एक घरबाट अर्कोमा जानसमेत रोक

|

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरका चार जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण देखिएपछि यहाँका अन्य जिल्लामा उच्च सतर्कता अपनाइएको छ।

भारतबाट काम गरी फर्किएका नागरिकमा कोरोना भाइरस संक्रमण देखिएपछि सतर्कता अपनाइएको हो। कोभिड–१९ को सम्भावित संक्रमण रोक्न सुदूरपश्चिमका पहाडी जिल्लामा विभिन्न योजनाका साथ जनप्रतिनिधि सक्रिय छन्। जिल्ला सदरमुकाम डडेल्धुरामा कीटनाशक औषधि छर्किनेदेखि लिएर सबै पालिकामा लकडाउनलाई पूर्ण रुपमा कार्यान्वयन गराउन स्थानीय प्रहरी प्रशासन, जनप्रतिनिधि सक्रियताका साथ समन्वयात्मक रुपमा भूमिका निर्वाह गरिरहेका छन्।

कारोना नियन्त्रण तथा रोकथाम गर्न डडेल्धुराको अमरगढी नगरपालिकाले सार्वजनिक क्षेत्रमा कीटनाशक औषधि छर्कन सुरु गरेको छ। दमकल प्रयोग गरेर नगरमा कीटनाशक औषधि छर्कन थालेको अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले बताए। 

यसअघि अमरगढी नगरपालिकाले सम्भावित जोखिमलाई मध्य नजर गर्दै नगरपालिकाभित्र रहेका दुई वडा सिल गरेको थियो। वडा १० र ११ लाई सिल गरिएको हो। सिल भएसँगै त्यस वडाभित्रका नागरिकहरुले एउटा घरबाट अर्को घर जान नपाउने अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताए। सिल गरिन्जेलसम्म टोल–टोलमा प्रहरी खटाइने उनको भनाइ छ।

कोरोनाबारे सचेतना जगाउन स्वास्थ्यकर्मी घरघरमा

अमरगढी नगरपालिकामा भारतलगायत अन्य ठाउँबाट आएका मानिसहरुको अवस्थाबारे जानकारी लिन स्वास्थ्यकर्मीहरु घरदैलो कार्यक्रममा जुटिरहेका छन्।सेल्फ क्‍वारेन्टाइनमा बसेका व्यक्तिहरुको स्वास्थ्य अवस्था बुभ्mनुका साथै सचेतना जगाउन स्वास्थ्यकर्मी घरदैलोमा पुगेका अमरगढी स्वास्थ्य शाखा प्रमुख गणेश विष्टले बताए। अमरगढी नगरपालिकामा भारतबाट आएका व्यक्तिहरुको संख्या २ सय नाघेको अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताए।

डडेल्धुरामा आफूखुसी राहत संकलन गर्न नपाइने

डडेल्धुरामा आफूखुसी राहत संकलन तथा वितरण गर्न नपाउने भएको छ। संघसंस्था तथा व्यक्तिले आफूखुसी राहत वितरण गर्दा कसैले दोहोरो त कसैले नपाउने सम्भावना भएकाले सम्बन्धित स्थानीय तहको र जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिएर एकद्वार प्रणालीबाट मात्र राहत वितरण गर्न भनिएको छ। 

टोकन प्रणालीमार्फत राहत वितरण

अमरगढी नगरपालिकाले ‘टोकन प्रणाली’मार्फत राहत वितरण सुरु गरेको छ। नगरपालिमा रहेका निम्म वर्गका व्यक्तिहरुको तथ्यांक संकलनपश्चात वडा नं. ५ मा सोमबारदेखि राहत वितरण सुरु गरिएको हो। वडाध्यक्षको हस्ताक्षरपछि मात्र टोकनमार्फत राहत दिइने जनाइएको छ। खाद्यान्न सामाग्री बिक्री गर्ने पसलहरूसंग सम्झौता गरि वडा कार्यालयले सबैको पायक पर्ने पसलका नाममा टोकन उपलब्ध गराएर राहत वितरणको नयाँ अभ्यास सुरु गरेको हो। 

डडेल्धुरामा १ सय ७ जना क्‍वारेन्टाइनमा

डडेल्धुरामा १०७ जना क्‍वारेन्टाइनमा रहेका छन्। भारतबाट आएका नागरिकहरुलाई क्‍वारेन्टाइनमा राखिएको हो। 

गन्यापधुरामा र आलितालमा पनि एक गाउँबाट अर्कोमा जान रोक

डडेल्धुराको गन्यापधुरा र आलिताल गाउँपालिकाले एक गाउँबाट अर्को गाउँमा जान पूर्णरूपमा रोक लगाएको छ। गन्यापधुराका हरेक गाउँ सिल गर्नुका साथै भारतबाट घर फर्किएकाहरूको उच्च निगरानी गरिएको छ। शनिबार सुदुरश्चिममा एकैसाथ तीन जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि गाँउपालिकाले यस्तो निर्णय गरेको हो। यस्तै आलितालले पनि हरेक गाउँ सिल गरेको छ। 

परशुराममा भने एक घरबाट अर्कोमा जान पनि रोक

डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिकाले एक गाउँबाट अर्को गाउँमा जान पूर्ण रूपमा रोक लगाएको छ। नगरपालिकाका हरेक गाउँ सिल गर्नुका साथै भारतबाट घर फर्किएकाहरूको उच्च निगरानी गरिएको नगरपालिकाले जनाएको छ। 

तीन वटा साना नाकामा सशस्त्र प्रहरी 

भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका विभिन्न नाकामा थप सुरक्षाकर्मी परिचालन गरिएको छ। कोरोना भाइरसका बिरामी बढेसँगै डडेल्धुराका सीमावर्ती क्षेत्रका थप ३ वटा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बल खटिएका छन्। परशुराम नगरपालिकाको तातापानी, शीर्ष र असुरानी क्षेत्रमा सशस्त्र प्रहरी बल खटिएका हुन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.