|

अछाम : कोरोना संक्रमण भए/नभएकाे पत्ता लगाउन अछामका दुई नगरपालिका प्रमुखसहित २२६ जनाको थ्रोट स्वाब नमुना संकलन गरी काठमाडौं पठाइएको छ। 

पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटा र कमलबजार नगरपालिकाका नगर प्रमुख ओमप्रकाश विष्टसहित २२६ जनाको स्वाब परीक्षणका लागि पठाइएको हो।

सैनिक अस्पताल नेपालगञ्ज र स्वास्थ्य कार्यालय बाँकेबाट नेपाली सेनाको हेलिकोप्टरबाट जिल्ला आएका पाँच जना ल्याब टेक्निसियनहरुको टोलीले मंगलबार र बुधबार गरी दुई दिन लगाएर १९७ पुरुष र २९ महिलाको स्वाब संकलन गरेको थियो।

बयलपाटा, जिल्ला अस्पताल मंगलसेन, कमलबजार र मंगलसेनकै कृषि ज्ञान केन्द्रको भवनमा रहेको क्वारेन्टाइनमा गरी चार ठाउँबाट यो टोलीले स्वाब संकलन गरेको थियो।

चार ठाउँमा स्थापना गरिएका घुम्ती मेडिकल शिविरमा केन्द्र सरकारले पठाएका ल्याब टेक्निसियनहरु प्रसिद्ध ढकाल र केशव ज्ञवालीसहित सैनिक अस्पताल नेपालगञ्जका ल्याब टेक्निसियनहरु गरी जम्मा पाँच जनाले स्वाबको नमुना संकलन गरेका थिए।

जसमा जिल्ला अस्पतालको घुम्ती मेडिकल शिविरमा ३९ पुरुष र ४ महिलागरी ४३ जना, बयलपाटा अस्पतामा ४५ पुरुष र ६ महिलागरी ५१ जना तथा मंगलसेनको कृषि ज्ञान केन्द्रको भवनमा स्थापना गरिएको शिविरमा ५१ पुरुष , १३ महिलागरी ६४ जना र कमलबजारमा ६२ पुरुष र ६ महिलागरी ६८ जनाको स्वाब संकलन गरिएको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जानकारी दिए।

भारतबाट आएर क्वारेन्टाइनमा बसेका पुरुष, महिला तथा बालबालिकागरी ५३ जना, क्वारेन्टाइनको हेल्थ डेस्कका स्वास्थ्यकर्मी तथा क्वारेन्टाइन व्यवस्थापनमा खटिएका कर्मचारीहरु र भारतबाट आएर घरमा सेल्फ क्वारेन्टाइनमा बसिरहेकाहरूको स्वाब संकलन गरिएको छ।

काठमाडौं लगिएको स्वाब परिक्षणको नतिजा आउन कम्तिमा तीन दिन लाग्छ। शनिबारसम्ममा अछामबाट लिइएको थ्रोट स्वाब नमुना परीक्षणको नतिजा आइसक्ने ल्याब टेक्निसियन केशव ज्ञवालीले जानकारी दिए।

सुदूरपश्चिम प्रदेश राजधानी धनगढीमा चार जनालाई कोरोनाको संक्रमण देखिएपछि अछाम, डोटी र जुम्लामा पनि भारतबाट आएकाहरुबाट जोखिम हुनसक्ने भन्दै सरकारले तीनै जिल्लामा स्वाब संकलन गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.