|

इलाम : चियाको पहिलो पत्ती ‘फस्ट फ्लस’ गुणस्तरीय मानिन्छ। नेपालमा प्रत्येक वर्ष 'फस्ट फ्लस' चिया २५ देखि ३० लाख केजीसम्म उत्पादन हुन्छ। हरेक वर्ष 'फस्ट फ्लस' चिया चैत पहिलो साताबाट टिप्न सुरू गरिन्छ।

यस वर्ष कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै 'लकडाउन' लागु भएपछि देशभरका चिया उद्योगहरु अहिले ठप्प छन्। धेरैजसो चिया बगानले 'फस्ट फ्लस'को चिया टिप्न सुरू नगर्दै कोरोना भाइरसको जोखिम खेप्नुपरेको छ।

भाइरस संक्रमण जोखिमका कारण यसपटक उत्पादन हुनसक्‍ने २५ लाख केजी भन्दा बढि चियाले बजार पाउन नसक्ने अवस्था सृजना भएको छ। कोरोना भाइसका कारण चियाको पहिलो मुना वगानमा नै हुर्कने अवस्था आएसँगै किसान र उद्योगीहरू चिन्तित छन्। 

चिया उद्योगी पनि 'फस्ट फ्लस' चियापत्ती कारखानामा टनाटन आउने विश्वासमा थिए तर अहिले मुना पलाएको चिया बगानमा नै हुर्कँदै गएको सूर्योदय टि प्रोडयुसर्स एशोसिएसनका सचिव गोपाल कट्टेलले बताए। भाइरसको जोखिम यही अवस्थामा रहे नेपालका चिया कारखाना बन्द हुने अवस्थामा पुग्ने उनी बताउँछन्।

'अर्थोडक्स' चिया उत्पादन नहुने

नेपालमा कुल उत्पादनको १० प्रतिशत मात्र 'अर्थोडक्स' चियाको खपत छ । स्वास्थ्यका लागि पनि फाइदाजनक मानिएको ग्रिन टी, ब्ल्याक टी, गोल्डन टी, ह्वाइट टी लगायतका विभिन्न अर्थोडक्स उत्पादन जर्मन निर्यात हुँदै आएको थियो।

हरियो पत्तीको सिजन सुरू हुँदै गर्दा मजदुरहरू वर्षेनी आन्दोलित हुने गरेका थिए। यसैकारण घाटा बेहोर्दै आएको चिया क्षेत्र यस वर्ष पुनः कोरोना भाइरसको कारण बन्द हुने देखिएको छ। चिया क्षेत्रमा प्रत्यक्ष रुपमा आबद्ध ५० हजार मजदुर मारमा परेको अखिल नेपाल चिया मजदुर संघकी अध्यक्ष सीता सापकोटा बताउँछिन्। 

चिया टिप्न स्थानीय सरकारको पहल

'फस्ट फ्लस'को पत्ती बगानमै हुर्कन थालेपछि चियाको टिपाई र कारखाना संचालनका लागि स्थानीय सरकारले पहल थालेको छ। ‘फस्ट फ्लस’ (पहिलो पटकको मुना) बगानमा नै हुर्किरहेको अवस्थामा प्रदेश १ सरकार र स्थानीय तहले जोखिम रहित अवस्थामा चिया बगान र कारखाना संचालनका लागि पहल थालेका हुन्‌।

चियाको राजधानी मानिएको इलामको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले किसानको वर्षभरिको मेहनत खेर जाने भएकाले चिया बगान र कारखाना संचालनका लागि पहल थालिएको जानकारी दिए। थोरै कामदारले निगरानीमा बसेर चिया टिप्ने वातावरण निर्माण गर्न चिया उद्योगी र किसानसँग परामर्श भइरहेको राईले जानकारी दिए। 

उनले भने, ‘चिया बोटमै खेर जाने अवस्था आइसकेकाले हामी चाँडै निर्णय गरेर सहज वातावरण बनाउछौं।’ राष्ट्रिय चिया तथा कफी विकास बोर्डसँग समेत यसबारे छलफल भइरहेको उनले जानकारी दिए। 

इलामको देउमाई नगरपालिकाले कारखाना र बगानले तोकेका थोरै व्यक्ति सुरक्षित रुपमा गएर चिया टिप्ने र कारखाना सम्म लैजाने व्यवस्था गरेको छ। नगरले बगानमै चिया खेर जान थालेपछि कोरोनाको जोखिम न्यूनीकरणका लागि उच्च सचेतता अपनाउँदै निश्चित व्यक्तिको माध्यमबाट चिया बगान र कारखाना संचालनमा ल्याएको नगर प्रमुख सूर्य पोखरेलले जानकारी दिए। उनले भने, ‘कोरोनाबाट बच्नका लागि सबै उपाय अपनाएर केहि कामदारको जिम्मामा बगान र कारखाना संचालन गर्नुपर्ने बाध्यता छ।’

