आँसु झार्दै तेन्दुलकरले स्टेडियम परिक्रमा गरे

|

२ अप्रिल २०११ वान्खेडे रंगशाला। एसियाली प्रतिद्वन्द्वी भारत र श्रीलंका विश्‍वकप क्रिकेटको उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका थिए। माहेला जयवर्दनेको अविजित १०३ रनको मद्दतमा ६ विकेट गुमाउँदै २७४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो श्रीलंकाले।

जवाफी व्याटिङमा उत्रिएको भारतका लागि स्ट्राइकमा थिए कप्तान महेन्द्र सिंह धोनी र उनलाई ननस्ट्राइकमा साथ दिइरहेका थिए युवराज सिंहले। जब भारतलाई जितका लागि ११ बलमा ४ रनको आवश्यकता थियो। नवान कुलसेशराले ४९ औ ओभरको दोश्रो बलमा बल फाले, त्यसलाई धोनीले लामो छक्का प्रहार गर्दै सुख अन्त्य गरिदिए।

धोनीको छक्कासँगै २८ वर्षको प्रतिक्षापछि भारतले दोश्रो विश्‍वकप उपाधि जित्यो। त्यो दिन लगातार दोश्रो पटक फाइनल खेलिरहेको श्रीलंकालाई हराउनु भारतका लागि गर्वको क्षण पनि थियो। २५ जुन १९८३ मा कपिल देवको नेतृत्वमा उपाधिपछिको २८ वर्षसम्म भारत खाली हात थियो। कपिलपछि भारत २००३ मा फाइनल पुगे पनि अष्ट्रेलियासँग १२५ रनले हार्दै दोश्रो उपाधि भित्र्याउन चुकेको थियो।

सन् २०११ मा लगातार ३ संस्करण विजेता अष्ट्रेलियमाथि क्‍वार्टरफाइनलमा सानदार जित निकालेपछि फाइनलसम्म पुग्ने हिम्मत बटुलेको थियो भारतीय टोलीले।  संयोगवश घरेलु मैदान वान्खेडे स्टेडियममा भारत भाग्यमानी सावित बन्यो।

भारतले दोश्रो पटक विश्‍वकप ट्रफी आफनो पक्षमा पार्न सफल हुँदा केही ऐतिहासिक रेकर्ड पनि बने। पहिलो संयोग वेस्टइन्डिज र अष्ट्रेलियापछि दुई वा बढी पटक उपाधि जित्‍न सफल टोली। अर्को संयोग घरेलु मैदानमा उपाधि जित्ने पहिलो टोली बन्‍ने सौभाग्य। त्यसअघि १९७९ मा इङल्यान्ड घरेलु भूमिमा फाइनल पुगे पनि उपाधि जित्न सकेको थिएन्।

विश्‍वकपको इतिहासमा फाइनलमा लक्ष्य पछ्याएर जित निकाल्ने भारत तेश्रो राष्ट्र बनेको थियो। यसभन्दा अघि दुई पटक मात्र लक्ष्य पछ्याउँदै कुनै पनि राष्ट्रले विश्‍वकप आफ्नो अधिनमा राखेका थिए। १९९६ मा श्रीलंकाले अष्ट्रेलिया र १९९९ मा अष्ट्रेलियाले पाकिस्तानलाई विकेटले हराउँदै उपाधि आफनो पक्षमा पारेका थिए।

शतक बनाएर हारेको पहिलो फाइनल

माहेला जयवर्दनेले १०३ रनको योगदान दिएपछि ६ विकेटको क्षतिमा श्रीलंकाले २७४ रनको लक्ष्य पेश गरेको थियो। यदपि उपाधि जित्‍न सकेन।  यसअघि पहिला व्याटिङ गरेका टोलीका खेलाडी शतक प्रहार गरेर ५ वटा विश्‍वकपमा उपाधि जिताएका थिए। जसमा वेस्ट इन्डिजमा क्लिभ लोयड र भिभ रिचार्डसन, अष्ट्रेलियाका कप्तान रिकि पोन्टिङ र एडम गिलक्रिस्ट तथा श्रीलंकाका अरविन्द डि शिल्भा थिए।

