|

बागलुङ : प्रादेशिक स्वास्थ्य निर्देशनालयले दोस्रो पटक पठाएको भेन्टिलेटर बिहिबार साँझ धौलागिरी अञ्चल अस्पताल बागलुङमा आइपुगेका छ। अघिल्लो साता पठाइएको भेन्टिलेटरमा सामान अपुरो रहेको भन्दै अस्पतालले बुझ्न अस्विकार गरेको थियो।

पूर्ण सामग्री नरहेको भन्दै अस्पतालले बुझ्न इन्कार गरेपछि निर्देशनालयले दोस्रो पटक भेन्टिलेटर पठाएको हो। यसअघि पठाइएको भेन्टिलेटर अस्पतालले अलग्गै राखेको छ।

‘स्वासप्रस्वासको समस्या रहेका बिरामीका लागि भेन्टिलेटर अत्यावश्यक हुन्छ, जुन हामीले पाएका छौं,’ अस्पतालका डा. प्रदीप श्रेष्ठले भने, ‘तर आइसियु छैन, मुटु र मृगौलामा समस्या आए कसरी समाधान गर्नु!’ कोरोनाका बिरामीको उपचार गरिरहेको अस्पताललाई भेन्टिलेटर आवश्यक थियो।

आपतकालिन अवस्थामा बिरामीलाई सघाउन भेन्टिलेटर मेसिनले सहयोग गर्ने श्रेष्ठले बताए। अस्पतालमा अहिले कोरोना संक्रमण पुष्टि भएका दुईजना बिरामीको उपचार भैरहेको छ। यदि उनीहरुमा गम्भीर खालको संकेत देखा परे सघन उपचारकक्षको आवश्यकता हुने डा. श्रेष्ठ बताउँछन्।

अस्पतालमा सघन उपचार कक्ष (आईसियु) सञ्चालनका लागि पहल भैरहेको छ। ‘केन्द्र सरकारले एक करोड बजेट पठाएको छ भन्ने सुनेको छु, त्यो प्रदेशबाट यता आएको छैन्,’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवि रानाले भने, ‘हामी हाम्रो क्षमताले भेट्ने पूर्वाधार बनाउने तयारीमा लागेका छौं, सरकारले सहयोग गरे भेन्टिलेटर मात्रै होइन आइसीयू पनि चलाउँछौं।’

तत्काल आइसीयू सञ्चालनका लागि अस्पतालसँग जनशक्तिको भने अभाव छ। ‘आईसियू प्रयोगमा ल्याउन तालिम प्राप्त नर्सको आवश्यकता हुन्छ,’ श्रेष्ठ भन्छन् , ‘हामीसँग त्यो खालको जनशक्ति छैन।’ भेन्टिलेटरले मात्रै थेग्न नसक्ने अवस्था आएमा बिरामीलाई पोखरा पठाउनुको विकल्प नरहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.