|

काठमाडौं : आज ६३ औं राष्ट्रिय सहकारी दिवस। औपचारिक कार्यक्रमको आयोजना गरी देशव्‍यापी सहकारीबारे राष्ट्रिय बहस हुनुपर्ने दिन। तर यस वर्षको सहकारी दिवस फरक ढंगले मनाइएको छ।
कोरोना भाइरको संक्रमणका कारण विश्वसँगै देश पनि अहिले संकटमा छ। यस्तो अवस्थामा संक्रमणको रोकथामका निम्ति सहकारी दिवस केन्द्रित रह्यो। यसवर्षको ६३ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आज कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना गरिएको छ।

नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाद्वारा सञ्चालित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भूमा कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना गरिएको हो।

राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा स्थापना भएको उक्त केन्द्रलाई बिहीबार एक कार्यक्रमबीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्‍माकुमारी अर्यालले शुभारम्भ गरिन्।
'सहकारीद्वारा सञ्चालित अस्पताललाई अधिकतम प्रयोग गर्ने, केन्द्रीयस्तरमा कोरोना रोकथाम केन्द्र स्थापना गर्ने लक्ष्यका साथ यो अस्पताल छनोट गरिएको हो', मन्त्री अर्यालले भनिन्।

विश्व नै संकटमा परेको बेला नेपालमा लगाइएको लकडाउनका कारण जोखिम कम गर्न सजिलो भएको भन्दै मन्त्री अर्यालले यसबाट जनतामा केही अप्ठ्यारो परे पनि यसले कालान्तरमा फाइदा पुग्ने बताइन्। कोरोना नियन्त्रण सहकारी केन्द्रमा सेवा लिन र सहयोग गर्नसमेत मन्त्री अर्यालले त्यस अवसरमा आग्रह गरिन्।

त्यस अवसरमा भेन्टिलेटर, पिपिईलगायत सामग्रीसमेत हस्तान्तरण गरिएको थियो। कोरोनाको महामारीलाई नियन्त्रण गर्नका लागि सहकारी अभियानको ऐक्यबद्धतामा उक्त सेन्टरको स्थापना गरिएको कोरोना नियन्त्रण सहकारी व्यवस्थापना समितिका संयोजक तथा महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.