|
फाइल फोटो

जाजरकोट : कर्णाली क्षेत्रमा धुमधामका साथ मनाइने चैते दशैं यो पटक खल्‍लो भएको छ। विश्वव्यापी महामारीको रूप लिएको कोरोना (कोभिड-१९) संक्रमणबाट बच्न'लकडाउन' कार्यान्वयन भएपछि कर्णालीवासीका लागि चैते दशैं उत्साहजनक बन्‍न नसकेको हो।

यसअघि चैते दशैंका बेला गाउँ-गाउँमा रौनक छाउने गरेकोमा यो पटक सुनसान भएको नलगाड नगरपालिका-८ का हरीबहादुर खत्रीले बताए। उनले भने,'गाउँ,-गाउँमा जनप्रतिनिधिदेखि प्रहरी र स्वास्थ्यकर्मीहरू लक डाउनको पालन गरौँ भन्दै हिँडिरहेका छन्, हामी आफैँलाई पनि कसरी ज्यान जोगाउने भन्ने चिन्ता छ, चैते दशैंको त कुरा भयो र?'

मीठो खाने र राम्रो लगाउने पर्वको रुपमा रहेको चैते दशैं यो पटक ‘लक डाउन' का कारण परम्परा त्याग्न बाध्य हुनुपरेको शे-फोक्सुण्डो गाउँपालिका-५ डोल्पाका टसी गुरुङले बताए। उनले भने,'चैते दशैं हाम्रो लागि बडादशैं भन्दा खास दशैं हो, तर यो पटक लकडाउनका कारण हामीले तयारी नै गर्न पाएका छैनौँ।' 

डोल्पोवुद्ध गाउँपालिका-२ का साङची लामाले कोरोना भाइरसको त्रासका कारण एक घरबाट अर्को घरमा जानका लागि अनुमति समेत नभएकाले दशैं राम्ररी मान्न नसकिएको जानकारी दिए। उनले भने, 'त्यसमाथि पनि डरका कारण आफैँ पनि जान मन लाग्दैन, अर्कातिर गाउँ हिउँले भरिएको छ, आफन्तहरू काठमाडौँबाट आउन पाउनु भएन, एक्लै त कसरी चैते दशैं मनाउनु? दशा आए झै| भएको छ।'

कर्णाली क्षेत्र र प्रदेशका सबै जिल्लामा चैते दशैं विगतको परम्परालाई निरन्तरता दिन र नयाँ पिंढीलाई संस्कृति हस्तान्तरण गर्न मनाइन्छ। नयाँ पुस्ताले आफ्नो संस्कृति बुझ्ने अवसरका रूपमा पनि चैते दशैं मनाउने गरिन्छ। यो पर्व सबैभन्दा बढी रौनक त उपल्लो डोल्पा, हुम्ला र मुगु जिल्लामा देख्न पाइन्छ। त्यस क्षेत्रका जनजाति समुदायका मानिसहरू यो पर्वमा बढी रमाउने गरेको बारेकोट गाउँपालिकाका-५ का जनकबहादुर शाहीले बताए।

जाजरकोट र रूकुम जिल्लामा यातायात पहुँच नपुगेकाले भोट क्षेत्रका स्थानीयवासीहरू तल्लो क्षेत्रमा झरेर चैते दशैं मनाउने गरेको शाहीले जानकारी दिए। घोडा, खच्चड, भेडा, च्याङ्ग्रा र चौँरी ल्याएर जाजरकोटको नलगाड नगरपालिका र रूकुम पश्चिमको आठबीसकोट नगरपालिकामा अस्थायी वसोवास गर्ने  उपल्लो डोल्पाका स्थानीयवासीहरूले चैते दशैंलाई भोटे दशैंका रूपमा मनाउने गर्छन्‌।

चिसो छल्दै चैते दशैं मनाएर जाजरकोट र रूकुमबाट पशुचौपायामा खाद्यान्न ढुवानी गरी उपल्लो डोल्पा जाने चलन रहेको रहेको छ। अहिले यातायातको पहुँच विस्तारसँगै उपल्लो डोल्पाका स्थानीयवासीहरू माथिल्लो जाजरकोट र तल्लो डोल्पामा केन्द्रित भई सोही ठाउँमा अस्थायी बसोबास गदै आएका छन्। अहिले यो सबैको साझा भइसकेको स्थानीय बुद्धिजीविहरू बताउँछन्‌।

बजार जान नपाउँदा दशैं खल्लो

चैते दशैं मनाउने चाहना हुँदाहुँदै पनि ‘लक डाउन'का कारण बजार नखुल्दा र घर बाहिर जान नपाउँदा सर्वसाधारणले चाड मनाउन आवश्यक पर्ने खाद्यान्‍न र सामग्री खरिद गर्न पाएका छैनन्‌। भेरी नगरपालिका-३ का भीमबहादुर खत्री भन्‍छन्‌, 'सामग्री खरिद गर्न नपाएछि कसरी चैते दशैं मनाउने वातावरण तयार हुन्छ र? आयो दशैं धुलो उडाई, गयो दशैं ऋण बोकाई भन्ने उखान यसपटक गलत हुने भएको छ।' यो पटक बन्द कोठामा रेडियो सुन्दै र टेलिभिजन हे्दै चैते दशैंको स्वागत तथा बिदाई गर्न लागिएको खत्रीले बताए।

पंञ्च भयार मावि नलगाड नगरपालिका-८ का शिक्षक बीरबहादुर खत्रीलाई पनि यो पटकको चैते दशैं उस्तै खल्लो लागेको छ। उनी भन्छन्‌, 'चैते दशैं आयो भन्दै आफन्त र ईष्टमित्र गाउँ-गाउँमा रहेका आफ्ना घरमा आउँथे, यो पटक आफन्त आएपनि ढोका बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ।' 

बली रोकियो

विगतदेखि कालिकामाईलाई बली दिने चलनले यो पटक निरन्तरता नपाउने भएको छ। बलिका लागि गाउँगाउँमा खसीबोका तयार गरिएको खबर पाएपछि सुरक्षाकर्मीले निगरानी थालेका थिए। बाहिर निस्किएर भीडभाड गरे कारबाही भोग्नुपर्ने भएपछि बली रोकिएको हो।

जाजरकोटको नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा ठूलो संख्यामा पशुचौपायाको बली दिने गरिन्‍छ। नलगाड नगरपालिका-८ का केशव खत्रीलेका अनुसार कोरोना भाइरसबाट जोगिनका लागि शक्ति प्रदान होस भनि बली दिने तयारी गरेपनि प्रहरीले रोक्न निर्देशन दिएलगत्तै घर-घरबाट ध्वजा लगाएर बेग्ला-बेग्लै ढंगले मन्दिर जाने तयारी भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.