|

काठमाडौं : विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण युरोपमा रहेका नेपालीहरु उच्च जोखिममा परेका छन्। चीनको उहान शहरबाट शुरु भएको कोरोनाको सङ्क्रमण पछिल्लो समय युरोप र अमेरिकामा तीव्ररूपमा फैलिरहेको छ।

इटाली, स्पेन, फ्रान्स, बेलायत, पोर्चुगललगायत युरोपेली मुलुकहरुमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै त्यहाँ रहेका नेपालीहरु उच्च जोखिममा परेका हुन्। कोरोनाका कारण युरोपमा मानवीय क्षति बढ्दै गएपछि त्यहाँ रहेका गैरआवासीय नेपालीमा थप संकट निम्तिन सक्ने खतरा बढेको छ।

कोरोनाको महामारीका कारण युरोपमा रहेका धेरै नेपाली रोजगारविहीन भएका छन् भने दैनिकीसमेत कष्टकर बन्दै गएको छ। कोरोना सङ्क्रमणका कारण युरोपमा मात्रै ४० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। लाखौँ मानिस प्रभावित भएका छन्। यसको महामारीबाट विश्वमै सबैभन्दा बढी मानवीय क्षति युरोपमा भएको छ।

इटालीमा कोरोनाको सङ्क्रमण र मृत्युदर भयावह देखिए पनि त्यहाँ रहेका नेपालीहरू भने सुरक्षित नै रहेको गैरआवासीय नेपाली संघका इटालीका अध्यक्ष देव गुरुङले जानकारी दिए। गुरुङका अनुसार इटालीमा १५ सयको हाराहारीमा नेपालीको बसोबास रहेको अनुमान छ।

गैरआवासीय नेपाली संघका युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले कोरोनाका कारण सिंगो युरोप नै संकटमा गुज्रिरहेकाले नेपालीहरु पनि उच्च जोखिममा रहेको बताए। आचार्यका अनुसार कोरोनाबाट आइपर्न सक्ने सम्भावित संकटलार्ई मध्यनजर गरेर युरोपमा रहेका नेपालीहरुको राहत र उद्धारका लागि ५० हजार युरो बराबरको आपतकालीन कोष स्थापना गर्ने निर्णय भएको आचार्यले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.