युद्धस्तरमा रोकथाम नगरे हजारौंको ज्यान जाने चेतावनी

|

मुम्बईमा रहेको एसियाकै सबैभन्दा ठूलो धारभी झोपडपट्टी (स्लम) मा कोरोना संक्रमण फैलिएको छ। दुई संक्रमितले ज्यान गुमाएका छन्‌। 

धारावी झोपडपट्टीमा झण्डै १० लाख मानिसहरुको बसोबास रहेको छ। यो झोपडपट्टीको जनघनत्व अमेरिकाको न्युयोर्क शहरभन्दा झन्डै ३० गुणा बढी छ। धारावी झोपडपट्टी फैलिएको क्षेत्रको हरेक एक वर्गकिलोमिटरमा दुई लाख ८० हजार मानिसहरु बसोबास गर्छन्।

निम्न आय भएका हजारौं मानिसहरु अव्यवस्थित रुपमा बस्ने गरेको झोपडपट्टीमै कोरोना संक्रमितको ज्यान गएपछि चिकित्सकहरुले भारत सरकारलाई तत्काल युद्धस्तरमा यसको रोकथाम गर्न आग्रह गरेका छन्। त्यहाँको सरसफाई र स्वास्थ्यअवस्था सुधार नगरे युरोप र अमेरिकामा झैं क्षति ब्यहोर्नुपर्ने उनीहरुले चेतावनी दिएका छन्। 

मुम्बईमा रहेको धारभी झोपडपट्टी दक्षिण एसियामै सबैभन्दा धेरै शहरी गरीबहरु बस्ने स्थान हो। भारतको आर्थिक राजधानी मुम्बईमै गरीबहरुको यस्तो झोपडपट्टी विस्तार हुँदा भारत अन्तर्राष्ट्रियस्तरमै आलोचित हुँदै आएको छ।

कोरोना संक्रमण पुष्टि भएको केही घन्टाभित्रै ती मानिसको मृत्यु भएको र निज अन्यत्र स्थानमा आवतजावत गरेको यात्रा विवरण समेत नभएको चिकित्सकहरुले जानकारी दिएका छन्। स्वास्थ्य समस्या बढ्दै गएपछि उनलाई स्थानीय अस्पताल पुर्‍याइएको सीएनएनले उल्लेख गरेको छ। 

मृतकको परिवारका केही सदस्यहरुको स्वास्थ्यजाँच गरी होम क्वारेन्टाइनमा राखिएको छ। संक्रमणका कारण ज्यान गुमाएका व्यक्तिको झुप्रो वरिपरि रहेका ३०० वटा घर एवम् पसलहरुलाई शील गरिएको छ। गत बिहीबार पनि यही झोपडपट्टीका ५२ वर्षीय एक पसलेमा कोरोना संक्रमण भेटिएको थियो।

संक्रमण नियन्त्रण र रोकथाम नगरे भयावह र व्यवस्थापन नै गर्न नसकिने स्थिति निम्तिने चिकित्सकहरुले बताएका छन्। मानिसहरुको निकै बाक्लो बसोबास रहेकाले धारावीमा कोरोना संक्रमण फैलावट दर कल्पनाभन्दा पनि बाहिर रहेको हुनसक्ने आंकलन गरिएको छ।

यो झोपडपट्टीमा खचाखच बसेका मानिसहरुमा भौतिक दुरी कायम गर्नु असम्भवजस्तै छ। यहाँ स्वास्थ्यसेवा र सरसफाईको अवस्था निकै दयनीय छ। अहिले विश्वव्यापी कायम गर्न भनिएको भौतिक दुरी घरभित्र पर्याप्त स्थान भएका मध्यमवर्गका लागि मात्रै अनुकुल देखिन्छ। 

भारतको नयाँ दिल्लीस्थित मेदान्ता अस्पतालका व्यवस्थापकीय निर्देशक डा. नरेश तेह्रानले जतिसक्दो चाँडो संक्रमण रोक्न र यो फैलनुको कारण पत्ता लगाउनुपर्ने बताएका छन्। उनले भने, 'कुनै एक झोपडपट्टीमा संक्रमण फैलिएपछि त्यहाँ लकडाउन गर्नुपर्छ, त्यहाँ आश्रित मानिसहरुलाई खानपानको प्रबन्ध गर्नुपर्छ र आगामी दुई सातासम्मका लागि एकान्तवासमा राख्नुपर्छ, यो नै अबको उपाय हो।'

पछिल्लो चार दिनभित्रै भारतमा कोरोना संक्रमितको संख्या दोब्बर भएको छ। यसबीचमा आयोजित धार्मिक समारोहहरुका कारण नयाँ दिल्लीमा निकै धेरै मानिसहरुमा संक्रमण फैलिएको अनुमान गरिएको छ। 

शुक्रबार मात्रै भारतमा २३० जनाभन्दा बढीमा कोरोना संक्रमण भएको खुलेको छ। अहिलेसम्म भारतमा ८६ जना संक्रमितको ज्यान गएको छ भने तीन हजार ८२ जनामा संक्रमण भेटिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.