|
फाइल तस्बिर

इलाम : सूर्योदय नगरपालिकाले सुरक्षाको विधि अपनाएर चिया टिप्न निर्देशन दिए पनि उद्योग सञ्चालन नहुने भएको छ। नगरको चिया व्यवसायीहरुको साझा संस्था सूर्योदय टि प्रोड्युसर्स एसोसिएनसले विज्ञप्ति जारी गर्दै उद्योग सञ्चालन गर्न नसक्ने जनाएको हो। 

अध्यक्ष पुनम राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उद्योग सञ्चालनको पहललाई स्वागत गर्दै नगरपालिकाको निर्देशनमा उल्लिखित मापदण्ड पालना गरी उद्योग सञ्चालन गर्न नसक्ने जनाएको छ। 

एसोसिएसनले सम्पूर्ण किसान, कर्मचारी, तथा सम्बन्धित सम्पूर्ण पक्षलाई धैय धारण गर्न अनुरोध गर्दै लकडाउन अवधिभर उद्योग सञ्चालन गर्न नसकिने जनाइएको छ। नगरपालिकाले १८ वटा बुँदामा सचेत भएर मात्र किसान , उद्योगी र व्यापारीलाई चिया टिप्न र कारखानामा लैजाने काम गर्न मापदण्ड तयार पारेको छ। नगरले चिया टिप्न जाँदा प्रत्येक चार/चार बुट्टा बीचको सामाजिक दूरी कायम गरेर मात्र चिया टिप्न पाउने प्रावधान राखिएको छ।

चिया टिप्ने किसान, मजदुर, उद्योगीले मास्क, पन्जा, साबुन पानी र सेनिटाइजर अनिवार्य प्रयोग गर्न नगरले निर्देशन दिएको छ। यस्तै, चिया टिप्न र चिया क्षेत्रमा काम गर्ने मजदुरले खाजा पानी समेत घरबाटै लैजानु पर्ने, दिउँसो २ बजेसम्ममा किसानले चिया टिपेर संकलन केन्द्रमा लैजानुपर्ने र संकलन केन्द्रले साँझ ४ बजेसम्ममा उद्योगमा पु¥याइसक्नुपर्ने नगरले जनाएको छ।

किसान र उद्योगले चिया ढुवानी गर्दा एक बोरामा ३० किलोग्रामसम्म मात्र राख्नुपर्ने, कारखानामा तीनजना र ढुवानी गर्ने सवारी साधनमा दुईजना मात्र मजदुर राख्नु पर्ने, श्रमिक र कामदारको विवरण अनिवार्य वडामा बुझाउनुपर्ने र समय समयमा कामदारको स्वास्थ्य परीक्षण गराइरहनु पर्ने नगरले सूचना प्रकाशन गरेको छ। 

चिया बगान र मजदुरका विषयमा नगरले बेला बेलामा अनुगमन समेत गर्ने भएको छ।  इलाममा पहिलो सिजनमा बर्सेनि २५ देखि ३० लाख किलो हरियो पत्ती उत्पादन हुन्छ । जसबाट पाँच लाख किलोभन्दा बढी चिया बन्ने गरेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.