एकैठाउँमा राख्दा संक्रमण हुन‍े भन्दै सबै चिन्तित

|
फाइल तस्बिर

दार्चुला : सीमावर्ती क्षेत्र धारचुलामा बन्दाबन्दीमा परेका १ हजारभन्दा बढी नेपालीहरुको आज स्वास्थ्य परीक्षण गरिएको छ। सामुदायिक चिकित्सायल दार्चुलाका प्रमुख डा. एम के जयसवालको टोलीले धारचुलाको विभिन्न पाँच ठाउँमा रहेका १ हजार ६ जना नेपालीको स्वास्थ्य परीक्षण गरेको पिथौरागड जिल्ला सूचना अधिकारी गिरिजाशंकर जोशीले जानकारी दिएका हुन्। 

प्रारम्भिक स्वास्थ्य परीक्षणमा सबै नेपाली मजदुरको स्वास्थ्य सामान्य रहेको बताउँदै सूचना अधिकारी जोशीले स्वास्थ्य समस्या देखिने बित्तिकै उपचारका लागि लैजाने तयारी भारत सरकारले गरेको बताए। सेल्टरमा रहेका महिलाहरुका लागि पोषणयुक्त खानेकुराको समेत व्यवस्था गरिएको उनले बताए। 

भारतको उत्तराखण्डमा साढे १२ सयभन्दा बढी नेपाली बन्दाबन्दीमा

नेपालीको सीमावर्ती क्षेत्रमा रहेको भारतको उत्तराखण्डको पिथौरागड जिल्लाका तीन ठाउँमा १ हजार २ सय ७३ जना बन्दाबन्दीमा परेका छन्। पिथौरागड नजिक ४ ठाउँमा, धारचुलामा ५ र डिडिहाट जिल्लाको एक ठाउँमा गरी १ हजार २ सय ७३ जना नेपाली बन्दाबन्दीमा परेको धारचुलास्थित पत्रकार राकेश तिवारीले जानकारी दिएका छन्। विभिन्न १० ठाउँमा राखिएका उनीहरुलाई त्यहाँका सामाजिक संस्थाहरुले खानाको व्यवस्था गरेको उनले बताए। 

सबै एकै ठाउँमा राखेको भन्दै गुनासो 

धारचुलामा रहेका नेपालीहरुले सबै एकै ठाउँमा बस्नुपरेको गुनासो गरेका छन्। धारचुलास्थित मिनि स्टेडियममा ३ सय ३६ जनासँगै बसेका अपि हिमाल गाउँपालिकाका दिलेन्द्र महताले सबै सँगै बस्दा कसैलाई संक्रमण भए सबैलाई सर्ने डर रहेको बताएका छन्। पटक पटक भारतीय अधिकारीहरु आएर सोधपुछ गर्ने भए पनि ठाउँ अभावका कारण एकै ठाउँमा बस्नु परेको उनी बताउँछन्। यो क्षेत्र (धारचुला) मा भारतीय नागरिकहरु पनि ठूलो संख्यामा बाहिरबाट आएको र उनीहरुलाई समेत व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले सबैलाई एउटै ठाउँमा राखिएको सूचना अधिकारी जोशीले बताएका छन्। 

‘ठाउँ अभावका कारण यसरी राख्नुपरेको हो, हामीले भारतीय नागरिकलाई पनि यसरी राख्ने योजना बनाएका छौं, डेढ मिटरको दुरी राखेर सुत्न भनेका छौं, कसैको स्वास्थ्यमा समस्या आउने बित्तिकै उपचारका लागि लैजाने तयारी गरिएकोले छ, डराउनु पर्दैन,’ उनले भने। 

कहाँ कति छन् नेपाली ?

बन्दाबन्दीका कारण भारतमै बस्न बाध्य नेपालीलाई पिथौरागढ जिल्लाको तीन ठाउँमा राखिएको छ। पिथौरागढ नजिक जामिरपानी स्कुलमा ८३, झुलाघाटमा ५७, रजेउडामा १९ जना र गलघाटमा ८८ जना नेपाली राखिएका छन् भने बालुवाकोटमा ३ सय ६९, जौलजिवीमा २ सय २४, मिनि स्टेडियममा ३ सय ३६, बरममा ४५ र निगलपानीमा ३२ जना छन्। त्यसैगरी डिडिहाटको द्वालसेरामा २० जना नेपालीलाई राखिएको छ। 

स्थानीय प्रशासनको कडाई 

कैलाली नाका भित्रिएको एक जनामा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले कडाई गर्ने भएको छ। स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) अनुसार प्रमुख जिल्ला अधिकारीले आज आदेश जारी गर्दै आवतजावत, यातायात अनुमति पत्र, अन्य पालिकासम्मको हिँडडुल र अत्यावश्यक सेवाका पसल खोल्ने समयमा पनि कडाइ गरेका छन्। 

अब अत्यावश्यक सेवाका पसल बिहान साढे ७ देखि ९ बजेसम्म मात्रै खुल्नेछन् भने अत्यावश्यक सेवाको लागि जिल्ला प्रशासन कार्यालयबाट जारी गर्ने गरिएको सबै प्रकारका सवारी पास बन्द गरिएको छ।

चैत्र २४ गतेदेखि अबै सीमा वारपार, अनावश्यक हिँडडुल, जमघट, खेलकुद, मर्निङ वाक र खुला चौर वा बाटो घाटोमा हुने केटा केटीहरुको क्रिडाहरुलाई पूर्ण नियन्त्रण गरिने छ भने लक डाउन अवधिभर अन्तरपालिका तथा जिल्लामा हुने आवागमनलाई बन्द गरिएको छ। 

कैलालीबाट भित्रिएकाहरुको पहिचान गरिँदै 

भारतको विभिन्न ठाउँबाट आएर जम्मा भई कैलाली नाकाबाट भित्रिएका दार्चुलाबासीको पहिचान गर्ने कार्य अगाडि बढेको प्रमुख जिल्ला अधिकारी युदनाथ पौडेलले जानकारी दिएका छन्। हेल्थ डेक्सबाट चैत्र १२ गते ३४ जना दार्चुलाका नेपाल भित्रिएको जानकारी आए पनि अहिलेसम्म कैलालीबाट ६६ जना दार्चुला भित्रिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिएका छन्। ‘कहाँ कहाँका हुन् भन्ने यकिन भइसकेको छ, अब सम्बन्धित पालिकामार्फत उनीहरुलाई नियमन गरी क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ,’ उनले भने। 

महाकाली तरेका ९८ नियन्त्रणमा

पुलहरु बन्द भएपछि दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ जिल्लाका ९८ जना महाकाली तरेर आउने नेपालीहरु प्रहरी नियन्त्रणमा आएका छन्। पुल बन्द भएपछि उनीहरु नेपाल आएको र सम्बन्धित पालिका र जिल्लाहरुमा उनीहरुलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकृत इन्सपेक्टर सुरेन्द्रप्रशाद जोशीले बताएका छन्। 

राति र प्रहरीको आँखा छलेर आउनेहरुको संख्या योभन्दा बढी भएको इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्र कार्की बताउँछन्। प्रहरीको आँखा छलेर धेरै स्थानीय र जिल्लाबाहिरका नेपाली महाकाली तरेर आएको स्थानीयहरुले जानकारी गराएको उनी बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.