|

रौतहट : ‘कसैलाई केको धन्दा घरज्वाइँलाई खानकै धन्दा’ भनेझैँ विश्‍व नै कोरोनाको त्रासमा परेका वेला रौतहटका काठ तस्कर भने लकडाउनको मौकामा सक्रिय भएका छन्।

लकडाउनकै अवधिमा डिभिजन वन कार्यालय रौतहटको टोलीले ५० क्युफिटभन्दा बढी काठ र ३ जना काठ तस्करलाई पक्राउ गरेको छ। गत बुधबार डिभिजन वन कार्यालय रौतहटको वन गस्ती टोलीले  काठ काटिरहेको अवस्थामा वलरीखोर वन क्षेत्रबाट २ जनालाई पक्राउ गरेको छ। राति काठ काट्दै गरेको सूचना पाउनासाथ वन गस्ती टोली गएर काठ काटिरहेको अवस्थामा २ तस्करलाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख विनोदकुमार सिंहले जानकारी दिए। एकजना फरार रहेको डिभिजन प्रमुख सिंहले बताए।

यसैगरी, बिहीबार जंगलसहिया वन क्षेत्रबाट ७ थान गोलियासहित एकजना पक्राउ परेका छन्। साढे २२ क्युफिट काठसहित उनलाई पक्राउ गरेको डिभिजन प्रमुख सिंहले जानकारी दिए।

यस्तै, लकडाउनकै मौका पारेर  रङ्गपुर साझेदारी वन क्षेत्रबाट पनि तस्करहरुले काठ चोरेका छन्। चोरेको उक्त १७ क्युफिट काठ चन्द्रपुर नगरपालिका- ७ नयाँ बस्तीबाट साझेदारी वनका पदाधिकारी र वनगस्तीको टोलीले बरामद गरेको छ।

स्थानीय  शिव दायाल सहनीको घरबाट ५ वटा गोलियाको १७ क्युफिट काठ झ्याङमा लुकाएर राखेको अवस्थामा बरामद गरेको सो साझेदारी वनका अध्यक्ष जितेन्द्र चौधरीले जानकारी दिए।

लकडाउनमा वन संरक्षणका लागि २६ जना वनगस्तीलाई खटाइएको अध्यक्ष चौधरीले जानकारी दिए। वर्षिकरूपमा १६ जना वन रक्षक र हाललाई १० जना अग्नि नियन्त्रक गरी २६ जनाले रंगपुर साझेदारी वन क्षेत्रको संरक्षण गरिरहेको अध्यक्ष चौधरीले जानकारी दिए।

यता, डिभिजन वन कार्यालय रौतहटका प्रमुख विनोदकुमार सिंहले लकडाउनको मौकामा काठ तस्करको तस्करी शैली आफूले फेल गरिदिएको बताए। वन रक्षकको टोली, सशस्त्र प्रहरीको टोली र नेपाल प्रहरीको संयुक्त टोलीले कडाइका साथ वन क्षेत्रको निगरानी बढाएको डिभिजन वन प्रमुख सिंहले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.