउनुपरेको शिव पटेलले जानकारी दिएका छन्‌। 

तराईले पनि महिलालाई नारायणी पठायो 

बाराको वरेवा निवासी रविया खातुनलाई वीरगन्जको तराई हस्पिटलले पनि मंगलबार ५ बजेतिर नारायणी अस्पतालमा नै रिफर गरेको छ। उनी मध्यान्ह उक्त हस्पिटलमा पुगेको खातुनका आफन्तले बताए।

कलैया हुँदै वीरगन्ज आइपुग्दा प्रतिमाचोक नजिकको तराई अस्पतालमा पुग्दा त्यहाँका स्वास्थ्यकर्मीले कोरोनाको जस्तै लक्ष्यण रहेको भन्दै चेकजाँच नगरी पठाएको उनीहरुले गुनासो गरेका छन्। 

सहयोग गर्न भन्‍नेको नम्बरमा फोन नै लाग्दैन

विश्वभर कोरोना महामारी फैलिएपछि सरकारले संक्रमणबाट जोगिन र उपचारमा कुनै कसर नराख्न स्थानीयतह एवम्‌ अस्पतालहरूलाई निर्देशन दिइरहेको छ। यसैअनुसार आफूले काम गरेको देखाउन यिनै अस्पतालदेखि स्थानीयतहका प्रतिनिधि एवम्‌ समाजसेवी भनिएकाहरूले समस्या परे फोन सम्पर्क गर्न फोन नम्बर नै तोकिदिए।

वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीदेखि पर्सा क्षेत्र नम्बर १ का सांसाद प्रदीप यादव र प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतसम्मलाई सम्पर्क गर्न खोज्दा फोन नै लाग्दैन।

भतिजाको उपचारमा सकस भोगेका राजपा महासचिव पटेल भन्छन्‌, 'म जत्तिको जिम्मेवार मानिसले गरेको फोनलाई त यहाँका व्यक्तिहरूले ‘रेस्पोन्स' गर्दैनन् भने सर्वसाधारणले उनीहरूबाट सहयोग हुन्छ भनी कसरी सम्पर्क गर्ने? त्यो सबै हल्ला मात्र हो, मिडियामा प्रचार गरिएका सबै सम्पर्क नम्बर बेकामे रहेछन्।'

गण्डक अस्पतालका संचालक एवम्‌ स्थानीय नेता समेत रहेका रहबर अन्सारीको मोबाइल नम्बर ९८५१२२९२८८ मा भने कल फर्वाडेड भएको सन्देश आउने गरेको छ।

उल्टै सर्वसाधारणमाथि आरोप

वीरगञ्जमा रहेकामध्ये ठूलो र सुविधासम्पन्‍न भनिने नेशनल मेडिकल कलेजका व्यवस्थापकीय निर्देशक (एमडी) बसुरुद्दीन अन्सारीले उपचार नगरेको भन्दै आफूहरूमाथि आरोप लगाउने काम भएको जिकिर गरेका छन्‌।

उनले भने, 'कुन मानिसलाई के रोग छ भन्‍ने कुरा बाहिरबाट हेरेर एकीन गर्न सकिँदैन, हामीलाई माथिबाट किट र स्वास्थ्यसामग्री आइपुगेको छैन, कोरोनासँग मिल्ने लक्षण भएका बिरामीलाई हामीले के गर्ने? बाहिर नपठाउने?'


नेशनल मेडिकल कलेजका व्यवस्थापकीय निर्देशक (एमडी) बसुरुद्दीन अन्सारी

उनले थपे, 'डाक्टर स्वास्थ्यकर्मी पनि त जनावर त होइनन् नि! उनीहरूलाई सुरक्षा सामग्री खोई? यस्तो समयमा अस्ती कलैयाका बिरामीलाई एक रात राख्ने र उपचारमा संलग्न चिकित्सक स्वास्थ्यकर्मीको बिषयमा कसैले सोचेको छ? उनको रिपोर्ट के हुने भन्‍ने कसले बताउने? यसको जवाफ अस्पताललाई कस्ले दिन्छ? हामी क्वारेन्टाइनमा बस्ने कि अरु बिरामी जाँच्‍ने भन्‍ने द्विविधामा ती स्वास्थ्यकर्मी पुगेका छन्।' बसुरुद्दिनले निजी अस्पतालमा उपचार नपाएको विषयलाई लिएर आरोप लगाउन नपाइने चेतावनी नै दिए।

नेशनल मेडिकल कलेजका व्यवस्थापकीय निर्देशक (एमडी) बसुरुद्दीन अन्सारी भन्छन्‌, 'पहिले नेपालको पढाइ नै राम्रो नलाग्ने, यहाँको आर्थिक उपार्जनले नधानेपछि विदेश जाने, अनि आपत्त परेपछि फेरि नेपाल नै चाहिनेहरूका कारण नेपालमा कोरोना संक्रमण फैलिएको हो।'

निजी स्वास्थ्य संस्थाले आवश्यक सामग्री आफैं किन्‍न खोज्दा सरकारले रोकेकाले उपचारमा समस्या भएको अन्सारीले दाबी गरेका छन्‌। 'हामीले माथिको मुख ताक्नु पर्‍यो, अस्पतालमा आएका सबै बिरामीले आफ्नो वास्तविकता बताउन चाहँदैनन्‌, शंका लागेर सोध्दै जाँदा विदेशबाट आएको खुल्छ।'

अस्पताल आएका बिरामीको उपचार गर्नुको साटो उनीहरूमाथि नै आक्षेप लगाउनेसम्मको काम निजी अस्पताल सञ्‍चालकहरूले गरिरहेका छन्‌। विदेशबाट फर्किएका बिरामीहरूलाई त निजी अस्पतालले भर्ना नै लिइरहेका छैनन्‌।

यसबारे जिज्ञासा राख्दा नेशनल मेडिकल कलेजका एमडी उनै अन्सारीले तीतो जवाफ फर्काए, 'पहिले नेपालको पढाइ नै राम्रो नलाग्ने, यहाँको आर्थिक उपार्जनले नधानेपछि विदेश जाने, अनि आपत्त परेपछि फेरि नेपाल नै चाहिनेहरूको कारण नेपालमा कोरोना संक्रमण फैलिएको हो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.