|

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले निजी क्षेत्रको सहयोगका कारण आपूर्ति व्यवस्थामा सहज भएको बताए।

नेपाल विज्ञापन संघको कार्यालयमा आइतबार नेपाल उद्योग वाणिज्य महासंघले उपलब्ध गराएको राहत सामग्री बुझ्दै मन्त्री भट्टले विपदको समयमा निजी क्षेत्रले देखाएको सक्रियताले सरकारलाई आपूर्ति व्यवस्थापनमा सहज भएको बताए। उनले लकडाउनको समयमा दैनिक उपभोग्य सामान आयात गरी घर घरमा सेवा दिनका लागि निजी क्षेत्रले देखाएको सक्रियता सराहनीय भएको बताए।

नेपाल उद्योग वाणिज्य महासंघले लकडाउनका कारण हातमुख समस्या भएका श्रमिक कामदारको सहयोगका लागि ४ हजार प्याकेट राहत सामग्री उपलब्ध गराएको छ। महासंघकी अध्यक्ष भवानी राणाले मन्त्री भट्टलाई राहत सामग्री उपलब्ध गराएकी हुन्। राहत स्वरुप उपलब्ध गराइएको ४ हजार प्याकेट सामग्रीमा प्रति प्याकेटमा १० किलो चामल र १ किलो दाल राखिएको छ।

सो राहत सामग्री उद्योग वाणिज्य संघ काभ्रे, काठमाडौं महानगरपालिका ३१, वडा नम्बर १६, उत्पीडित सुकुम्बासी वस्ती, वडा नम्बर ११ थापाथली, वडानम्बर १ र २०, अन्तराष्ट्रिय आप्रवासी समुदाय, मध्यपुर थिमी वडा नम्बर ३ र ६ , डोलेश्वर महादेव समिति, नेपाल चलचित्र प्राविधि संघ, गणेश केसी समेतको टोल, सुन्दरी जल चाइना गेट, पशुपति क्षेत्र आश्रम सबै, नवजीवन चिल्ड्रेन होम हात्तीवन ललितपुरलगायतका संघ संस्थामार्फत वितरण गर्ने व्यवस्था मिलाइएको अध्यक्ष राणाले जानकारी दिइन्। काठमाडौं आएर पढ्न बसेका बेखर्ची विद्यार्थीलाई पनि आवश्यकताको आधारमा राहत सामग्री वितरण गरिने उनले बताइन्।

महासंघले उपलब्ध गराएको राहत सामग्रीलाई मन्त्री भट्टले वितरणका लागि विभिन्न संघ सस्थाका प्रतिनिधिलाई हस्तान्तरण गरे। महासंघले यसअघि कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० लाख नगद सहयोग गरेको थियो।

एक करोड बराबरको स्वास्थ्य तथा खाद्यान्न लगायतका सामग्री सहयोग गर्ने महासंघको घोषणा अनुसार नै राहत सामग्री उपलब्ध गराइएको हो। यसअघि महासंघले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० हजार थान मास्क, २ सय ५० थान व्यक्तिगत सुरक्षा उपकरण हस्तान्तरण गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.