|

काठमाडौं : पोखराको ल्याबमा कोरोना पोजेटिभ देखिएका व्यक्ति पनि बागलुङकै भएको खुलेको छ। स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार भारतबाट आएपछि बिरामी भएर परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको हो। 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै मात्र स्थापना गरिएको कोभिड-१९ परीक्षण ल्याबबाट भारतबाट आएका ती व्यक्तिमा कोरोना पुष्टि भएको हो। पोखराको परीक्षणमा पोजेटिभ देखाएपछि ती व्यक्तिको थ्रोट स्वाब संकलन गरेर काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ। 

यसअघि बागलुङकै दुईजना महिलामा कोरोना देखिएको थियो। बिहीबार मात्रै बागलुङकी ६५ वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको थियो। उनी नेपालमा कोरोना भेटिने छैटौं व्यक्ति थिइन्। उनी कतार एयरवेजको जहाजबाट गत चैत ४ मा दोहाबाट काठमाडौं आएकी थिइन्। 

कतारको एउटै उडानबाट नेपाल आएका तीनजनालाई कोरोना देखिइसकेको छ। उनी कतारको दोहाबाट भने कतार एयरवेजको क्युआर ६५२ नम्बरको उडानबाट काठमाडौं अवतरण भएकी उनको अहिले धौलागिरी अञ्चल अस्पतालमा उपचार हुँदैछ।  

बेल्जियमबाट गत चैत ४ गते नै कतार एयरवेजको क्युआर ६५२ जहाजमा काठमाडौं आएकी बागलुङकी २२ वर्षीया युवतीमा पनि कोरोना पोजेटिभ पाइएको थियो। उनको अहिले धौलागिरि अञ्‍चल अस्पतालमा उपचार भइरहेको छ। 

नेपालमा सुरुमा चीनबाट आएका एक विद्यार्थीमा जनवरी २३ मा कोरोना संक्रमण देखिएको थियो। उनी उपचारपछि निको भइसकेका छन्। त्यसपछि ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.