प्रदेश १ का भूमी व्यवस्था तथा कृषि सहकारी राज्य मन्त्री राम बहादुर मगरले प्रदेश सरकारमार्फत संघीय सरकारसँग पहल गरे चिया टिप्ने वातावरण बनाउन प्रयास थालेको जानकारी दिए। राज्य मन्त्री मगरले सिजनको चिया खेर जाँदा सिंगो कृषि क्षेत्र र अर्थतन्त्रमा नै समस्या पर्ने भएकाले सुरक्षित रुपमा चिया टिप्ने वातावरण बनाउन पहल थालिएको बताए। मन्त्री मगरले भने, ‘एकै दिनमात्र पनि ढिलो गर्दा चियाको मुना खेर जाने भएकाले हामी संवेदनशील भएका छौं, सुरक्षाका उपाय अपनाएर भएपनि चिया खेर जान दिनु भएन।’  

स्थानीय तह र उद्योगीको पहलमा माक्स, सेनीटाइजर, पञ्‍जा र व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) प्रयोग गरी दुरी कायम गरेर थोरै मजदुरबाट चिया टिपाई गर्ने र सोही तरिकाले उक्त चिया निश्चित सवारी साधनको प्रयोग गरी कारखानासम्म लैजाने जनाइएको छ। चिया उद्योगीले समेत कोरानाको महामारीको बेला चिया कारखाना संचालन गर्ने रहर नभएपनि किसान उद्योगी र देशकै हीत सम्झेर सोच्ने बेला आएको बताएका छन्।

'फस्ट फ्लस' चियाको मूल्य कारखानाले समेत उच्च लगाउने गरेका छन। कारखानाले उत्पादन गरेको 'फस्ट फ्लस'को चिया विश्व बजारमा समेत राम्रो मूल्यमा बिक्री हुने गरेको छ। चियाको पहिलो टिपाइ सुरू भएसँगै गत वर्ष इलामका चिया कारखानले कृषकलाई हरियो चियापत्तीको मूल्य ६० देखि १०० रुपियाँ प्रति केजीसम्म र अर्गानिक हरियो पत्तीको मूल्य १५० रुपैयाँसम्म निर्धारण गरेका थिए। यस पटक प्रशोधन कारखाना नै अन्योलमा छन।

सूर्योदय टि एशोसिएसनद्वारा उद्योग बन्द गर्न आग्रह

सूर्योदय टि प्रोडयुसर्स एशोसिएनले लकडाउन खुल्ला नहुन्जेलसम्म उद्योग बन्द गर्ने निर्णय गरेको छ।

एसोशिएसनले विज्ञप्ती जारी गरेर चिया बगानमा कार्यरत श्रमिक, कर्मचारी, कृषक एवम उद्यमीहरुलाई संक्रमणबाट जोगिन विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य मन्त्रालयले गरेको अनुरोध पालना गर्न आग्रह गरेको छ।

एशोसिएनसको आग्रहपछि अहिले नगरमा संचालनमा रहेको ६२ वटै साना–ठुला उद्योग संचालनमा छैनन्।

नौ हजार बढी किसान चिया खेतीमा संलग्न

देशभर चियाखेती हुने १४ जिल्लामा नौ हजार दुई सय ३६ किसान व्यवसायिक चिया खेतीमा संलग्न छन्। त्यसैगरी १६ वटा ठुला संस्थागत चिया बगानसमेत रहेका छन्। केन्द्रीय तथ्यांक विभागले प्रकाशन गरेको व्यवासायिक चिया खेती सर्वेक्षण, २०७५ अनुसार नेपालमा कुल १० करोड ८० हजार केजी हरियो चियापत्ती उत्पादन हुने गरेको छ। इलाममा मात्र पाँच हजार पाँच सय ८२ साना किसान छन्‌। यो संख्या देशभर रहेका चिया किसानमध्ये ६० दशमलव ६ प्रतिशत हो।

इलाममा तीन हजार तीन सय ९३ हेक्टरमा भइरहेको चियाखेतीबाट वार्षिक १५ हजार नौ सय ७१ मेट्रिक टन हरियो चियापत्ती उत्पादन हुने गरेको छ। जिल्लाका सबै स्थानीय तहमा चिया खेती हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.