|

म्याग्दी :  म्याग्दीका ६ वटा स्थानीय तहमा रहेका १ सय १८ जना क्षमताका २० वटा क्वारेन्टाइन केन्द्रमा विदेशबाट आएका १ सय १५ जनामध्ये बुधबारसम्म जम्मा ४९ जना मात्र आएका छन्।  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ भाइरस रोकथामका लागि विदेशबाट आएकालाई राख्न बनाइएको म्याग्दीका क्वारेन्टाइनमा बस्नेको संख्या न्यून रहेको छ।

सदरमुकाम बेनी र स्थानीय तहमा स्थापना भएका क्वारेन्टाइनमा बस्नेको हालसम्मको संख्या ४९ जना मात्र रहेको जिल्ला विपद व्यवस्थापन समितिअन्तर्गत गठित कमाण्ड पोष्टका सदस्य सुरत केसीले जानकारी दिए। 

सदरमुकाम बेनीको न्यू वेष्टप्वान्टमा रहेको क्वारेन्टाइनमा बसेका २४ जनामध्ये चारजना विदेशबाट आएका  १५ दिन पूरा गरेर घर फर्किएका केसीले बताए।जिल्लाभर चैत १ गते यता विदेशबाट आएका १ सय १५ जनाको लगत संकलन भएको थियो।

सवै स्थानीय तहमा क्वारेन्टाइन : इन्टरनेटको समेत सुविधा

म्याग्दी जिल्लाका सबै (६ वटै) स्थानीय तहहरूमा क्वारेन्टाइन स्थापना गरिएका छन्। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामको लागि चैत १ गतेदेखि यता जिल्लाका ६ वटा स्थानीय तहमा गरी २० ओटा क्वारेन्टाइन केन्द्र स्थापना गरिएको छ।

कमाण्ड पोष्टका सदस्य केसीका अनुसार रघुगंगा गाउँपालिकामा ८,धौलागिरिमा ८, मालिका, मंगला,अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा १/१ वटा क्वारेन्टाइन स्थापना गरिएको हो। यी सबै क्वारेन्टाइन केन्द्रमा इन्टरनेटको समेत सुविधा रहेको छ।

क्वारेन्टाइबाट ६ जना घर फर्किए

म्याग्दीका दुईवटा पालिकाका  क्वारेनटाइनबाट मंगलबार ६ जना घर फर्किएका छन्। बेनी नगरपालिकाको न्यु वेष्टप्वाइन्टमा ररहेको क्वारेन्टाइनबाट ४ जना र रघुगंगा गाउँपालिकाबाट २ जना गरी ६ जनालाई घर पठाइएको हो। विदेशबाट आएको १५ दिन पुगेका र स्वास्थ्यमा कोरोनाको लक्षण देखा नपरेकालाई घर फिर्ता पठाइएको स्वास्थ्यकर्मीले बताएका छन्।

कोरोनाको संक्रमण देखिने अवधि दुईसाता रहेकाले सो भन्दा बढी दिन भइसकेको र स्वास्थ्यमा समस्या नआएकालाई बेनी अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीमार्फत स्वास्थ्य परीक्षण तथा आवश्यक काउन्सिलिङ गरी घर पठाइएको जिल्ला विपद व्यवस्थापन समितिअन्तर्गत गठित कमाण्ड पोष्टका सदस्य केसीले जानकारी दिए। 

बेनी नगरपालिकाको सहयोगमा वेनीको न्यु वेष्ट प्वाइन्ट कलेजमा निर्माण गरिएको क्वारेन्टाइनमा चैत यता प्रवासबाट आएका २४ जना बसेका थिए।

क्वारेन्टाइनमा बस्नै मान्दैनन्

लामो समयपछि  विदेशबाट गाउँमा आएका अधिकांश व्यक्तिहरू क्वारेन्टाइनमा आउनै मानेका छैनन्। उनीहरूले आफू आएको १५ दिन भन्दा बढी भएको बताउँदै आएका छन्। स्थानीय जनप्रतिनिधि र जिल्लाका सरोकारवाला व्यक्तिले सम्झाउँदा पनि समाजले पछि गलत व्यवहार गर्ने भयले गर्दा उनीहरू क्वारेन्टाइनमा आउन नमानेका अनुमान गरिएको छ। तर,उनीहरूलाई क्वारेन्टाइनमा ल्याउन स्थानीय तहका जनप्रतिनिधिले कोशिस गरिरहेको बताएका छन्।

कुन–कुन क्वारेन्टाइनमा कतिजना छन्?

अन्नपूर्ण गाउँपालिकाको भुरुङ तातोपानीस्थित सर्वोदय माविमा स्थापना भएको क्वारेन्टाइनमा मंगलबार तीनजनालाई राखिएको छ। गाउँपालिकाका प्रवक्ता एवं वडा नं ६ का वडाअध्यक्ष कृष्णप्रसाद बरुवालका अनुसार पछिल्लो एक महिनायता विदेशबाट आएका २५ जनामध्ये १५ दिन नकाटेका ३ जनालाई क्वारेन्टाइनमा राखिएको हो। 

उता पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकामा चारजनालाई क्वारेन्टाइनमा राखिएको छ। गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले दिएको जानकारी अनुसार २ जनालाई घरमा नै सुरक्षित तवरले रहन भनिएको छ। मंगला गाउँपालिकाले विदेशबाट आएका ३० जना मध्य १५ दिन नकाटेका ९ जनालाई बाबियाचौरको मंगला शिक्षा क्याम्पसमा स्थापना भएको क्वारेन्टाइनमा राखिएको अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिए।

त्यस्तै रघुगंगा गाउँपालिकाले विभिन्न वडामा स्थापना गरेको क्वारेन्टाइनमा १७ जनालाई राखिएकोमा १५ दिन कटाएर दुईजना मंगलबार घर फर्केका गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए। उता मालिका गाउँपालिकाले दरवाङमा ८ शय्याको आइसोलेसन बनाए पनि विदेशबाट आएका, क्वारेन्टाइन र आइसेलेसनमा बस्नेको तथ्यांक सार्वजनिक गरेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.