|

काठमाडाैं : उपत्यकाका अतिविपन्न, असहाय र मजदुरलाई राहतमा एकरुपता गर्ने काठमाडौं उपत्यका नगरपालिका फोरमले निर्णय गरेको छ। 

त्यस्ता उपभोक्तालाई लकडाउन अवधिभर वितरण गरिने राहतको मापदण्डमा एकरुपता हुने बताइएको छ। बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उपत्यकाका स्थानीय तहहरुले यस्तो निर्णय गरेका हुन्। 

‘आजसम्म जे–जसरी राहत वितरण भएको भए पनि अर्थमन्त्रालयले चैत १९ गते जारी गरेको असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहाय वर्गलाई उपलब्ध गराइने राहतसम्बन्धी मापदण्डअनुसार राहत वितरण गरिने निर्णय बैठकले गरेको छ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख एवं उपत्यका नगरपालिका फोरमका संयोजक विद्यासुन्दर शाक्यले बताए। मन्त्रालयले जारी गरेको मापदण्डभन्दा फरक ढंगले राहत वितरण गर्दा एकरुपता नहोला भनी एकरुपता यस्तो निर्णय गरिएको उनले बताए। भने, ‘उपत्यकाका सबै नगरपालिकालाई आजैबाट त्यो सर्कुलर जारी गरेका छौं।’

उपत्यकाका तीन जिल्लाका दुई महानगर र १६ नगरपालिकाको संयुक्त संस्थाका रुपमा रहेको फोरमले यही विषयमा हिजो(बुधबार) गृह, संघीय मामिला, आपूर्तिमन्त्री लगायतसँग पनि छलफल गरेको थियो।

प्रमुख शाक्यले गृह, संघीय मामिला, आपूर्तिमन्त्रीलगायतसँग भएको छलफल पनि यही विषयमा केन्द्रित रहेको बताए। लकडाउनभरि एउटै मापदण्डअनुसार विपन्न उपभोक्ताले राहत पाउने प्रमुख शाक्यले बताए। उनले त्यस्ता वर्गका उपभोक्ताको लगत संकलनसमेत सुरु गरिसकेको जनाए। ‘अब उहाँहरुले पाउने नुन, चामल, चिनी, दालजस्ता खाद्यान्न मात्रा एकै किसिमको हुनेछ,’ मेयर शाक्यले भने। 

नयाँ मापदण्डअनुसार तीन जनासम्मको परिवारले १५ केजी चामल र डेढ किलो दाल पाउनेछन् भने सोभन्दा बढी सदस्य भएकाल परिवारले ३० केजी चामल र तीन केजी दाल पाउनेछन्। त्यसैगरी, तीन जनासम्म भएको परिवारले १ प्याकेट नुन र एक लिटर तेल पाउनेछन् भने तीन जनाभन्दा बढी भएको परिवारले २ प्याकेट नुन र २ लिटर तेल पाउनेछन्। तीन जनासम्म परिवार भएकाले १ केजी र तीनभन्दा बढी भएकाले २ केजी चिनी पाउनेछन्। ती परिवारलाई राहतमा साबुन पनि दिइने बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.