क्वारेन्टाइनमा बस्ने पहिलो व्यक्तिलाई गाउँमै रोजगारी !

|

सुर्खेत : दिउँसोको २ बज्न चार मिनेट बाँकी थियो । चौकुने गाउँपालिका–९ का डम्मर नेपाली स्कुलको चौरमा बसेर रोटी र तरकारी खाइरहेका थिए। उनी चौकुने–६ मा रहेको जीवन ज्योति मावि गुटुमा भारतबाट आएको दुई दिनपछि गाँउपालिकाले बनाएको क्वारेन्टाइनमा बस्न आएका थिए।

डम्मर मजदुरीका लागि भारतको उत्तराखण्ड भर्खरै पुगेका थिए। काम थालेको जम्मा १८ दिन पुगेको थियो। विश्वभर कोरोनाको प्रकोप फैलियो। भारतमा पनि लकडाउन गरियो । मजदुरीका लागि भारत पुगेका उनीजस्तै नेपाली अहिले पनि विभिन्न ठाँउमा समस्यामा परिरहेका छन् । 

‘म काम गर्न गएको १७ दिन भएको थियो। सबै बन्द भयो। काम गर्न पनि पाएन सर,’ डम्मरले भने, ‘दुईदिन जति ती साहुले केही खाना पनि दिएको थियो तर पछि खाना र बस्न दिन सक्दैन भन्यो, हजार रुपैयाँ दिएर पठाइदियो ।’

भारतबाट सात दिन पैदल हिँडेर उनी आफ्नो गाउँ आइपुगेका हुन् । ‘सात दिन लगाएर म भारतको उत्तराखण्डको पहाडबाट हिँडेर आएँ’, डम्मरले भने, ‘नेपालको बोडरसम्म आउँदा मुखमा नुन भन्ने चिज परेन, हिँड्दा खुट्टा दुखेर हैरान भएँ ।’

उनले नेपालको सीमाान आउनु अघि प्रहरी बिटहरुमा बसेर पनि रात कटाए । नेपाल आइसकेपछि भने बाटोमा खाना माग्दै आएको बताए। ‘साहुले दिएको हजार रुपैयाँ इन्डियाको बाटोमा नै सकियो, चाउचाउ बिस्कुट खाएर,’ उनले भने, ‘नेपाल आएपछि मागेर भए पनि खाइयो, पैसा तिरेर पनि भारतमा खाना पाइनँ, बिस्कुट खाएर गाउँ पुगेँ ।’

उनी गाउँ आएको जनप्रतिनिधिले थाहा पाएपछि क्वारेन्टाइनमा बस्न बोलाइएकाले उनी आएका हुन् ।  ‘म घरमा एक्लै थिएँ । घरमा कोही छैनन् । आमाबुुवा पनि इन्डियातिर नै छन् । अरुको घरमा सहयोग मागेर खाना खाइरहेको थिएँ । गाँउपालिकाले बोलाएपछि म यहाँ आएको हुँ,’  उनले भने ।  

चौकुने गाँउपालिकाले बनाएको क्वारेन्टाइनमा बस्ने उनी पहिलो व्यक्ति भएको गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीले बताए । डम्मरलाई गाउँमा नै रोजगारी दिने गरी गाउँपालिकाले योजना रहेको अध्यक्ष  शाहीले बताए । ‘उनी गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा सहज रुपमा आउने पहिलो व्यक्ति हुन्, मलाई काम दिनु पर्यो म अब इन्डिया जान्न भनेका छन्’, गाँउपालिका अध्यक्ष शाहीले भने, ‘सकेसम्म गाउँमा नै रोजगारी दिने गरी सोच बनेको छ ।’ 

नेपालीलाई गाउँमा नै रोजगारी दिने आश्वासन प्रदेश सरकारका मन्त्रीले पनि दिएका छन् ।

विदेशबाट आएकाको खोजी

विदेशबाट आएकालाई खोज्नको लागि वडा वडामा टोली खटाइएको छ । वडा वडामा जनप्रतिनिधिको कमाण्डमा भारत तथा अन्य मुलुकबाट आएर घरमा बसेकाहरुलाई खोजेर भए पनि १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्ने गरी टोलीहरु खटाइएको शाहीले बताए ।

