|

तनहुँ : यहाँका किसानलाई यतिबेला चैते धान रोप्नको धमाधम छ। यतिबेला तनहुँको चुँदी, कलेस्ती, साँगे, पुर्कोट, म्याग्देलगायत क्षेत्रमा धान रोपाइँ भइरहेको छ।

सरकारले मुलुक लकडाउन गरेको १३ दिन पुगेको छ। सहरी क्षेत्रका एक हप्तादेखि घरभित्रै थुनिएका नागरिक अझै चैत २५ गतेसम्म घरबाहिर निस्कन पाउने छैनन्। सहरमा बस्ने नागरिक त झनै कडाइका साथ घरभित्रै रहनुपर्ने भएको छ। तर गाउँका आमनागरिकलाई भने अहिले रोपाइँलगायत खेतबारीमा अन्न रोप्ने चटारोमा छन्।

मुलुकभर लकडाउन गरेको सहरी क्षेत्रका नागरिकका लागि मात्रै नभएर यो नियम गाउँलेलाई पनि हो। तर, गाउँमा भने दैनिकी पहिले महत्वपूर्ण हुन्छ। गाउँमा कोरोनाको त्रास भए पनि खेतबारी जोत्नेदेखि गाईवस्तुको गोठाला जाने कामलाई नियमितता दिनैपर्छ। शहर र विदेशबाट घर फर्किएका आफ्नै भाइछोराबाट गाउँमा कोरोना भाइरस भित्रिने पो होकि  भन्ने गाउँवासीलाई चिन्ता छ।

घरभित्र बसेर मात्रै चल्दैन

तनहुँको म्याग्दे गाउँपालिका - १ दभुङका किसान देउनारायण श्रेष्ठ भन्छन्, ‘सहरमा झैँ घरभित्र बसेर हामीलाई पुग्दैन, चैते धान रोप्न ढिला भइसक्यो', उनले थपे, 'यतिबेलामा छोराछोरी, बुहारीहरु समेत घरमै रहेकाले काम गर्न सजिलो छ।'

त्यस्तै, व्यास नगरपालिका-५ साँगेका किसान विनोदकुमार श्रेष्ठ पनि खेतको काम नसिध्याई बस्‍न नसकिने बताउँछन्। 'खेतीपाती नलगाए खान पाइँदैन, पछि भोकमरी लाग्न सक्छ, समयको ख्याल पनि गर्नैपर्‍यो’ उनले भने। छोराछोरी र बुहारी आएकाले सहज भएको श्रेष्ठले बताए।

त्यसैगरी, व्यास-५ अलैँचीका विष्णु थापा बारीमा मकै रोप्नमा व्यस्त छन्। लकडाउनमा सहरीयालाई समय व्यतित गर्न गाह्रो भएको बेलामा किसानलाई खेतबारीको कामले सहज भएको थापा बताउँछन्। ‘अन्य व्यक्तिसँग भेटघाटभन्दा खेतबारीमा व्यस्त हुने र खेतबारीबाट आफ्नै लागि खाद्यान्न आउने हुँदा सुरक्षित पनि बनाउँछ,’ थापाले भने।

त्यस्तै, व्यास–११ का किसान नरसिंह दरैले सिजनमा उत्पादन नगरे भोकमरी लाग्‍ने बताए। ‘शहरियाका लागि पनि उत्पादन गर्ने किसानले नै हो, किसान कसरी चुपचाप बस्न सक्नु?,’ दरैले भने, ‘मान्छे घरमा बसे पनि मन खेतमा जान्छ।’ चिन्ताले सताएपछि खेतमा रोपाइँ थालिएको उनले बताए।

स्वास्थ्यकर्मी, प्रहरी, प्रशासन, जनप्रतिनिधिलगायत गाउँमै पुगेर कोरोनाविरुद्ध जनचेतनाका कार्यक्रम गर्छन्।

मोटरबाटो बन्द

जिल्लाका कतिपय गाउँलेले भने कोरोनाबाट बच्न सुरक्षा अपनाउँदै सिंगो गाउँलाई नै लकडाउन गरेका छन्। गाउँ आउने मोटरबाटो बन्द गरी लकडाउन गरिए पनि खेतीबारीको काम भने परिवारका सदस्यले मात्र गर्न थालेका छन्। गाउँघरमा पनि विस्तारै सचेतना फैलिँदै गएको पाइएको छ। मान्छेको आउजाउ हुने भएकोले यो बेला अर्मपर्म पनि रोकेको रोक लगाइएको उनीहरु बताउँछन्।

साढे ५१ हजार हेक्टर जमिन खेतीयोग्य

तनहुँको ५१ हजार ५५० हेक्टर क्षेत्रफल जमिन खेतीयोग्य भए पनि ६ हजार ३४७ हेक्टर क्षेत्रफलमा बाह्रैमास सिँचाइ हुने गरेको छ।१३ हजार ५८० हेक्टर जमिन सिँचाइको सुविधा रहेको छ भने सात हजार २३३ हेक्टर जमिनमा बेमौसमी सिँचाइ हुने भएकाले आकाशे पानीको भरमा पनि धान खेती हुने गरेको छ।

लकडाउन उल्लंघन गर्नेलाई जरिवाना

जिल्लाका दुई स्थानीय तहले लकडाउनको उल्लंघन गर्नेलाई नगदसहित जरिवानासमेत गर्ने निर्णय गरेको छ। जरिवानाको निर्णयले नगरवासी सुरक्षित हुनुका साथै लकडाउनको समेत पालना हुने नगरपालिकाले जनाएको छ।

भानु नगरपालिकाले लकडाउनको अवज्ञा गर्दै चौतारीमा बसेर गफिनेलाई एकहजार रुपैयाँ,  चिया पसल र रक्सी पसल खोल्नेलाई दुई हजार रुपैयाँ, क्यारेमबोर्ड खेल्ने र खेलाउनेलाई  तीनहजार रुपैयाँ, जुवातास खेल्नेलाई पाँच हजार र खेलाउनेलाई १० हजार रुपैयाँ जरिवाना तोकेको सूचना अधिकारी सुनिल पाण्डेले जानकारी दिए।

त्यस्तै, बन्दीपुर गाउँपालिकाले जुवातास खेल्ने र खेलाउनेलाई १० हजार, भलिबल, फुटबल र ब्याडमिन्टन खेल्नेलाई ५ हजार, अनावश्यक काममा घरबाहिर निस्कनेलाई  एक हजार रुपैयाँ जरिवाना गर्ने गाउँपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.