कसैको मोबाइल अफ, कोही सुन्‍नासाथ फर्किए

|
बिरामीलाई अस्पताल लैजाँदै जिसस प्रमुख तामाङ। फोटो : दिनेश थापाको फेसबुकबाट

सिन्धुपाल्चोक : लिसंखुपाखर गाउँपालिकाकी एक बिरामी आइतबार सिन्धु सदावहार अस्पताल खाडीचौर आइपुगिन्। कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनी अस्पताल पुगेकी थिइन्। उनी हालै ओमनबाट आएकी हुनाले पनि डराउनुपर्ने अवस्था थियो। 

अस्पतालले उनलाई लक्षण कोरोनासँग मेल खाएको भन्दै आइसोलेसनमा राखेर स्वास्थ्य परीक्षण गर्नुपर्ने सुझाव दियो। उनलाई तत्‍कालै जिल्ला अस्पताल चौतारा ल्याउने तयारी गरियो। तर चौतारा ल्याउन कुनै एम्बुलेन्स तयार भएनन्। 

एम्बुलेन्‍स सञ्चालक कसैले बिरामी बोक्नै नमानेको लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले बताए। ‘एम्बुलेम्स सञ्चालक समिति रहेछ। उनीहरुले सबैलाई फोन गरेछन्। त्यसपछि उनीहरु कसैले पनि बिरामी बोक्न मानेन्’ उनले भने, ‘बिरामीको अवस्था थाहा पाइसकेपछि कसैले मोबाइल अफ गरे भने, कसैले अनेक बहानामा पन्छिए।’ 

असुरक्षित ठानेर मानेनन्

बिरामीमा कोरोना भाइरससँग मिल्दो लक्षण देखिएपछि बिरामी बोक्न नमानेको हुन सक्ने जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङ बताउँछन्।  

‘अस्पतालले बिरामीको स्वाव परीक्षण गर्नुपर्ने देखाएपछि एम्बुलेन्सले बोक्न नमानेका हुन्’, उनले थाहाखबरसँग भने, ‘कोहीले नभ्याउने बताए, कोही पिपिए नभएको भन्दै पन्छिए, त्यसपछि आफैंले बिरामी बोकेर चौतारा ल्याएँ।’ 

पछिल्ला दिनहरुमा पनि यस्तो समस्या नआओस् भनेर एम्बुलेन्सलाई आवश्यक पर्ने पिपिए लगायतको सामग्री उपलब्ध गराउने उनले बताए। सिन्धुपाल्चोकमा कोरोना रोकथामका लागि सबै एकजुट भएर लागेको उनले बताए। 

अहिले क्षेत्रीयस्तरको क्‍वारेन्टाइन स्थापना गरिएको छ। ‘हामीले क्षेत्रस्तरमा क्‍वारेन्टाइन निर्माण गरेका छौँ। सम्भावित क्षेत्रमा ल्याएर राखेका पनि छौँ’, उनले भने, ‘एम्बुलेन्‍सका लागि पाटेशन गर्ने काम गरिरहेका छौँ। पाटेशन गरेपछि यस्तो समस्या सिर्जना नहुन सक्छ।’ 

जिल्लामा अहिलेसम्मा ८ जनाको स्वास्थ्य परीक्षण भएको छ। ‘अहिलेसम्म सिन्धुपाल्चोकका ८ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ। तीमध्ये बाह्रबीसेको आइसुलेसनमा रहेका ३ जनाको पुनःपरीक्षण गर्नुपर्ने भएको छ,’ उनले भने, ‘आइतबार चौतारा ल्याइएकी ती महिलाको पनि आज परीक्षणका लागि पठाउने तयारी भएको छ। अबको २४ घण्टाभित्र रिपोर्ट आउँछ।’ 

कस्तो छ तयारी?

क्‍वारेन्टाइनका लागि एम्बुलेम्सलाई तयारी अवस्थामा राख्ने तयारी भएको उनले बताए। सिन्धुपाल्चोकको मेलम्चीमा ४५, चौतारामा ४५ र पांङ्गेटारमा ३० शैय्या क्षमताको क्षेत्रीय क्‍वारेन्टाइन निर्माण भएको छ। बाह्रबीसे, खाडीचौर, चौतारामा समेत आइसोलेसन वार्ड तयार गरिएको छ। 

कोरोनासँग जुध्‍न यहाँका १२ वटा स्थानीय तहहरूले विपद् जोखिम व्यवस्थापन कोष स्थापना गरेर अगाडि बढेका छन्। ‘प्रत्येक पालिकाले कोषमा ५ लाख राखेका छन्। 

उनीहरूले आआफ्नो स्थानमा क्‍वारेन्टाइन समेत निर्माण गरेका छन्,’ उनले भने, ‘विदेशबाट आएका सबैलाई स्थानीय तहहरुले विदेशबाट पहिचान गरेर १४ दिन नलपुगका ल्याएर राख्ने क्‍वारेन्टाइनमा राखिरहेका छन्।’ 

‘तयार थियौँ, केही ढिला भयो’

एम्बुलेन्सहरु सबै व्यस्त भएकाले आइतबारको बिरामीलाई समयमै ल्याउन नसकेको नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकका मन्त्री कमलचरण कक्षपती बताउँछन्। 

‘हिजोको बिरामीको अवस्थामा सबै एम्बुलेन्स व्यस्त भएकाले खाडीचौरको बिरामी ल्याउन समय दिन नसकेका हौँ,’ उनले भने, ‘धेरैमा एम्बुलेन्स काठमाडौँ गएका थिए। हाम्रो एम्बुलेम्स फर्कँदा समन्वय समिति प्रमुखल ल्याउन निस्किसक्नु भएको रहेछ। जे जस्तो भए पनि हामी तयारी अवस्थामा थियौँ।’  

ड्राइभरलाई संक्रमकण नहोस् भनेर एम्बुलेन्‍स पाटेशन गरेर सञ्चालनमा ल्याइएको उनले बताए। ‘जिल्लामा अहिले २७ ओटा एम्बुलेम्स सञ्चालनमा छन्। तीमध्ये ११ एम्बुलेन्स पाटेशन गरेर सञ्चालनमा ल्याएका छौँ’, उनल भने, ‘हिजोको सवालमा पाटेशन गरेका एम्बुलेन्सलाई भनेका हौँ। उहाँहरु बिरामी लियर अन्यन्त्र जानुभएको रहेछ।’

ज्यान जोखिममा 

एम्बुलेन्स चालक प्रकाश चौलागाई आफूहरुले ज्यान जोखिममा राखेर काम गर्न बाध्य भएको बताउँछन्। ‘यस्तो महामारीको बेलामा बिरामी बोक्नुपर्छ। तर, हामीले सोचेजस्तो सुरक्षित छैन’, उनले भने, ‘एम्बुलेन्स पाटेशन गरेर पिपिए सेट दिइएको छ। तर, एम्बुलेन्समा प्रयोग गरिने औषधि पनि व्यवस्थापन गर्नुपर्छ।’

उनले आफ्नो ज्यानको पनि सुरक्षा चाहिएको बताए। ‘महामारीको बेलामा सेवा भनेर लागेका छौँ’, उनले भने, ‘सेवा गर्दा आफ्नो ज्यानको सुरक्षात गरिनुपर्यो नि?’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.