कोभिड-१९ {अपडेट}

लकडाउनसँगै क्‍वारेन्टाइन अवधि पनि लम्ब्याइयो

जोखिम कम गर्ने सरकारको रणनीति

चैत २४, २०७६

    काठमाडौं : सरकारले कोरोना भाइरस नियन्त्रणलाई प्रभावकारी बनाउन क्‍वारेन्टाइन बसाइ लम्ब्याउने तयारी गरेको छ। जारी लकडाउनलाई दोस्रो पटक थप्दै वैशाख ३ सम्म पुर्‍याएलगत्तै मन्त्रिपरिषद्को सोमबारको बैठकले क्‍वारेन्टाइन बसाइ पनि लम्ब्याउने निर्णय गरेको हो।

    अहिले विदेशबाट आउने र नेपालमा बसेका सम्भावित कोरोना संक्रमितलाई सरकारले अहिले १४ दिनसम्म क्‍वारेन्टाइनमा राख्ने गरेको छ। तर यसलाई पनि लम्ब्याएर कम्तीमा २१ दिन पुर्‍याइएको हो। अब १४ दिन क्‍वारेन्टाइनमा बसेपछि निस्किएका व्यक्तिले थप सात दिन होम क्‍वारेन्टाइनमा बस्‍नुपर्नेछ।

    सरकारका प्रवक्ता डा. युवराज खतिवडाले १४ दिन क्‍वारेन्टाइनमा बसेपछि थप सात दिन अनिवार्य होम क्‍वारेन्टाइनमा बस्‍नुपर्ने नियम ल्याइएको जानकारी दिए। उनले होम क्‍वारेन्टाइनमा बस्‍नेको अनुगमन स्थानीय तहले गर्ने पनि जानकारी दिए।

    कोरोना भाइरस नेपालमा पनि दोस्रो चरणमा पुगेसँगै सरकारले सजगता अपनाउँदै अझै कडा नियम लागू गरेको हो। स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले क्‍वारेन्टाइन बसाइलाई १४ दिनबाट बढाएर २१ दिन पुर्‍याइएको जानकारी सोमबार दिएका छन्। 

    ‘क्‍वारेन्टाइनको अवधि १४ दिनबाट बढाइएको छ। यसबारेमा मन्त्रिपरिषद्ले निर्णय लिएको छ’, उनले भने, ‘कोरोना नियन्त्रणका लागि कडा आचारसंहितासहित क्‍वारेन्टाइन बसाइ प्रभावकारी हुन्छ। त्यसैले यसमा निर्णय लिइएको हो।'

    १४ दिन क्‍वारेन्टाइनमा बसेका केहीमा कोरोना संक्रमण भेटिएपछि सरकाले यो अवधिलाई बढाएको हो। यसअघि आइतवार नै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले क्‍वारेन्टाइन अवधि २१ दिन बनाउन निर्देशन दिइसकेका छन्। 

    ‘क्‍वारेन्टाइन अवधि कम्तीमा २१ दिन कायम गरौँ’, उनले सुदूरपश्चिमबासीलाई सम्बोधन गर्दै आइतबार भनेका थिए, ‘२१ दिन लामो क्‍वारेन्टाइन बसाइले कोरोना संक्रमणको जोखिम निकै कम गर्छ।’

    आइतवारै बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले राहत वितरण र क्‍वारेन्टाइनको मापदण्डमा सुधार गर्ने निर्णय लिएको थियो। 

    क्‍वारेन्टाइनमा नौ हजार एक सय

    देशभरका क्‍वारेन्टाइनमा सोमवारसम्म ९ हजार एक सय ६८ जना बसिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    मन्त्रालयका प्रवक्ता डा. देवकोटाले कोभिड–१९ बारे सोमबार जानकारी दिँदै यस्तो बताएका हुन्। उनले काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा आइसोलेसनमा हाल १२ जना उपचाररत रहेको पनि उल्लेख गरेका छन्। 

    त्यसैगरी उपत्यका बाहिरका अस्पतालमा ९५ जनाको उपचार भइरहेको उनले जानकारी दिए। चैत महिनाभरी विदेशबाट काठमाडौं आएकाहरुको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयबाट टोली परिचालित भइसकेको बताउँदै उनले स्थानीय सरकारहरुसँग समन्वय भइरहेको पनि उल्लेख गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]