'सरकारी 'अजासु'लाई बेकारको खुराक मिल्यो'

|

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले मध्यावधि निर्वाचन हुनुपर्ने बताएपछि चर्को आलोचना भइरहेको छ। धेरै त्यसलाई कांग्रेसकै आधिकारिक धारणा मानेर आलोचना गरिरहेका छन्। 

कोरोना भाइरसले निम्त्याएको राष्ट्रिय संकटमा पनि कांग्रेसलाई सत्ताकै सुर भन्दै विरोध भइरहेका बेला दुईजना नेताले भने मध्यावधि निर्वाचनलाई कुबेलाको बाजाको संज्ञा दिएका छन्। 

कांग्रेसका नेता शेखर कोइरालाले यो बेला पार्टी राजनीतिभन्दा माथि उठ्नु आवश्यक रहेको बताएका छन्।  उनले सरकारका राम्रा काममा सहयोग र नराम्रा कामको आलोचना जरूरी रहेको उल्लेख गरेका छन्।

'यतिबेला नेपाल कोरोना भाइरसका कारण आक्रान्त र असुरक्षित छ। राष्ट्रिय संकट समाधान गर्न सरकारका राम्रा काममा सहयोग, नराम्रा कार्यमा आलोचना र जनतालाई सुसूचित गर्ने प्रतिपक्षको भूमिका हो', उनले भनेका छन्, 'अहिले पार्टी राजनीतिभन्दा माथि उठेर जनसेवा गर्नुपर्छ।अहिले मध्यावधि निर्वाचन माग्‍नु ठीक होइन।'

त्यसैगरी अर्का नेता गगनकुमार थापाले पनि यो संकटमा मध्यावधि निर्वाचन मागेर सरकारी 'अजासु'हरुलाई कांग्रेस नेता महतले मसला मिलाइदिएको जिकिर गरेका छन्। 

उनले लकडाउनमा बसेका बेला कसैको मनमा यस्ता विचार उब्जिएका भए पनि मनमै 'लक' गरिदिन भनेका छन्। कहिले सहमतिको सरकार! कहिले मध्यावधि निर्वाचन! लकडाउनमा बसिरहँदा यस्तो असम्भव र अनावश्यक विचार कसैको मनमा उब्जेका हुन् भने पनि मनमै 'लक गरिदिनुहोस्', उनले महतसहितलाई लक्षित गर्दै भनेका छन्, '
यस्ता विषय बहसमा आइदिँदा सरकारी 'अजासु' हरुलाई विषयान्तर गर्न बेकारको खुराक मिल्ने भयो।'

कांग्रेस नेता डा. महतले शनिबार पत्रकार ऋषि धमलासँग एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै देशलाई संकटबाट निकास दिन मध्यावधि निर्वाचनमा जानुपर्ने बताएका थिए। उनको यो टिप्पणीपछि नेता महत र कांग्रेसमाथि कडा टिप्पणीसहित आलोचना भइरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.