|

दार्चुला : लकडाउनका कारण सिमावर्ती क्षेत्र भारतको धारचुलामा रहेका एक हजारभन्दा बढी नेपालीहरुको स्वास्थ्य परीक्षण गरिएको छ।

सामुदायिक चिकित्सायल दार्चुलाका प्रमुख डा. एमके जयसवालको टोलीले धारचुलाको विभिन्न पाँच ठाउँमा रहेका एक हजार ६०० नेपालीको प्रारम्भिक स्वास्थ्य परीक्षण गरेको भारतको पिथौरागड जिल्ला अधिकारीको कार्यालयका सूचना अधिकारी गिरिजा शंकर जोशीले जानकारी दिए।

प्रारम्भिक स्वास्थ्य परीक्षणमा सबै नेपाली मजदुरको स्वास्थ्य सामान्य रहेको बताउँदै सूचना अधिकारी जोशीले स्वास्थ्य समस्या देखिने बित्तिकै उपचारका लागि लैजाने तयारी भारत सरकारले गरेको बताए। सेल्टरमा रहेका महिलाहरुका लागि पोषणयुक्त खानेकुराको समेत व्यवस्था गरिएको उनले बताए।

लकडाउनका कारण भारतको उत्तराखण्डको पिथौरागड जिल्लाका तीन ठाउँमा एक हजार २७३ जना नेपाली सेल्टरमा रहेका छन्। जसमा पिथौरागड नजिक जामिरपानी स्कुलमा ८३, झुलाघाटमा ५७, रजेउडामा १९ जना र गलघाटमा ८८ जना नेपाली राखिएका छन्। यस्तै धारचुलाको बालुवाकोटमा ३६९, जौलजिवीमा २२४, मिनि स्टेडियममा ३३६, बरममा ४५ र निगलपानीमा ३२ जना रहेका छन् । त्यसैगरी डिडिहाटको द्वालसेरामा २० जना नेपालीलाई राखिएको छ ।

पिथौरागड नजिक चार ठाउँमा, धारचुलामा पाँच र डिडिहाट जिल्लाको एक ठाउँमा नेपालीहरु रेहको धारचुलास्थित पत्रकार राकेश तिवारीले जानकारी दिए। ती नेपालीहरुलाई त्यहाँका सामाजिक संस्थाहरुले खानाको व्यवस्था गरेको तिवारीले बताए।

सबै एकै ठाउँमा राखेको गुनासो 

धारचुलामा रहेका नेपालीहरुले सबै एकै ठाउँमा बस्नु परेको गुनासो गरेका छन्। धारचुलास्थित मिनि स्टेडियममा ३३६ जनालाई सँगै राखिएको अपी हिमाल गाउँपालिकाका दिलेन्द्र महताले बताए। यसरी सबै सँगै बस्दा कोरोना संक्रमण हुने बढी सम्भावना रहेको उनको भनाइ छ।

यसबारे भारतीय अधिकारलाई पटकपटक जानकारी दिए पनि ठाउँ अभावका कारण एकै ठाउँमा बस्नु परेको अधिकारीहरुले बताएका छन्। धारचुलामा भारतीय नागरिकहरु पनि ठूलो संख्यामा बाहिरबाट आएको र उनीहरुलाई समेत व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले सबैलाई एउटै ठाउँमा राखिएको पिथौरागड जिला अधिकारीको कार्यालयका सूचना अधिकारी गिरिजा शंकर जोशीले बताएका छन्। 

‘ठाउँ अभावका कारण यसरी राख्नु परेको हो। हामीले भारतीय नागरिकलाई पनि यसरी राख्ने योजना बनाएका छौं, डेढ मिटरको दुरी राखेर सुत्न भनेका छौं,’ जोशीले भने, ‘कसैको स्वास्थ्यमा समस्या आउने बित्तिकै उपचारका लागि लैजाने तयारी गरिएकोले डराउनु पर्दैन।’

स्थानीय प्रशासनको कडाइ

कैलाली नाकाबाट भित्रिएको एकजनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले कडाइ गरेको छ।

