|

काठमाडौं : ट्राफिक प्रहरीले उपत्यकाका मुख्य र भित्री सडकहरूमा सवारी चेकजाँचमा थप कडाई गरेको छ। मंगलबार मात्रै काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ५१० वटा २ पाङ्ग्रे र ३५ वटा ४ पाङ्ग्रे गरी जम्मा ५४५ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ।

विहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म चेकजाँच गरी सावरी साधन नियन्त्रणमा लिएको हो। महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाइन्ट राखी सवारी साधनहरू चेकजाँच गर्ने व्यवस्था मिलाएको छ।

भित्री एरियाको लागि भने मोटरसाइकलमा ट्राफिक प्रहरी खटाएको थियो। कोरोना भाइरस विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लंघन गर्ने सवारी साधनहरूलाई नियन्त्रणमा लिएकाे बताइएको छ। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले आगामी दिनमा बाहिर ननिस्कने प्रतिबद्धतासहित नियन्त्रणमा लिएका सवारी साधन वेलुका छाड्ने गरिएको पनि जानकारी दिए। उनले भने,'लकडाउन एउटा व्यक्ति वा समूहको फाइदाका लागि गरिएको नभएर तपाई-हाम्रो सम्पूर्णको सुरक्षाको लागि हो। यसको पूर्ण पालना गर्न तथा उच्च सुरक्षा सतर्कता अपनाउन जरुरी छ।'

काठमाडौँ उपत्यकामा चैत्र ११ गतेदेखि लकडाउन उल्लंघन गर्ने ५ हजार १ सय ९१  सवारी साधनहरू नियन्त्रणमा लिइसकेको महाशाखाले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.