काठमाडौं : तबलिगी जमातीका दुई समूहका २७ जना क्वारन्टीनमा राखिएको भारतको प्रहरीले जनाएको छ।
कोरोना भाइरसबाट संक्रमित एकजना नेपालीलाई भारतको उत्तर प्रदेशस्थित प्रहरीले पक्राउ गरेको छ। भारतको उत्तर प्रदेशस्थित बागपत जिल्लाको एक अस्पतालबाट सोमवार राति भागेका कोरोनाभाइरस सङक्रमित ती नेपालीलाई प्रहरीले मंगलबार पक्राउ गर्न सफल भएको हो।
धार्मिक ज्ञान बाँड्न भारतको नयाँ दिल्ली पुगेका तबलिगी जमाती समूहसँग आवद्ध सुनसरी भोक्राहा निवासी सफिद मियाँलाई पक्राउ गरिएको उत्तर प्रदेशस्थित बागपत प्रहरीले जानकारी दिएको छ।
सफिद मियाँमा शुक्रवार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको बागपत प्रहरीले जनाएको छ। उनलाई उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा भर्ना गरिएकै बेला फरार भएका थिए।
जनपद बागपत से फरार हुए कोरोना पॉजिटिव नेपाली जमाती सफीद मियां को @baghpatpolice द्वारा थाना खेकडा क्षेत्र के काठा मार्ग ग्राम बन्दपुर ईंट भटटा के पास से गिरफ्तार किया।@Uppolice @dgpup @adgzonemeerut @igrangemeerut #UPPolice #baghpatpolice pic.twitter.com/upPmnFqDUy
— Baghpat Police (@baghpatpolice) April 7, 2020
उनी सोमवार राति अस्पतालको झ्यालको शिशा फुटाएर फरार भएपछि बागपतस्थित प्रहरीले सार्वजनिक सूचना जारी गरेर खोजी थालेको थियो। उनलाई थाना खेकडा क्षेत्रस्थित काठा मार्ग ग्राम बन्दपुर इँटा भट्टा नजिकैबाट पक्राउ गरिएको हो।
बागपतका प्रहरी सुपरिन्टेन्डेन्ट प्रताप गोपेन्द्र यादवका अनुसार उपचारकै क्रममा फरार भएपछि खोजी गर्दा उनी पक्राउ परेका हुन्। उत्तर प्रदेश प्रहरीले उनलाई पक्राउ गर्न १० वटा टोली परिचालन गरेको थियो।
पक्राउ परेका ती ६५ वर्षीय नेपालीलाई जिल्ला अस्पतालमा भर्ना गरेर कोभिड-१९ को उपचार थालिएको छ। कोरोना संक्रमित भएकाले उनलाई प्रहरीले उच्च निगरानीमा राखेर उपचार थालेको छ।
कोरोना संक्रमित भए पनि मियाँको अवस्था साधारण रहेकाले स्वास्थ्यमा त्यस्तो कुनै जटिलता छैन। उनी के कारणले अस्पतालबाट भागे भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रहरीका अनुसार खेकडा अस्पतालमा उनी एकजना मात्रै कोरोना संक्रमित थिए। त्यही तनावले उनी अस्पतालबाट भागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। उनी नेपालका २८ जना अन्यसहित भारत पुगेका थिए।
नेपालबाट गएका अन्य २७ जनामा कोरोना नदेखिए पनि उनमा भने पोजेटिभ देखिएको थियो। अन्यलाई पनि बागपतमै क्वारेन्टाइनमा राखिएको छ। क्वारेन्टाइनमा रहेका अन्य सबै सुनसरी निवासी नै हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।