|

बैतडी :  चारदिनदेखि सीमामा अलपत्र परेका नेपाली मजदुरलाई भारत सरकारले क्वारेन्टाइनमा राखेको छ। बैतडीसँग सीमा जोडिएको झुलाघाटमा आइतबारदेखि अलपत्र परेका नेपालीलाई क्वारेन्टाइनमा राखिएको हो। 

लकडाउनका कारण सीमा नाका बन्द भएपछि सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई क्वारेन्टाइनमा राखिएको झुलाघाटबाट बैतडीको सुर्नयाका मानबहादुर बोहराले बताए। उनीहरूलाई  झुलाघाटस्थित तालेश्वरमा रहेको धर्मशालामा ५७ जना र खरक्युडा, जामीरपानी र रज्यौडामा रहेका आधारभूत विद्यालयमा १७० जना गरेर २२७ जना मजदुरलाई क्वारेन्टाइनमा राखिएको भारतीय पत्रकार प्रमोदकुमार भट्टले जानकारी दिए। 

ती सबै मजदुरको स्वास्थ्य परीक्षण गरिएको र उनीहरूको स्वास्थ्य अवस्था समान्य रहेको बताइएको छ। क्वारेन्टाइनमा राखिएका नेपाली मजदुरको डाक्टर सचीनप्रकाश देवल र डाक्टर कल्पित रौतेलाको टोलीले स्वास्थ्य परीक्षण गरेको हो।

क्वारेन्टाइनमा राखिएका नेपाली मजदुरको लागि निशुल्क खानाको व्यवस्था गरिएको पत्रकार भट्टले बताए। जिल्ला प्रशासन कार्यालय पिथौरागढको पहलमा नेपाली मजदुरलाई क्वारेन्टाइनमा राखिएको हो। नयाँ वर्षका लागि घर फर्कन लागेका नेपाली लकडाउनका कारण सीमामा अलपत्र परेका छन्।

कतिपय नेपाली महाकाली नदीमा ट्युबका माध्यमबाट तरेर नेपाल भित्रिरहेका छन्। भारतबाट नेपाल भित्रिएकालाई क्वारेन्टाइनमा राखिएको स्थानीय तहहरूले जनाएका छन्। यता प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भने अर्को आदेश नभए सम्म सीमा नाका खोल्न नसकिने बताए।

लकडाउनका बेलाले आआफ्नो ठाउँमा सुरक्षित बस्नुपर्ने भएकोले सीमा नाका नखुल्दासम्म मजदुरलाई नेपाल भित्र्याउन नसकिने उनले बताए। यस अघि पनि लकडाउनका बेला झुलाघाट नाका खोली २०२ जनाको उद्धार गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.