|

काठमाडौं : नेपाल राष्ट्र बैंकको १७ औं गर्भनरका लागि अर्थमन्त्री डा.युवराज खतिवडा संयोजकत्वको समितिले तीन जनाको नाम सिफारिस गरेको छ। सिफारिस गरिएका नाममध्येबाट एकजना टुंगो लगाई मन्त्रीपरिषद्‌को बैठकले आजै नियुक्त गर्न सक्ने अर्थ मन्त्रालय स्रोतले जानकारी दियो। 

राष्ट्र बैंककै वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पुर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पुर्व सचिव राजन खनालको नाम समितिले सिफारिस गरेको हो। गभर्नर नियुक्तिका लागि अर्थमन्त्री डा. खतिवडाको संयोजकत्वमा पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व सचिव कृष्णहरि बाँस्कोटा सम्मिलित समिति गरिएको थियो।

नयाँ गभर्नरको नाम सिफारिस गर्नुअघि समितिले आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, ब्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रमा पारंगत मध्येबाट दुई जना छनोट गर्नुपर्छ। यसरी गरिने छनोटमा अर्का एकजना भने  बैंककै डेपुटी गभर्नर मध्येबाट सिफारिस गर्नुपर्ने व्यवस्था छ। समितिले तीनै जनाको नाम टुङ्गो लगाइसकेकाले अब यी मध्येबाटै एकजना गभर्नर नियुक्त हुनेछन्‌।  

हाल लगानी बोर्डमा कार्यरत महाप्रसाद अधिकारी यसअघि पनि गभर्नरका लागि सिफारिस भएका थिए। तत्कालीन नेपाली कांग्रेस नेतृत्वको सरकारले निकै विवाद निम्तनेगरी डा.चिरञ्जीवि नेपाललाई गभर्नर चयन गरेको थियो। नेपालको कार्यकाल सकिएकाले सरकारले नयाँ गभर्नर नियुक्त गर्न लागेको हो।

हिमालय शमशेर राणा राष्ट्र बैंकका पहिलो गभर्नर हुन्‌। हालै कार्यकाल सकिएका नेपाल १६ औं गभर्नर चुनिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.