|

भद्रपुर : भारतबाट झापा घर फर्किएका एक युवकमा कोरोना भाइरस सङ्क्रमण परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ। 

मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसन वार्डमा उपचाररत झापा गाउँपालिका साबिक कुमरखोद गाविस १ घर भएका १८ वर्षीय प्रवज आलमको थ्रोट स्वाब रिपोर्ट नेगेटिभ आएको हो। उनको थ्रोट स्वाब परीक्षणको नेगेटिभ भएको रिपोर्ट शुक्रबार दिउँसो आएको अस्पतालका मेसु डा पीताम्बर ठाकुरले जानकारी दिए।

उच्च ज्वरो र रुघाखोकी लागेका आलम चैत १८ गते आइसोलेसनमा भर्ना भएका थिए। उनको स्वाब परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। दुई साताअघि भारत विहार राज्यस्थित बहादुरगञ्जमा रहेको हजुरआमाको घरमा एकदिन बसेर ती युवक आफ्नो घर झापा फर्किएका थिए।

घर आएदेखि उनलाई ज्वरो र रुघाखोकी आउन थालेपछि उपचारका लागि अस्पताल आएका थिए। त्यस्तै मेचीको आइसोलेसन वार्डमा कमल गाउँपालिकाका एक युवक भर्ना भएका छन्। ज्वरो र रुघाखोकी आएपछि ती युवक बिहीबार मेचीको आइसोलेसन वार्डमा भर्ना भएको अस्पतालका मेसु डा ठाकुरले बताए। उनले भने,' उनको पनि थ्रोट स्वाब परीक्षणका लागि धरान पठाइसकेका छौं।' ती युवक पनि भारतबाट झापा घर फर्किएका हुन्।

अहिलेसम्म मेचीमा ६ जना आइसोलेसनमा भर्ना भइसकेका छन्। तीमध्ये पाँच जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ भने एक जनाको आउन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.