|

काठमाडौं : यतिबेला कोरोना भाइरस (कोभिड-१९) को संक्रमण विश्‍वभर फैलिइरहेको छ। यसैको संक्रमणबाट हालसम्‍म विश्‍वमा  करिब ४२ हजार मानिसको मृत्यु भइसकेको छ।  
नेपालमा पनि पाँचजनालाई कोरोना भाइरसको संक्रमणको पुष्टि भएपछि सरकारले देशभर लकडाउन घोषणा गरी उनीहरूको उपचार पनि गरिरहेको छ।  

लकडाउनले शिक्षा क्षेत्रमा समेत ठूलो असर पुर्‍याएको छ। सरकारले निजी तथा सरकारी सबै स्कुल कलेज बन्द गरेको छ। लकडाउनका कारण सर्वसाधारण घरबाहिर जान नपाएपछि यस अवस्थामा कोही विद्यार्थीहरू घरभित्रै बसेर नयाँ काम सिकिरहेका छन् भने, कोही विद्यार्थी घरमा बस्दाबस्दा दिक्क मान्न थालेका छन्।

जोरपाटीस्थित कुटुम्ब कलेजका विद्यार्थी अस्मी राईले कोरोना भाइरसले स्कुल बन्द भएपछि कोठाभित्रै थुनिएझैँ भएर बस्नुपरेको सुनाइन्। ‘सरकारले लकडाउन लगाएपछि घरभित्रै बस्नुपरेको छ,’ उनले म्यासेन्जरबाट भनिन्, ‘कहिलेकाहीँ पढिन्छ, नत्र खाने र सुत्‍नेबाहेक अरू दैनिकी छैन।'

उनले घरमा बस्दाबस्दा वाक्कदिक्क भएको सुनाउँदै कलेज लागेमा स्वातन्त्र भएको अनुभूति हुने बताइन्। उनले घरभित्र बस्नुपर्दाको पीडा सुनाउँदै भनिन्,‘घरमा बस्दाबस्दा अल्छी लागिसक्यो। कलेज लागे पनि हुन्थ्यो जस्तो लाग्छ। तर, कोरोना भाइरसको डर पनि छ।’

गीत सुन्छु

त्यस्तै, बौद्ध कुमारीगालमा रहेको समता कलेजका विद्यार्थी मदन सुब्बाले लकडाउनको अवधिमा क्रियाटिभ काम गर्ने र गीत सुन्दै बसेको बताए। उनले भने, ‘लकडाउनमा घरभित्रै बसिन्छ। रचनात्मक गीत सुन्दै साथीसँग नयाँ गीतको निर्माण गर्दै बस्छु। अनलाइन गेम पनि खेलिन्छ।’

उनले घरभित्र बस्दाबस्दा अल्छिपनाको समस्या भएको सुनाए। ‘कोरोना भाइरस हटेर कलेज लागे पनि हुन्थ्यो। साथीहरूसँग भेट्न पाइन्थ्यो। अहिले भेट्न पाइएको छैन।’ उनले थपे।

कोरोना भाइरस रोकथाम भएपछि साधारण जीवनमा स्वतन्त्र रूपमा बाँच्न चाहेको उनी बताउँछन्।

मन हलुंगो बनाउन टिकटक

त्यस्तैगरी पशुपति बहुमुखी क्याम्पस चावहिलकी विद्यार्थी कुसम श्रेष्ठले घरभित्र पढ्दै मोबाइल चलाउँदै दिन बिताइरहेको बताइन्। ‘घरमा बस्दा बेलाबेलामा पढ्छु,’उनले म्‍यासेन्जरबाट भनिन्,‘दिनभरी पढ्न पनि सकिँदैन। मनलाई हलुंगो बनाउन टिकटक बनाइन्छ।’ उनले घरमा बस्दाबस्दा वाक्कदिक्क लागिसकेको सुनाइन्।

‘घरबाहिर जान पाइएको छैन। सबै परिवारसँगै भएकाले त्यति गाह्रो भने भएको छैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.