|

भद्रपुर : लकडाउनमा घर फर्किन लागेका ७२ जना भारतीय नागरिकलाई झापामा राखिएको छ। 

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको लकडाउनमै भारत घर फर्किन खोजेका ७२ जनालाई स्थानीयको सहयोगमा नियन्त्रणमा लिएर सुरक्षित स्थानमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। ७२ जनामध्ये ३९ जना मेचीनगरमा, १८ जना भद्रपुरमा र १५ जना कन्काइमा रहेका छन्। उनीहरू जिल्लाका विभिन्न विकास निर्माण तथा पलाई उद्योगमा काम गर्न नेपाल आएका थिए। 

विकास निर्माणसँगै उद्योग ठप्प बनेपछि उनीहरू लुकिछिपी हिँडेर भारत प्रवेश गर्न खोजका थिए। उनीहरूलाई स्थानीयको सहयोगमा नियन्त्रणमा लिएर सुरक्षित स्थानमा राखिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार मेचीनगरमा रहेका ३९ जनालाई मेची जनसाधारण माविमा राखिएको छ। उनीहरू बाहुन्डागीको भृकुटी भन्ने स्थानबाट भारत प्रवेश गर्न खोजेपछि स्थानीयले प्रहरीलाई खबर गरेर नियन्त्रणमा लिएका थिए। त्यस्तै भद्रपुरस्थित किचकबधमा १८ जना भारतीय नागरिकलाई राखिएको छ। उनीहरू बिर्तामोडको प्याई उद्योगमा काम गर्ने मजदुर हुन्। उनीहरू पृथ्वीनगरको बाटो भएर भारत प्रवेश गर्न खोजेका थिए। उनीहरू सबैको घर पश्चिम बंगालको रायगञ्ज हो।

उता कनकाई नगरपालिकामा कैलालीबाट आएका १५ जनालाई दुर्गापुरमा राखिएको छ। उनीहरूलाई दुर्गापुरकै एउटा सामुदायिक भवनमा व्यवस्थापन गरिने जनाइएको छ।

जिल्लामा फेला परेका भारतीय मजदुरलाई जहाँ रहेको छ त्यहीकै स्थानीय तहले व्यवस्थापन गर्न आग्रह गरिसकेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। यता भारतीय मजदुरलाई खाना तथा आवासको व्यवस्थापनमा तीन वटै स्थानीय तह जुटेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.