८ सय ३५ जना मानिस उच्च निगरानीमा

|

पाल्पा : विश्‍वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमण रोकथामको लागि जिल्लामा प्रयास जारी छ। क्‍वारेन्टाइन र आइसोलेसन निर्माण कार्यलाई तीव्र पारिएको छ। साथै स्वास्थ्य सचेतना कार्यक्रम भइरहेका छन्। 

जिल्लाको सदरमुकामसमेत रहेको तानसेन नगरपालिकामा ५० बेडको क्‍वारेन्टाइन निर्माण भएको छ। आवश्कयताअनुसार थप हुने गरी तयारी अवस्थामा रहेको नगरप्रमुख अशोक कुमार शाहीले बताए। 

केही हप्ता पहिले यहाँका क्‍वारेन्टाइनमा भारतबाट फर्किएका २६ जनालाई राखिएको थियो। अहिले उनीहरूलाई आफ्नै गाउँपालिका पठाइएको छ। शाहीका अनुसार नगरभित्र १ सय २३ जना मानिस उच्च निगरानीमा छन्। उनीहरू सबै होम क्‍वारेन्टाइनमा सुरक्षित बसिरहेका छन्। स्थानीय जनप्रतिनिधि र स्वास्थ्यकर्मीले उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका प्रमुख शाहीले बताए। 

स्वास्थ्यकर्मी घरघरमै गएर उनीहरूको स्वास्थ्य परीक्षण गरिरहेका छन्। साथै बाहिरबाट थप आएकाबारे जनप्रतिनिधिले तथ्यांक लिने काम भइरहेको उनले बताए।  
रामपुर नगरपालिकामा ४५ बेडको क्‍वारेन्टाइन स्थापना गरिएको छ। नगरप्रमुख रमण थापाका अनुसार १५ जना क्‍वारेन्टाइनमा छन्। उनीहरू भारतबाट नेपाल आएका हुन्। रामपुर नगरपालिकाभित्र अहिले १ सय ३७ जना मानिस उच्च निगरानीमा छन्। उनीहरू नेपाल लकडाउन भएपछि भारत र तेस्रो मुलुकबाट भित्रिएका हुन्। 

रम्भा गाउँपालिकामा ५० बेडको क्‍वारेन्टाइन निर्माण गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए। वडा नम्बर १ हुँगीमा थप १० बेडको क्‍वारेन्टाइन निर्माण गर्ने काम भइरहेको छ। रम्भामा  ५९ जना मानिस उच्च निगरानीमा छन्। उनीहरू सबै होम क्‍वारेन्टाइनमा बसेका छन्। स्वास्थ्यकर्मी, जनप्रतिनिधि र महिला स्वयंसेविकाले उनीहरूको अवस्थाबारे जानकारी लिइरहेका छन्। 

माथागढी गाउँपालिकामा ४१ बेडको क्‍वारेन्टाइन निर्माण गरिएको छ। माथागढी गाउँपालिकामा ८६ जना मानिस उच्च निगरानीमा छन्। उनीहरूलाई १४ दिनसम्म परिवारका अन्य सदस्यसँग घुलमिल नहुन भन्दै घरमा छुट्टै बस्न भनिएको छ। 

बगनासकाली गाउँपालिकामा २० बेडको क्‍वारेन्टाइन स्थापना भएको छ। यहाँ भारतबाट आएका ११ जनालाई राखिएको थियो। अहिले उनीहरूको अवस्था सामान्य भएपछि होम क्‍वारेन्टाइनमा पठाएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए। विभिन्न बाहिरी मुलुकबाट आएका ८० जना निगरानीमा छन्। 

तिनाउ गाउँपालिकामा १० बेडको क्‍वारेन्टाइन निर्माण गरिएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताए। तिनाउमा कसैलाई पनि क्‍वारेन्टाइनमा राखिएको छैन। ४५ जना उच्च निगरानीमा छन्। 

रिब्दीकोट गाउँपालिकामा ६५ बेडको क्‍वारेन्टाइन निर्माण गरिएको छ। प्रत्येक वडामा ५ बेडका क्वारण्टाइन निर्माण गरिएको गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले बताए। अहिले २ जना क्‍वारेन्टाइनमा छन्। १ सय ४५ जना उच्च निगारानीमा छन्। उनीहरू होम क्‍वारेन्टाइनमा छन्।

रैनादेवी छहरा गाउँपालिकामा २१ बेडको क्‍वारेन्टाइन निर्माण गरिएको छ। अहिले ७ जना क्‍वारेन्टाइनमा बसिरहेका छन्। १ सय २३ जना होम क्‍वारेन्टाइनमा बसेको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए। यो गाउँपालिकामा घर भएका १५ जना मानिस अहिले पनि सुनौली नाकामा अलपत्र परिरहेको समेत अध्यक्ष कार्कीले बताए। 

निस्दी गाउँपालिका १२ वटा क्‍वारेन्टाइन स्थापना भएका छन्। वडा वडामा होम क्‍वारेन्टाइन निर्माण गर्ने काम भइरहेको गाउँपालिका उपाध्यक्ष रीता कुमारी खनालले बताइन्। यहाँ १ सय ५ बेडको क्‍वारेन्टाइन निर्माण हुँदै छ। यहाँका ३० जना मानिस उच्च निगरानीमा छन्। सबैजना होम क्‍वारेन्टाइनमा छन्। 

२५ बेडको आइसोलेसन तयार

पाल्पामा विभिन्न अस्पतालमा २५ बेडको आइसोलेसन निर्माण गरिएको छ। उनका अनुसार पाल्पा अस्पतालमा १० वटा, युनाइटेड मिसन अस्पताल ३ वटा, लुम्बिनी मेडिकल कलेजमा १० र रामपुर अस्पतालमा २ वटा आइसोलेसन स्थापना गरिएको प्रमुख न्यौपानेले बताए। 

जिल्लामा अहिलेसम्म कसैलाई पनि आइसोलेसनमा राखेर उपचार गरिएको छैन। लुम्बिनी मेडिकल कलेजले कोरोना संक्रमितको लागि आवश्यकताअनुसार उपचार गर्नको लागि भन्दै ९ बेडको भेन्टिलेटर समेत तयारी अवस्थामा राखेको अस्पतालका कार्यकारी अध्यक्ष गोपाल बहादुर पोखरेलले बताए।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.