|

जाजरकोट : सूचनाको पहुँच नपुग्दा जाजरकोटको ग्रामिण क्षेत्रका मानिसहरूलाई कोरोना भाइरस (कोभिड –१९) बाट सुरक्षित राख्न समस्या परेको छ।

जिल्लाका दुर्गम गाउँमा सूचनासम्म पहुँच नभएका सर्वसाधारणहरु 'लकडाउन' को समयमा खुलेआम गाउँ-गाउँमा घुमिरहेका छन्‌। सजगता अपनाउनुको साटो विभिन्न समुदायले घुम्ने, देवी र देवतालाई बली दिने, तास खेल्ने र सामुहिक भेला भएर मदिरा सेवन गरिरहेका छन्‌।

जिल्लाको बारेकोट, जुनिचाँदे, शिवालय, कुशे गाउँपालिका तथा छेडागाड  र नलगाड नगरपालिकासँग डोल्पाको सिमाना जोडिएका वडाहरुमा अहिले पनि सरकारले गरेको गरेको 'लकडाउन' प्रभाव न्यून देखिएको छ। 'लकडाउन'को समयमा घरायसीदेखि सामुदायिक सबै कामहरू साविक झैं भइरहेको पाइएको नलगाड नगरपालिका-८ का लालबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार जनप्रतिनिधि र प्रहरी प्रशासनको पहुँच नभएको ठाउँमा यस्तो समस्या बढी देखिएको छ।

आज (बिहीबार) मात्र नलगाड नगरपालिको-८  कालिका मन्दिरमा बली दिइएको छ। बली दिन आएका गोपाल खत्रीले भने, 'रोग आएपनि शहर बजारमा आउँछ, हाम्रो गाउँमा आउँदैन, आज त्यही रोक्न भगवती माईलाई बली दिइयो, अब हामीलाई केही हुँदैन।'

अर्का स्थानीय दत्तबहादुर खत्रीको धारणा पनि गोपालको भन्दा फरक छैन। उनी भन्छन्‌, 'बेकारमा मास्क लगाएर के हुन्छ? काल आएपछि बाकसमै राखेपनि मरिन्छ, नत्र केही हुँदैन।' देवता रिसाएर रोग आएको बताउने खत्रीले थपे, 'आजभोलीका मान्छे देवता, आफन्त, ईष्टमित्र कसैलाई नमान्ने भन्छन्, त्यसैले पाप धुरीबाट करायो।' 

धर्म कमाएको ठाउँमा  रोग लाग्दैन भन्दै सर्वसाधारणहरु यतिखेर खुलेआम गाउँमा डुल्ने काम गर्दा समस्या आइलागेको स्थानीय नारायण खत्रीले बताए। 'रुढीवादी चिन्तन हावी छ, अन्य मुलुकबाट आएकाहरु एकै ठाउँमा बसेर गफ गरिरहेका छन्‌।' 

डोल्पा त्रिपुरासुन्दरी र छल लगायतका ठाउँमा रोग नलागोस भनि भाकल गर्नेको ठूलो भीड जम्मा हुने गरेको छ। देवीदेवताका मन्दिर र थानहरुमा रोग नलागोस्‌ भन्ने कामना गर्दै बली दिनको लर्को रहेको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए।

स्थानीय तहका मुकाम तथा बजारमा 'लकडाउन'को प्रभाव देखिएपनि जिल्लाका सबैजसो गाउँहरूमा यसको अवज्ञा भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.