|

इलाम : विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या पनि दिनदिनै बढ्दो क्रममा छ। नेपालमा पनि कोरोनाका जोखिम देखिएपछि अहिले 'लकडाउन गरिएको छ। कोरोनाको संम्भावित संक्रमण रोक्न सरकारले खेलकुद गतिविधि अघिल्लो महिनाबाटै रोकेको थियो।

खेलकुद गतिविधि रोकिनासाथ फुर्सदिला बनेका कतिपय खेलाडीहरु यतिखेर 'सेल्फ क्वारेनटाईन'मा छन्‌। नेपाली राष्ट्रिय टिम तथा क्लबका कप्तानहरु 'लकडाउनका बेला के गरिरहेका छन् त? थाहा खबरका लागि नमीन ढकालले तयार पारेको सामग्री :

सदीश प्रधान (कप्तान, नेपाली पुरुष बास्केटबल टिम)

सन्‌ २०१२ बाटै नेपाली बास्केटबल टिमलाई कप्तानी गरेका सदिश प्रधानको दिन अहिले बालाजुमा परिवारसँगै कटिरहेको छ। कोरोनाका कारण जोखिम बढेपछि घरमै रहेका श्रेष्ठ यतिखेर साढे ३ महिनाकी छोरी पमिलाको स्याहारसुसारमा व्यस्त भएका छन्‌। 

‘लकडाउन भएको दिन देखी सामान लिनमात्र बाहिर निस्कने गरेको छु, यहाँ वरपर पसल पनि निश्चित समयमा मात्रै खोल्ने गरिएको छ,’ उनले भने ‘अभिभावकसँग गफ गर्‍यो, यसो घरको काम सघायो, त्यस्तै त हो दैनिकी आजकाल।’

तत्काल प्रतियोगिता नभएपनि आफुलाई तन्दरुस्त श्रेष्ठले राख्न घरको कम्पाउन्डमा अभ्यास गर्ने गरेका छन्। ‘विहानै उठेर मनिङवाक गरेपछि एकछिन अभ्यास गर्छु, दिउँसो ३ बजेपछि फेरि अभ्यासमा जुट्छु।’ सरकारले जनताको हीतका लागि लगाएको 'लकडाउन'लाई सवैले पालना गरिदिए नेपालमा कोरोनाको जोखिम कम हुने उनी बताउँछन्। 

सदिना श्रेष्ठ (कप्तान, नेपाली महिला बास्केटबल टिम)

एक दशकदेखी नेपाली बास्केटबल टिमकी मुख्य सदस्य रहेकी कप्तान सदिना श्रेष्ठ कोरोनाका कारण यतिखेर 'सेल्फ क्वारेन्टाइन'मा छिन्। सरकारले 'लकडाउन ' घोषणा गरेपछि उनी हाल घरायसी काममा नै व्यस्त छिन्।

‘खाना पकाउनेदेखि लिएर घरायसी सरसफाइ गर्ने बानी परिसक्यो,’ सदिना भन्छिन, ‘टिभी हेर्ने, नेट चलाउने गर्दागर्दै दिन बित्छ।’ सरकारको निर्देशन पालना गरेको बताउँदै उनले भनिन्, ‘अहिलेसम्म खाना पकाउने र घरको काम गरेको थिइनँ, अहिले समय बिताउनकै लागि भएपनि भान्छामा काम गर्ने, आमासँग गफ गर्ने बानी परेको छ।’

उनले सबैलाई कोरोनाको सम्भावित संक्रमणबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन आग्रह गरिन्।

अनु लामा (एपीएफ महिला टिम कप्तान एवम पुर्व कप्तान, नेपाली महिला फुटबल टिम)

विभागीय टोली शसस्त्र प्रहरी टिमकी कप्तान अनु लामाको दैनिकी दिनभर स्वयम्भु पानधारास्थित कोठामा नै बित्ने गरेको छ। नेपाली महिला फुटबल टिमलाई ५ बर्ष कप्तानी गरेकी लामा विहानीपख सामान्य अभ्यास गर्ने गर्छिन्।

‘लकडाउनका कारण कोठा भन्दा २०० मिटर पर जान पाइँदैन, सामान्य अभ्यास गरिरहेको छु,’ उनले भनिन्, ‘छतमा सामान्य स्किल टेस्टहरु दैनिक रुपमा गरिरहेकी छु, आर्मीका खेलाडीलाई डयुटीमा खटाउने अरे भन्ने सुनेको हो, तर अहिलेसम्म चाहिँ घरमै छु, अन्य काम नभएका बेला दिनभर टिभी हेर्‍यो बस्ने गरेकी छु।'

दिनभरी टिभी हेर्ने बानीले लत बस्छ की भन्ने डर रहेको उनले सुनाइन्। मानिसहरुको भीडभाडले कोरोनाको जोखिम बढाउने बताउँदै सकेसम्म कोठामै बसेर सरकारको निर्णयलाई पालना गरिदिन अनुले आग्रह गरेकी छिन्‌। 

विराज मर्हजन (कप्तान मछिन्द्र क्लब एवम पुर्व कप्तान, नेपाली पुरुष फुटबल टिम)

