चोर बाटोबाट मानिस नेपाल छिर्दा सुरक्षाकर्मीलाई थपियो चुनौती

|

भद्रपुर : १४४ किलोमिटर झापा जिल्ला भारतीय खुल्ला सीमासँग जोडिएको छ। खुल्ला सीमाबाट नेपाल भित्रिने मानिसमाथि निगरानी बढाउन जिल्लाका सुरक्षाकर्मीलाई चुनौती थपिएको छ। सरकारले छिमेकी मुलुक भारतबाट कोरोना भाइरस भित्रिने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सीमा नाका सिलसँगै मुलुक नै लकडाउन गरेको अवस्था छ।

सरकारकै निर्देशन बमोजिम प्रहरी, प्रशासनले झापाका मुख्य दुई नाका काँकडभिट्टा र भद्रपुरसँगै केचना, कुमरखोद र गौरीगञ्ज नाकाबाट पनि आवतजावतमा रोक लगाइएको छ। भारत सरकारले पनि लकडाउन लगाउँदै आवतजावत प्रतिबन्ध गरिसकेको छ। 

भारतको विहार तथा बंगाल राज्यसँग जोडिएको यस जिल्लाका चोर नाकाहरूबाट अहिले लुकीछिपी नेपाली र भारतीय दुवै देशका नागरिक नेपाल प्रवेश गर्दा सीमामा तैनाथ सुरक्षाकर्मीलाई चुनौती थपिएको हो। यस्तो संकटको परिस्थितमा पनि रातको समयमा भारतबाट मानिस आउने गरेको स्थानीयले प्रहरीलाई खबर गर्न थालिसकेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

‘खुल्ला सीमाको फाइदा उठाउँदै रातको समयमा मानिस आउने गरेकोले प्रहरीलाई निगरानी बढाउन चुनौती थपिएको छ,’ प्रहरी उपरीक्षक कोइरालाले भने, ‘त्यही भएर अहिले हामीले जिल्लाभरिका वडा कार्यालयहरू, जनप्रतिनिधि, टोल विकास संस्थालाई सक्रिय बनाएर गाउँघरमा नयाँ मानिस आएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरिरहेका छौँ।’ उनीहरूले प्रहरीलाई खबर पनि गरिरहेको बताउँदै उनले भने, ‘गाउँघरमा भारतबाट आएका त्यस्ता मानिसलाई जनप्रतिनिधिको सहकार्यमा विवरण संकलन गर्नुका साथै होम तथा अस्थायी क्वारेन्टाइनमा राख्न काम पनि भइरहेको छ।’

यता पश्चिम बंगाल राज्यसँग जोडिएको मेचीनगरको चोर नाकाहरूबाट भारतबाट मानिस आइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए। मुख्य नाकाबाट प्रवेश गर्न नदिएपछि केही मानिस रातको समयमा नेपाल आउने गरेको उनको भनाई छ।

अहिलेसम्म चोर नाकाबाट नेपाल आएका एक दर्जन व्यक्तिलाई नियन्त्रणमा लिएर अस्थायी क्वारेन्टाइनमा पठाइसकेको उनले बताए। गए राति पनि मेचीनगरबाट सात जना चोर बाटोबाट आएपछि प्रहरीले नियन्त्रणमा लिएका थिए। त्यस्तै मेचीनगर १२ कालिझोडाबाट आइतबार बिहान तीन जना भारतीयलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीचौकी चारआलीको जिम्मा लगाएका थिए।

नेपाली मूलका भारतीय बताउने उनीहरूले उर्लाबारी घर भनेर ढाँटेका थिए। उनीहरू प्रहरीको आँखा छलेर मेची खोला हुँदै नेपाल प्रवेश गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.