|

भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या शनिबारसम्म ६८ पुगेको छ। अघिल्लो दिनसम्म ५६ रहेकोमा एकैदिनमा १२ जनाको मृत्यु भएर कुल मृतकको संख्यामा बृद्धि भएको हो। 

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कुल संक्रमितको संख्या भने बढेर दुई हजार ९०२ पुगेको जनाएको छ। संक्रमितको संख्यामा पनि पछिल्लो २४ घण्टामा ६०० भन्दा बढी बृद्धि भएको मन्त्रालयको तथ्यांकले देखाएको छ। 

मन्त्रालयका अधिकारीहरूका अनुसार अहिले संक्रमित अवस्थामै रहेकाहरूको संख्या भने दुई हजार ६५० रहेको छ। पछिल्लो समयमा मृत्यु भएकामध्ये तीन जना महाराष्ट्र राज्यका, दुई जना दिल्ली र एक जना गुजरात राज्यका रहेका छन्। 

अहिलेसम्मको विवरणबाट सवैभन्दा धेरै मृत्यु हुनेको संख्या महाराष्ट्रमा रहेको देखिएको छ। महाराष्ट्रमा अहिलेसम्म १९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यसपछि धेरै गुजरातमा नौ जनाको मृत्यु भएको छ भने तेलङ्गनामा सात जनाको मृत्यु भएको विवरण छ। त्यसैगरी मध्य प्रदेश र दिल्ली प्रदेशमा छ/छ जना, पन्जावमा पाँच, कर्नाटक र पश्चिम बङ्गालमा तीन/तीन जना र जम्मु तथा काश्मिर, उत्तर प्रदेश र केरलामा दुई/दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार आन्द्र प्रदेश, तमिलनाडु, बिहार र हिमाञ्चल प्रदेशमा कोरोना भाइरसका कारण एक/एक जनाको मृत्यु भएको छ। कुल संक्रमित दुई हजार ९०२ जना मध्ये ५५ जना विदेशी रहेका छन्। संक्रमितको संख्या पनि सबैभन्दा धेरै महाराष्ट्रमै देखिएको छ।

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार महाराष्ट्रमा ४२३ जना संक्रमित भएका छन्। दोस्रो धेरै संक्रमित तमिलनाडुमा रहेका छन्, जहाँ ४११ जना संक्रमित भेटिएका छन्। त्यसैगरी दिल्लीमा ३८६ जना, केरलामा २९५ जना, राजस्थानमा १७९ जना र उत्तर प्रदेशमा १७४ जना संक्रमित भेटिएका छन्। अन्य प्रदेशमा पनि संक्रमितहरु रहेका भए पनि अहिलेसम्म त्यहाँको संक्रमित संख्या न्यून रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.