लिग लिडर मछिन्द्र क्लबका कप्तान बिराज मर्हजनले काका-काकीको घर सजाएर दिन कटाइरहेका छन्‌।

कोरोनाका कारण लकडाउन लागेपछि उनी दिनभरी परिवारकै साथमा बसिरहेका छन्‌। ‘ काका-काकीले नयाँ घर बनाउनुभएकाले सामान ओसारपसार गर्न सघाउँदै छु,’ उनले भने, ‘इलामको माइभ्याली गोल्डकप पश्चात अहिले विश्राम नै गरिरहेको छु।'

'विहान घरको कम्पाउन्ड वरपर सामान्य वर्कआउट गर्छु,’ त्रिपुरेश्वरका वासिन्दा उनी फुटबल फ्यानहरुलाई कोरोनाको जोखिमबाट बच्न सरकारले घोषणा गरेको 'लकडाउनको पालना गर्न आग्रह गरिरहेका छन्‌।

भरत खवास (कप्तान, त्रिभुवन आर्मी एवम्‌ नेपाली राष्ट्रिय फुटबल टिम सदस्य)

कोरोनाको जोखिम पछि सरकारले लगाएको 'लकडाउन'का कारण विभागीय टोली त्रिभुवन आर्मीका कप्तान भरत खवासको दैनिकी छोरी स्वर्णिका र श्रीमती रुमा अवालेसँगै बित्ने गरेको छ।

मोरङको सुन्दर हरैँचा स्थायी घर भएका भरतले केही खेलमा नेपाली राष्ट्रिय फुटबल टिमको कप्तानी समेत गरिसकेका छन्। भरत अहिले काठमाडौं शंखमुलमा 'होम क्वारेन्टाइन'मा छन्। ‘घर बाहिर निस्कन नपाएको पनि आठ दिन बित्यो, छोरी खेलाउँदा-खेलाउँदै दिन बित्छ,’ उनले भने, ‘युट्युबमा हरेक दिन एउटा चलचित्र हेर्ने गरेको छु, श्रीमतीसँगै भावी योजना बनायो, बस्यो।’

कोरोनालाई गम्भीर रुपमा नलिँदा युरोपेली मुलुक र अमेरिकामा ज्यान गुमाउनेको संख्या बढेकाले 'क्वारेन्टाइन'मा बसेर सहयोग गर्न भरतले आग्रह गरेका छन्‌। 

रुबिना क्षेत्री (कप्तान, नेपाली महिला क्रिकेट टिम)

नेपाली महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्री अहिले झापाको काँकडभिट्टास्थित आफ्नै घरमा 'क्वारेन्टाइन'मा छिन्। घर बस्दा पनि उनको ध्यान क्रिकेटमै रहन्छ। घरबाहिर खेल्न जान नपाए पनि घरमै क्रिकेट अभ्यास गर्छिन्।

‘बल र ब्याटसँग नजिक भएपछि क्रिकेटका धेरै कुरा सिक्ने अवसर मिल्छ’, रुबिनाले भनिन, ‘घरभित्रै पनि क्रिकेटले रमाईलो दिएको छ, ट्यापिङ-नकिङ गर्नका लागि बल झुन्डयाएर राखेको छु।’ उनी सम्पुर्ण नेपालीहरुले 'लकडाउन'को निर्णयलाई पूर्णपालना गर्नुपर्ने बताउँछिन्।

‘हामी युवापुस्ताले आफूले जानेको बुझेको कुरा नडराई अग्रजहरुलाई बताउन सक्नुपर्छ, सरकारले लिएको निर्णय मजाक होइन, संक्रमण फैलन नदिन एक जनाको प्रयास मात्र पर्याप्त छैन, सबैले 'लकडाउनलाई पालना गर्नैपर्छ,' उनी भन्छिन्‌, 'कोरोनालाई जित्ने एकमात्र उपाय भनेको आत्मबल हो, त्यसैले सुरक्षाका साथै आत्मबल दह्रो बनायौं भने जोखिम पक्कै कम हुन्छ।’

ज्ञानेन्द्र मल्ल (कप्तान नेपाली क्रिकेट टिम)

नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लको दैनिकी घरमै बसेर बित्ने गरेको छ। कोरोनाको जोखिम क्रमश: बढ्दै गएकाले घरभित्र नै परिवारको साथमा उनले बिताइरहेका छन्। खुल्ला मैदानमा क्रिकेट अभ्यास गर्न नपाए पनि सामान्य फिजिकल फिटनेसमा ध्यान दिइरहेको उनले बताए।

‘कारोनाको जोखिम छ जताततै हिँड्डुल गर्न मिलेन घरमा सामान्य फिटनेसका लागि एक्सरसाइज चाँहि गर्दैछु’ उनले भने। विश्व कोरोनाको महामारीबाट आक्रान्त बनिरहेको बेला नेपालीहरुले सचेत बनेर यसको सामना गर्न उनले आग्रह गरे।

‘एकजनाको सामान्य लापरबाहीले पनि जोखिम निम्तिन सक्छ। सबैजना सचेत बनेर सरकारको निर्देशन पालना गरौँ।’ उनले भने, ‘केही दिन घरबाहिर ननिस्किएर जिम्मेवार नागरिक बन्न सके सम्पूर्ण नेपालीको हित हुने थियो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.