स्थानीय प्रशासन ऐन २०२८ अनुसार प्रमुख जिल्ला अधिकारीले आइबार आदेश जारी गर्दै आवतजावत, यातायात अनुमति पत्र, अन्य पालिकासम्मको हिँड्डुल र अत्यावश्यक सेवाका पसल खोल्ने समयमा पनि कडाइ गरेका छन्। अत्यावश्यक सेवाका पसल बिहान साढे ७ देखि ९ बजेसम्म मात्रै खुल्ने छन् भने अत्यावश्यक सेवाका लागि जिल्ला प्रशासन कार्यालयबाट जारी गर्ने गरिएको सबै प्रकारका सवारी पास बन्द गरिएको छ।

यस्तै, चैत २४ देखि अबै सीमा वारपार, अनावश्यक हिँड्डुल, जमघट, खेलकुद, मर्निङवाक र खुला चौर वा बाटो घाटोमा हुने केटाकेटीहरुले खेल्ने काम पूर्ण नियन्त्रण गरिने छ भने लकडाउन अवधिभर अन्तरपालिका तथा जिल्लामा हुने आवागमनलाई बन्द गरिएको छ।

कैलालीबाट भित्रिएकाहरुको पहिचान गरिँदै 

भारतको विभिन्न ठाउँबाट आएर जम्मा भई कैलाली नाकाबाट भित्रिएका दार्चुलाबासीहरुलाई पहिचान गर्ने कार्य अगाडि बढेको प्रमुख जिल्ला अधिकारी युदनाथ पौडेलले जानकारी दिए।

हेल्थ डेक्सबाट चैत १२ मा ३४ जना र कैलालीबाट ६६ जना दार्चुला भित्रिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। प्रजिअ पौडेलले भने, ‘उनीहरु कहाँ कहाँका हुन् भन्ने यकिन भइसकेको छ, अब सम्बन्धित पालिकामार्फत उनीहरुलाई नियमन गरी क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ।’

कोरोना संक्रमित कैलालीको युवकसँगै नेपाल भित्रिएका नेपालीसँग दार्चुलाका ३४ जना रहेको हेल्थ डेस्कका इन्चार्ज गणेश ठकुल्लाले जानकारी दिए। तीमध्ये मार्मा गाउँपालिकाका १६, शैल्यशिखर र अपी हिमालका ५÷५, दुहुँ र नौगाडका ३÷३ र महाकाली नगरपालिकाका २ जना रहेको पाइएको छ।

दार्चुला भित्रिएका शैल्यशिखर नगरपालिकाका जनकराज जोशीले आफु घरमा सेल्फ क्वारेन्टाइनमा बसेको बताएका छन्। 

महाकालीमा निगरानी 

नेपाल भारत जाड्ने सबै पुलहरु बन्द भएर नेपालीहरु महाकाली नदी तरेर नेपाल आउनेहरुलाई रोक्न महाकाली नदी किनारमा निगरानी बढाएको छ। नदीबाट नेपालीहरु भित्रिने क्रम बढेपछि चौबिसै घण्टा निगरानी राख्ने गरी सशस्त्र प्रहरी बल परिचालन गरिएको प्रजिअ पौडेलले बताए।

दार्चुलाको लाली, जौलजिवी, स्याकु र दुम्लिङमा सशस्त्र प्रहरीले निगरानी राख्नेछ। ‘हामीले नदी किनारमा २४सै घण्टा निगरानी राख्ने काम गरेका छौं । कसैले अटेर गरे कानुन अनुसार कारवाही गरिने छ,’ प्रजिअ पौडेलले भने।

महाकाली तरेका ९८ नियन्त्रणमा

पुलहरु बन्द भएपछि महाकाली तरेर आउने दार्चुला, बैतडी, डडेल्धुरा, बझाङका ९८ जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन्।

पुल बन्द भएपछि उनीहरु नेपाल आएको र सम्बन्धित पालिका र जिल्लाहरुमा उनीहरुलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकृत प्रहरी निरीक्षक सुरेन्द्रप्रशाद जोशीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.