|

बाग्लुङ  : कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यान दिँदै धौलागिरि अञ्चल अस्पतालमा ग्लोब वाल सिस्टम सुरक्षा कवच निर्माण गरिएको छ।

दक्षिण कोरियाले अपनाएको यो प्रविधिलाई राष्ट्रिय आविस्कार केन्द्रको पहलमा निर्माण गरिएको हो। ‘कोरोनाको नमुना परीक्षणका लागि स्वाब लिन कोरियाले अपनाएको विधिलाई इन्टरनेटमा हेरेर हामीले  निर्माण गरेका छौं,’ राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनले भने, ‘यो कुनै नयाँ प्रविधि होइन, तर डाक्टर बचाउने उपाय त भयो नि।’ 

कोरोनाको आशंका भएका बिरामीको नमुना संकलन र चेकजाँचका लागि समेत चिकित्सकहरुलाई सहज बनाउनका लागि यो प्रविधि अपनाइएको पुनले बताए। यसको निर्माण बाग्लुङकै निर्माण व्यवसायीहरुले गरेका हुन्। 

कोरोना संक्रमण बढ्दै जाँदा संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न ‘ग्लोब वाल सिस्टम’ उपयोगी हुने अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. शैलेन्द्र बि. पोखरेलले बताए। ‘आल्मुनियम प्रयोग गरेर बुथ बनेको छ,’ पोखरेलले भने, ‘सिलिकन कोटेट भएकाले हावा समेत भित्र छिर्दैन।’ 

बुथबाट निकालिएका पञ्जा एक बिरामी परिवर्तन हुने बित्तिकै परिवर्तन गर्ने डा पोखरेलले बताए। उनले भने, ‘यसबाट कुनै पनि संक्रमित बिरामीबाट अर्कोमा सर्ने वा चिकित्सकमा सर्ने सम्भावना हुँदैन।’

बाग्लुङका होमियोप्याथीक चिकित्सक कृष्णकुमार शैंजुको पहलमा राष्ट्रिय आविस्कार केन्द्रले अञ्चल अस्पतालसँग सहकार्य गरेको हो। ‘धेरै ठाउँमा प्रयोग भएको देखेपछि मैले गरौं न भने महावीर पुन सरले हुन्छ भन्नुभयो,’ शैंजुले भने, ‘पिपिईको बचत र बिरामी तथा चिकित्सकको सुरक्षामा सहयोग पुग्छ।’ 

बुथ निर्माणका लागि ७० हजार खर्च भएको छ। निर्माण सामग्री आविस्कार केन्द्रले सहयोग गरेको र निर्माणका लागि लाग्ने खर्च अस्पताल व्यवस्थापनले उपलब्ध गराएको हो। ‘बुथ निर्माण भएको छ, परीक्षण गरेर हेर्छौं,’ डा. पोखरेलले भने, ‘उपयोगी हुने आशा छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.