|

कञ्चनपुर : भारतबाट फर्केका पाँच जनालाई शुक्लाफाँटा नगरपालिकाकाले शुक्रबार बिहान क्वारेन्टाइनमा राखेको छ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि भारतका विभिन्न ठाउँबाट घर फर्केका पाँच जनालाई नगरपालिकाले कृष्ण बैजनाथ बहुमुखी क्याम्पस भवनमा बनाइएको क्वारेन्टाइनमा राखेको हो।

स्वाथ्य चेकजाँच गरेर भारतबाट फर्केकालाई क्वारेन्टाइनमा राखेका छौं नगर प्रमुख दिलबहादुर ऐरले भने, ‘सबै जनाको स्वास्थ्य अबस्था सामान्य रहेको छ। पाँचै जनालाई १४ दिन क्वारेन्टाइनमा राख्ने गरी व्यवस्था मिलाइएको छ।’ भारतबाट फर्केका अन्य व्यक्तिलाई क्वारेन्टाइन गरिने उनले बताए। क्वारेन्टाइनमा खाना, सुरक्षा, औषधि र स्वास्थ्यकर्मीको भरपर्दो व्यवस्था गरिएको उनको भनाई रहेको छ। 

सवारी पासको व्यवस्था  

नगरपालिकाको कोरोना भाइरस रोग नियन्त्रण पूर्व तयारी प्रतिकार्य नगर समन्वय समितिले आवश्यक सेवा ऐन अनुसार नगरपालिका क्षेत्रभित्र सञ्चालन हुने गरी सवारी साधन पासको व्यवस्था समेत गरेको छ।

कृषि कार्यमा प्रयुक्त हुने ट्रयाक्टर, औषधि, दूध, तरकारी, दैनिक उपभोग्य वस्तु, पशुपन्छीको दान ढुवानी गर्ने साधनलाई पासको व्यवस्था गरिएको नगर प्रमुख ऐरले बताए। सवारी पास लिनका लागि विहान आठ बजेको समय निर्धारित गरिएको छ। पास उपलव्ध गराउनका लागि नगरपालिकाका दुईजना कर्मचारीलाई नियुक्त गरिएको छ। 

निजी क्लिनिक र अस्पतालले सेवा दिनुपर्ने 

शुक्लाफाँटा नगरपालिकाभित्र रहेका निजी क्लिनिक र अस्पतालले अनिवार्य रुपमा स्वास्थ्य सेवा दिनु पर्ने नियम बनाइएको छ। विशेष गरी ज्वरो, स्वासप्रश्वास र रुघाखोकी लागेका विरामीलाई अनिवार्य रुपमा स्वास्थ्य सेवा दिनुपर्ने कोरोना भाइरस रोग नियन्त्रण पूर्व तयारी प्रतिकार्य नगर समन्वय समितिले निर्णय गरेको छ।

समितिका संयोजक एवं नगर प्रमुख ऐरले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी गाइडलाइनमा रहेर निजी क्लिनिक र निजी अस्पतालले सेवा दिनुपर्ने नियम बनाई कार्यान्वयनमा ल्याइएको बताए। 

घुम्ती पसल सञ्चालन गर्ने 

कोरोना भाइरस रोग नियन्त्रण पूर्व तयारी प्रतिकार्य नगर समन्वय समितिले नगर क्षेत्र भित्रका बासिन्दाको घर दैलोमा उपभोग्य वस्तु पुर्‍याउनका लागि स्वास्थ्य मापदण्ड अपनाई घुम्ती पसल सञ्चालन गर्ने निर्णय गरेको छ। खाना पकाउने एलपी ग्याँस, तरकारी, फलफूल, दैनिक उपभोग्य वस्तु नगरबासीको घर दैलोमा पुर्‍याउनका लागि घुम्ती पसल सञ्चालन गरिने नगर प्रमुख ऐरले बताए।

सुरक्षाको प्रवन्ध स्थानीय सुरक्षा निकायले मिलाउने गरी व्यवस्था गरिएको छ। घुम्ती पसल प्रभावकारी रुपमा सञ्चालन भए नभएको सूक्ष्म ढंगले अनुगमन गर्नका लागि नगर प्रमुखको संयोजकत्वमा नौ सदस्यीय निर्देशक समिति समेत गठन गरिएको छ।

निर्देशक समितिले अनुगमन सँगै कोरोना भाइरस रोकथामका लागि आवश्यक पर्ने संसाधनको व्यवस्था, स्वास्थ्य जनशक्ति व्यवस्थापनका लागि संघीय र प्रदेश सरकारसँग समन्वयको कार्यसमेत गर्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.