यस्तो थियो फाइनल खेल

समुह चरणमा ६ खेलमा ४ जित निकालेर क्वाटरफाइनल प्रवेश गरेको भारतले डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियामाथी ५ विकेटको जित निकाल्दै सेमीफाइनल प्रवेश गरेको थियो। सेमीफाइनलमा चिरप्रतिद्वन्द्वी पाकिस्तानमाथि जित निकाल्दै भारतले श्रीलंकासँग उपाधि भेट पक्का गर्‍यो। यता समुह चरणको ४ खेलमा जित निकाल्दै क्‍वार्टरफाइनल पुगेको श्रीलंका सेमीफाइनलमा इङल्यान्डमाथि १० विकेटको जित दर्ता गरेको थियो।

सेमीफाइनलमा श्रीलंकासामू न्युजील्यान्ड ५ विकेटले पराजित बन्यो। फाइनलमा श्रीलंकाले टस जितेर व्याटिङ रोजेको थियो। महेला जयवर्धनेको शतकको मद्दतमा २७४ रन बनाएको थियो। उसका लागि उपुर थारंगा र चामारा कपुडुगेरा बाहेक अरु खेलाडीले व्यक्तिगत सम्मानजनक स्कोर गरेका थिए। बलिङतर्फ भारतका युवराज सिंह र जाहिर खानले २/२ विकेट लिँदा हरभजन सिंहको नाममा १ विकेट थियो।

दोश्रो पारिमा व्याटिङ गरेको भारतको सुरुवात सुखद हुन सकेन्। ३१ रनका पुग्दा भारतका सचिन तेन्दुलकर र वीरेन्द्र सहवागको विकेट लसिथ मालिङ्गाले लिएका थिए। ४९ बलमा ३५ रन बनाएर विराट कोहलीलाई तिलकरत्ने दिलसानल क्याच एन्ड बोल्ड गरेपछि भारत ११४ रनको अवस्थामा थियो। मैदानको बिच भागमा ओपनर गौतम गम्भीर थिए। मैदान प्रवेश गर्ने पालो युवराज सिंहको थियो।

तर मैदानमा प्रवेश गरे कप्तान महेन्द्र सिंह धोनी। फ्ल्ड लाइटकाबीचमा ७ नम्बर जर्सीमा धोनी प्रवेश गरेपछि उपस्थित सबै दर्शक आश्चर्यमा परेका थिए। गम्भीरसँग कप्तानी पारी सम्हाल्दै १०९ रनको साझेदारी गरे।

गम्भीर ९७ रनमा आउट भएपछि पारी सम्हाल्न युवराज सिंहले धोनीलाई साथ दिँदै ५४ रनको साझेदारी गरे। जितका लागि धोनीले हानेको छक्का अझै पनि भारतको खेलकुद इतिहासमा सवैभन्दा रोमाञ्चक क्षणको रुपमा हेरिन्छ।

७९ बल खेलको धोनीले नटआउट ९१ रन बनाए।  धोनीले विष्फोटक ब्याटिङ्ग गर्दै ४ रन आवश्यक रहेको अवस्थामा वान्खेडेमा लामो छक्का प्रहार गर्दै विश्‍वकप जित्ने भारतको दोश्रो कप्तान समेत बने। निर्धारित ५० ओभरमा १० बल र ६ विकेट बाँकी रहदै भारतले उपाधि जित्यो। यस खेलको म्यान अफ दि म्याच पनि बने धोनी।

तेन्दुलकरको उपाधि  प्रतीक्षाको घडी

म्याच जित्ने सट प्रहार हुनेवित्तिकै तेन्दुलकर हर्षले गदगद भए र उनले आफनो सपना पूरा भएको देखेर आँसु नै झारे। यस लगतै भारतीय टिमका सम्पूर्णले मास्टर व्लास्टर उपमा पाएका तेन्दुलकरलाई काँधमा राखेर वान्खेडेको परिक्रमा लगाए।

