|

संयुक्त राज्य अमेरिकाको वेस्ट भर्जिनियाका सञ्चालनमा रहेका गभर्नर जिम जस्टिसका कोइला कम्पनीले खानीमा सुरक्षाका लागि तोकिएका सुरक्षा मापदण्ड उल्लंघन गरेको भन्दै ५० लाख अमेरिकी डलरको जरिवाना तोकिएको छ। 

स्थानीय समयअनुसार बुधबार अमेरिकी संघीय अभियोजनकर्ताहरूले गभर्नर जस्टिसले जरिवानाका लागि सहमति जनाएको जानकारी गराए। उक्त राज्यमा सञ्चालित ती कोइला खानीमा सन् २०१४ पछि खानी सुरक्षा मापदण्डका करिब दुई हजार ३०० उल्लंघनका घटनामा दोषी ठहर गर्दै अमेरिकी श्रम तथा खानी सुरक्षा र स्वास्थ्य प्रशासन मन्त्रालयमार्फत् गत वर्ष उक्त मुद्दा दर्ता गरिएको थियो। 

अमेरिकी रिपब्लिकन पार्टीको तर्फबाट गभर्नर निर्वाचित जस्टिसले वर्षौंदेखि कैयौँ संघीय निकायद्वारा जरिवानाका लागि गरिएको ताकेतालाई पटक पटक वेवास्ता गर्दै आएको अभियोजनकर्ताहरूले पत्रकार सम्मेलनमा बताए।

श्रम तथा खानी सुरक्षा र स्वास्थ्य प्रशासन मन्त्रालयका उपमन्त्री ड्याभिड जि ज्याटेजालोले भने, 'खानी सुरक्षा तथा स्वास्थ्य कानुनलाई उल्लंघन गरेबापत वा खानीमा काम गर्ने श्रमिकको सुरक्षा र स्वास्थ्यको प्रत्याभूत गर्नुपर्ने अमेरिकी कानूनमा व्यवस्था भए बमोजिम खानीमा त्यो सुविधा नभएकोमा खानी सञ्चालकले जरिवाना तिर्नुपर्छ।' जरिवाना नतिरेमा सञ्चालकहरूलाई खानी सञ्चालन गर्ने अधिकार हुँदैन।

अभियोजनकर्ताहरूका अनुसार जस्टिसका परिवारले भर्जिनिया, वेस्ट भर्जिनिया, टेनिसी, अलावामा र केन्टुकीमा विभिन्न २४ खानी कम्पनी सञ्चालनमा ल्याएका अनुसन्धानका क्रममा पत्ता लागेको छ। जस्टिस परिवारले तिर्न सहमति जनाएको उक्त जरिवाना गत वर्ष मे महिनासम्मको हो।

जस्टिस वेस्ट भर्जिनियाका धनाड्य व्यक्ति मानिन्छन्। उनको कोइला खानी र कृषिमा गरी यस क्षेत्रमा करिब एक अर्ब अमेरिकी डलर बराबरको लगानी रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.