|

म्याग्दी : कोरोना संक्रमण फैलन नदिन लगाइएको लकडाउनका कारण अलपत्र परेका ३७ जना मजदुरहरुलाई म्याग्दीका विभिन्न ठाउँहरुबाट उद्धार गरिएको छ।

कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिम कम गर्न सरकारले तीनसाता लामो लकडाउन गरेपछि विभिन्न जिल्लाहरुबाट आएर म्याग्दी जिल्लामा संचालित विभिन्न आयोजनाहरुमा काम गर्ने ३७ जना मजदुरहरु भोकभोकै रहेका र उनीहरु हिँडेर नै आफ्नो जिल्लामा फर्कन लागेका सूचनाको आधारमा उनीहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुवँरका अनुसार बुधबार बेनी नगरपालिका-६ गुफा हुँदै मालिकाधुरीको बाटो प्रयोग गरी गृहजिल्ला दाङतर्फ जान लागेको १४ र बेनी दरवाङहुँदै रोल्पातर्फ हिँडेका २३ जना मजदुरलाई उद्धारगरी सम्वन्धित आयोजनाका ठेकेदारको जिम्मा लगाइएको छ।

 प्रनाउ कुवँरले भने, 'आफ्नो आयोजना स्थलमा रहेका मजदुरलाई अलपत्र पार्नेलाई कारबाही शुरु गरेका छौं, एक ठाउँबाट अर्को ठाउँमा नजान मजदुरहरुलाई समेत सचेत बनाएका छौं।'

निर्माणाधीन बेनी अस्पतालको भवनमा काम गर्ने मजदुरहरु बेनी-दरवाङ सडक खण्डको प्रयोग गरी रोल्पा जान हिँडेको अवस्थामा बेनी नगरपालिका ४ सिंगाबाट उद्धार गरिएको प्रनाउ कुवँरले बताए। उनीहरु एक हप्ता पैदल हिँडेरै घरसम्म पुग्ने योजना बनाई म्याग्दीबाट प्रस्थान गरेका थिए।

अत्यावश्यक काम बाहेक एक जिल्लाबाट अर्को जिल्लामा जान बन्द गरिएको थाहा पाएपनि आफूहरु भोकभोकै बस्नुपर्ने अवस्था आएकोले बस्तीभन्दा टाढा जंगलको बाटो प्रयोग गरी घरतर्फ जान लागेको मजदुरहरुले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.