युवराजले आफूले पाएको सर्वाेत्कृट खेलाडीको उपाधिभन्दा सचिनको सपना पूरा गर्न सकेकोमा खुशी लागेको अभिब्यक्ति नै दिएका थिए। २०११ को उपाधि जित्नुअघि तेन्दुलकरले १९९२ देखि ५ वटा विश्‍वकप खेलेका थिए।

तर एक पटक फाइनल र एक पटक सेमीफाइनल पुग्नुबाहेक अरु ३ वटा विश्‍वकपमा क्‍वार्टरफाइनलमा नै टुङ्गिएको थियो। उपाधिपछि सचिनले भने, ‘सानो छँदा मैले यो ट्रफी जित्ने सपना देखे जहाँबाट यो सबै सुरु भयो। यो अहिलेसम्मको सबैभन्दा राम्रो क्षण हो। यो नै म २४ वर्षबाट पर्खिरहेको छु। विगतका अभियानहरूमा हामी सेमीफाइनल र फाइनलमा हार्‍यौं। मैले कहिल्यै हार मानिन किनकि यो मेरो सपना थियो। अब टोलीले राष्ट्रको लागि यो कप जित्न सफल भएको छ।’

शव्दले वर्णन गर्न नसकिने त्यो क्षण

पूर्वअलराउन्डर युवराज सिंह त्यो जितको क्षण अविश्मरणीय रहेको बताउँछन्। उपाधि जितेको ९ वर्ष पुगेको अवसरमा ट्‍विट गर्दै उनले भने ‘ शब्दले कहिले पनि वर्णन गर्न सक्दैन कि यो प्रत्येक भारतीयको लागि कस्तो क्षण हो जुन हामी हिँड्न चाहन्छौ जय हिन्द।’ ३६२ रन र १५ विकेट लिएका उनी प्रतियोगिताको प्लेयर अफ दि म्याच घोषित भए।

रवि शास्त्रीले आफु र धोनीलाई बेवास्ता गरेको आरोप

‘धोनी स्टाइलमा समाप्त भए,’ केमेन्ट्री बक्सबाट रवि शास्त्रीले भनेका शब्दहरु अझै पनि लाखौँ भारतीयको कानमा गुन्जिरहेको छ। जब दर्शकहरुले भरिएको वान्खेडे रंगशालामा श्रीलंकाविरुद्ध धोनीले उपाधि दिलाउने छक्का हानेका थिए।

विहीबार २ अप्रिलमा टिम इन्डियाले विश्‍वकप जितको ९ औ वार्षिकोत्सव मनाउँदा बधाई सन्देश प्राप्त गरेका थिए। क्रिकेटर र प्रशंसकहरुबीच टिम इन्डियाका कोच शास्त्रीले पनि ट्विटमा बधाई सन्देश पठाएका थिए।  

शास्त्रीले सचिन तेन्दुलकर र विराट कोहलीको ट्विटर हयान्डलको उल्लेख गर्दै धोनीको उपाधि जित्ने छक्काको भिडियो पोष्ट गरे र लेखे। ‘धेरै धेरै बधाई छ साथीहरु। तपाईंहरुको जीवन मायालु हुनेछ, जस्तो हामी १९८३ को समूहको।’

ब्याट र बलको शानदार प्रर्दशनका लागि प्लेयर अफ दि सिरिज पाएका युवराजले ट्विटरमा शास्त्रीले उनी र धोनीलाई बेवास्ता गरेकोमा राम्रै जवाफ दिए। ‘सिनियर तपाईंले  मलाई र माहीलाई ट्याग गर्न सक्नुहुन्छ, हामी पनि यसमा सहभागी थियौँ।’ ट्विटको जवाफ मा युवराजले लेखे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.