वडा वडा तथा टोल टोलमा जनप्रतिधिसहितको टोली विदेशबाट आएकाहरुलाई खोज्नको लागि टोली नै खटाईएको बताए । यस्तै पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र थापाले पनि गाँउ गाँउमा विदेशबाट आएर लुकेका हरुलाई खोज्न टोली परिचालन गरिएको जानकारी दिए । 

प्रदेशद्धारा खाद्यान्न हस्तान्तरण

क्वारेन्टाइनको अवस्था अवलोकन र क्वारेन्टाईनमा बस्नेहरुका लािग आवश्यक खाद्यान्न लिएर पुगेका कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए। 

प्रदेश सरकारले स्थानीय तहसँग समन्वयन गरी कोरोनाविरुद्धको प्रतिकार्यका काम गरिरहेको छ। स्थानीय तहमा सञ्चालन हुने क्वारेन्टाइनलाई आवश्यक सहयोग प्रदेश सरकारले गर्ने आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीले बताए । ‘भारतलगायत विदेशबाट आएका नागरिकलाई क्वारेन्टाइनमा अनिवार्य राख्नु व्यवस्था स्थानीय तहले गर्नुपर्यो,’ उनले भने, ‘त्यसका लागि आवश्यक आढ्ने आछ्याउने देखी खाद्यन्नको र स्वास्थ्यकर्मी औषधी देखी सुरक्षाको जिम्मा सरकारले दिन्छ ।’ 

चौकुने गाँउपालिकामा क्वारेन्टाइनका लागि खाद्यान्न सहित क्वारेन्टाइनको अवस्था बुझ्न प्रदेश सरकारका मन्त्री  पुगेका थिए । डेढ क्विन्टल चामल, एक क्विन्टल सिमी, ५० केजी नुन,२० केजी मसुरो दाल लगायत बेसार, चिनी, जिरा, तेल चियापत्ती र सोयविन क्वारेन्टाइनका लागि प्रदेश सरकारले  गाँउपालिकालाई हस्तान्तरण गरेको छ । 

सुर्खेतको चौकुने गाँउपालिका सुदुर पश्चिमसँग जोडिएको छ । पैदल यात्राका लागि कर्णाली चिसापानी हुँदै चौकुनेको बाटो भएर अछाम कालीकोटलगायतका जिल्लाका सर्वसाधरण हिँड्ने गरेका छन् । लकडाउनका कारण अहिले सोही बाटो भएर इन्डियाबाट दिनमा नै सयौ मानिस लुकेर वा भागेर आइरहेकाले कर्णाली प्रदेशका जोसुकैलाई पनि क्वारेन्टाइनका राख्ने तयारी भइरहेको छ । सोही योजना अनुसार कर्णाली सरकारका मन्त्री पश्चिम सुर्खेतको चौकुने गाँउपालिका र पञ्पुरी नगरपालिकामा अवलोकनका लागि पुगेका हुन् । कैलालीको कर्णाली चिसापानीमा चेकपोष्ट रोखेर कडाइका साथ भारतबाट आएकालाई सिधै क्वारेन्टाइनमा पठाउने गरी सुरक्षाकर्मीसहितको टोली खटाइएको छ ।

स्वास्थ्यकर्मीद्वारा स्वास्थ्य सामग्रीको माग

सुर्खेतको पश्चिमा क्षेत्रका लागि पञ्चपुरी नगरपालिका साल्कोटमा रहेको प्राथमिक स्वास्थ्य चौकीलाई आइसोलेसनका रुपमा प्रयोग गरिने भएको छ । क्वारेन्टाइन सबै स्थानीय तह र वडामा निर्माण गरिएको छ। 

तर स्वास्थ्यककर्मीले स्वास्थ्य सामग्रीको अभाव भएकाले काम गर्न समस्या भएको बताएका छन् । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री र उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीसँग स्वास्थ्य कर्मीले अहिले पनि थर्मोमिटरले ज्वोरो जाँच गर्नु परेको गुनासो गरे । फायर गन लगायतका स्वास्थ्य सामाग्री यथासिघ्र उपलव्ध गराउन स्वास्थ्य कर्मीले आग्रह गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.