दार्चुला : दार्चुलाका सात पालिकामा भारतलगायत जिल्ला बाहिरबाट आउनेको संख्या ९ सय ५१ पुगेको छ। दुई स्थानीय सरकारले भने बाहिरबाट आउनेको विवरण तयार पार्न सकेका छैनन्। नौगाड र मार्मा गाउँपालिकाले शनिबार मात्रै अन्तिम विवरण आउने बताइएकाे छ।
यस महिनाको सुरुदेखि हालसम्म मालिकार्जुन गाउँपालिकामा २ सय ६०, शैल्यशिखर नगरपालिकामा १ सय ९५, व्याँस गाउँपालिकामा १ सय ९२, लेकम गाउँपालिकामा १ सय ८५, महाकाली नगरपालिकामा १ सय ८०, दुहुँ गाउँपालिकामा १ सय २३ र अपीहिमाल गाउँपालिकामा ११ जना जिल्ला बाहिरबाट भित्रिएको पाइएको हो।
दुई पालिकाकाले बस्नै मानेन् क्वारेन्टाइनमा
जिल्ला बाहिरबाट गाउँ भित्रिएका दुई पालिकाका स्थानीय क्वारेन्टाइनमा बस्न नमानेको जनप्रतिनिधि-कर्मचारीले बताएका छन्। मालिकार्जुन र लकेम गाउँपालिकामा जिल्ला बाहिरबाट आएका कुनै पनि स्थानीय पालिकाले बनाएको क्वारेन्टाइनमा बसेको पाइएको छैन।
मालिकार्जुन गाउँपालिकामा हालसम्म सबैभन्दा बढी २ सय ६० जना र लेकम गाउँपालिकामा १ सय ८५ जना भित्रिएका भए पनि यी दुई गाउँपालिकामा कोही पनि क्वारेन्टाइनमा बसेका छैनन्। मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिंह धामीले जिल्ला बाहिरबाट आएकालाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर कोरोना संक्रमण फैलिन नदिने रणनीति अपनाए पनि कोही पनि क्वारेन्टाइनमा बस्न नमानेको बताए।
अध्यक्ष धामीले बाहिरबाट आएका स्थानीय क्वारेन्टाइनमा बस्न नमानेपछि घरमै छुट्टै बस्न आग्रह गर्ने गरेको बताए। उनले स्वास्थ्यकर्मीलाई घर-घर पठाएर उनीहरूको स्वास्थ्य अवस्थाको विवरण पनि संकलन गर्ने गरेको बताए।
महाकाली जोखिमको केन्द्र
अध्यक्ष धामीले गाउँपालिका भित्रिई सकेका सबै निगरानीमा रहेको र हालसम्म उनीहरूको स्वास्थ्य सामान्य रहेको देखिए पनि प्रत्येक दिन महाकाली तरेर आउनेले जोखिम बढाएको बताए। महाकाली तरेर आउनेमा दार्चुलाका मात्र नभएर बैतडी, बझाङ, बाजुरा, डडेल्धुरालगायत जिल्लाका नागरिक समेत आउने गरेको, हेल्थ डेस्कमा जाँच्न गर्न नमानेको र क्वारेन्टाइनमा पनि बस्न नमानेको अध्यक्ष धामीले बताए।
उनले केही दिन अगाडि सम्पर्कमा आएका कैलाली २७ जनालाई जिप बुकिङ गरेर सम्बन्धित जिल्लामा पठाएको स्मरण गर्दै सुरक्षित हिसाबले भारतबाट ल्याउने, सम्बन्धित स्थानीय तह र जिल्लामा पठाउने व्यवस्था मिलाउनु पर्ने भनाई छ।
अध्यक्ष धामी भने, ‘यस्तो गर्न सकिएन भने संक्रमण रोक्न त परै जाओस्। भारतबाट आउनेको तथ्यांक पनि लिन सकिँदैन।’ मालिकार्जुन र लेकमका स्थानीय मात्रै नभएर अन्य स्थानीय तहमा बाहिरबाट आउने पनि क्वारेन्टाइनमा बस्न नमानेको जनप्रतिनिधि बताउँछन्।
क्वारेन्टाइनमा २१ प्रतिशत मात्रै
मालिकार्जुन र लेकम गाउँपालिकामा एक जना पनि क्वारेन्टाइनमा बस्न मानेनन् भने जिल्लाका अन्य पालिकामा भित्रिने पनि करिब २१ प्रतिशत मात्रै क्वारेन्टाइनमा बसेका छन्। हालसम्म दार्चुला भित्रिएका ९ सय ५१ जनामध्ये १ सय ९८ जना मात्रै क्वारेन्टाइनमा बसेका छन्।
मार्मा गाउँपालिकाले भने सकेसम्म सबैलाई क्वारेन्टाइनमा बसाल्ने प्रयास गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चक्रसिंह धामीले जानकारी दिए। तर मार्मामा अहिलेसम्म १ सय १६ जना क्वारेन्टाइनमा बसेका छन्। धामीले पालिकाका ५ वटै ठाउँमा स्थापना गरिएका सबै क्वारेन्टाइनमा बाहिरबाट आएका नागरिक भएकाे बताए। उनले छिमेकीको समेत सहयोग लिएर बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राखिएको बताए।
धामीले जिल्ला बाहिरबाट आउनेको तथ्यांक आएपछि घरमा बसेकालाई समेत क्वारेन्टाइनमा राख्ने योजना रहेको बताए। अहिलेसम्म दुहुँ गाउँपालिकामा ३१, महाकाली नगरपालिकामा १४, शैल्यशिखर नगरपालिकामा १३, नौगाड गाउँपालिकामा ११, अपी हिमाल गाउँपालिकामा ९ र व्याँस गाउँपालिकामा ४ जना मात्र क्वारेन्टाइनमा छन्।
दुहुँ गाउँपालिकाले भने एक हप्ता पहिले आएका, एक हप्तापछि आएका र तेस्रो मुलुकबाट आएका नागरिकको तथ्यांक राखेर निगरानी बढाएको छ। दुहुँ एक हप्ता पहिले आएका ८४, एक हप्तापछि आएका ३५ र तेस्रो मुलकबाट आएका ४ जना रहेको पालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले जनाकारी दिए। दुहुँमा ३१ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
साढे पाँचसय बेडको क्वारेन्टाइन क्षमता
जिल्लाका नौं पालिकाहरूले हालसम्म साढे पाँच सयभन्दा बढी बेडको क्वारेन्टाइनको व्यवस्था गरेका छन्। सबैभन्दा बढी मार्मा गाउँपालिकाले १ सय ८०, नौगाढले ९९, महाकाली नगरपालिकाले ५४, शैल्यशिखर नगरपालिका, लेकम र दुहुँ गाउँपालिकाले ५०/५०, व्याँस गाउँपालिकाले ३५, अपी हिमाल गाउँपालिकाले २० र मालिकार्जुन गाउँपालिकाले १३ शय्याको क्वारेन्टाइन तयार पारेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।