|

म्याग्दी : लकडाउनका कारण हिमाली जिल्ला म्याग्दीमा नुन, तेल र ग्यासको अभाव भएको छ। चामल, दाल, आँटा, मैदा लगायत खाद्यान्न दुई महिनाका लागि मौज्दात रहे पनि नुन, तेल र ग्यासको अभाव देखिन थालेको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ।

संघका अध्यक्ष उत्तम कर्माचार्यले उपभोक्ताले आवश्यकताभन्दा बढी खरिद गरेकाले  नुन, तेल र ग्यासको स्टक सकिएको बताए। ‘बजारमा स्कट सकिएको छ तर उद्योगहरु बन्द भएकाले आयात भएको छैन,’ उनले भने, ‘अत्याश्यक वस्तु भएकाले नुन, तेल र ग्याँस आपूर्तिका लागि प्रशासनमार्फत पहल गरेका छौं।’ बजारमा नुन, तेल र ग्यासको अभाव हुनुका साथै खाद्यान्नको मूल्यमा वृद्धि भएको गुनासो आउन थालेका स्थानीय जनप्रतिनिधिहरुले बताएका छन्।

बेनीका डिलरहरुसँग चामल १० हजार २९३ बोरा, नुन ५४३ बोरा, खानेतेल एक ६१७ कार्टन, २८८ बोरा दाल, ५२५ बोरा चिनी, ८ हजार लिटर पेट्रोल, ३० हजार लिटर डिजेल र तीन हजार लिटर मट्टितेल मौज्दात रहेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कर्माचार्यले बताए।

त्यसैगरी विपन्न र मजदुरहरुलाई वितरण गर्न अन्नपूर्ण गाउँपालिकाले २०० बोरा, धवलागिरीले २०० बोरा, रघुगंगा गाउपालिकाले २५० बोरा र मालिका गाउँपालिकाले १५० बोरा चामल खरिद गरेर राखेको जनाएका छन्।

विभिन्न उद्योगका आधिकारिक बिक्रेताहरुसँग मौज्दात रहेको तेल, नुन र ग्यासबाहेकका बस्तुले जिल्लाबासीलाई दुई महिना पुग्ने म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.