धेरैले बुझे तर सत्ताधारीले बुझ पचाए

|

चीनको हुबेई प्रान्तको राजधानी वुहानमा सन् २०१९ को अन्त्यमा विस्फोट भएको नोभल कोरोना भाइरसले तीन महिना पुग्दा नपुग्दा संसारका करिब सबै देशहरुलाई आफ्नो चपेटामा पारेको छ। यी हरफहरु लेखिँदासम्म जम्मा संक्रमित १४ लाख ३५ हजार, मृत्यु हुनेको संख्या ८२ हजार  र निको हुनेहरुको संख्या ३ लाख नाघेको जानकारीमा आएको छ। दिनदिनै यो संक्रमण लाखको अंकमा बढ्दै गएको छ।

यसरी यो महामारीले झन् झन् विकराल रुप लिँदै गएको देखिन्छ। यसबाट कसरी मानव जातिको रक्षा गर्ने भन्ने प्रश्न गम्भीर रुपमा उठिरहेको छ। यो महामारीले सबै वर्ग, जाति, लिंग, क्षेत्र, व्यवस्था माथि एक साथ हमला गरेको छ। गरिब, मजदुरदेखि लिएर धनीसम्म, सामान्य नागरिकदेखि लिएर बेलायत, स्पेनका राजपरिवारका सदस्य र कतिपय देशका प्रधानमन्त्री, मन्त्रीसमेत यसको शिकार भएका छन्।

विश्वकै एउटा शक्तिशाली र सम्पन्न राष्ट्र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन नै गम्भीर रुपमा संक्रमित भएपछि उनलाई आइसीयुमा पुगेका छन्। संसारमा सबैभन्दा बढी संक्रमित नै संयुक्त राज्य अमेरिकामा देखा परेका छन्। पछिल्लो जानकारी अनुसार त्यहाँ संक्रमितको संख्या चारलाख नाघेको र मृत्यु हुनेको संख्या १४ हजार नाघेको छ। संसारको सबैभन्दा सम्पन्‍न र शक्तिशाली भनेर दावी गर्ने देश कोरोना भाइरसका अगाडि निरीह सावित भएको छ।

स्वास्थ उपचार, क्वारेण्टाइन, आइसोलेसन, आइसीयु आदिका व्यवस्था एकदम कमजोर भएको नेपाल जस्तो देशमा यो चरणमा पुग्नु भनेको भयावह अवस्था हो। त्यसकारण, नेपालले कुनै पनि हालतमा संक्रमणलाई यो चरणमै रोक्नु नितान्त जरुरी छ। यसभन्दा खराबको अर्को चरणमा पस्न बर्जित नै गर्न सक्नु पर्दछ।  

केहीसाता अघिसम्म विश्व स्वास्थ्य संगठनले ‘ग्रिनजोन’मा राखेको नेपाल यतिखेर ‘रेडजोन’मा परिणत भएको छ। अहिलेसम्म नेपालमा ९ जना संक्रमित भएको पुष्टि भएको छ। संख्या भन्दा पनि खतरा भाइरसको लक्षणबाट देखिएको छ। अब यसको संक्रमण विदेशबाट लिएर आउनेमा मात्र सीमित भएन। विदेशबाट आउनेले ल्याएको संक्रमण नेपालमा बसेकाहरुमा संक्रमित भएको पुष्टि भएको छ।

यही चैत २२ गते कैलाली जिल्लामा विदेशबाट आएका बिरामीबाट नेपालमा भएकी उनकी भाउजु संक्रमित भएपछि कोभिड १९ अब दोस्रो चरणमा पुगेको सरकारका स्वास्थ्य मन्त्रालयका अधिकारीले आफ्नो नियमित पत्रकार सम्मेलनमा घोषणा गरेका छन्। यसले के सूचना दिन्छ भने अब यो महामारी कुनै पनि संक्रमितबाट अर्कोमा सहजै सर्न सक्ने अवस्थामा पुगेको छ।

यो भन्दा खराब अवस्था भनेको समुदायमा संक्रमण फैलिन सक्ने अवस्था हो। यो अवस्था यदि आयो भने संक्रमण दश, बीस, पचास, सय, हजार आदिमा एकैचोटी फैलिन सक्दछ।

स्वास्थ उपचार, क्वारेण्टाइन, आइसोलेसन, आइसीयु आदिका व्यवस्था एकदम कमजोर भएको नेपाल जस्तो देशमा यो चरणमा पुग्नु भनेको भयावह अवस्था हो। त्यसकारण, नेपालले कुनै पनि हालतमा संक्रमणलाई यो चरणमै रोक्नु नितान्त जरुरी छ। यसभन्दा खराबको अर्को चरणमा पस्न बर्जित नै गर्न सक्नु पर्दछ।  

यस कारण गुम्यो सुन्दर अवसर

हाम्रो सिमाना जोडिएको उत्तरतिरको छिमेकी चीनको वुहानमा त्यत्रो महामारी फैलिएको केही महिनासम्म पनि कोरोना भाइरस हिमाल नाघेर नेपाल पसेको थिएन। बरु सात समुद्रपारिको अमेरिका र युरोपमा फैलियो। विश्व स्वास्थ संघले विश्वव्यापी रुपमा फैलिएको 'महामारी’ घोषणा गरिसक्दा पनि हाम्रो देश ‘ग्रिनजोन’ मै गणना भइरहेको थियो। त्यो अवस्था अस्थायी थियो।

विगतको समीक्षा राम्रैसँग गरौंला। यतिखेरको लागि भने हाम्रो पहिलो प्राथमिकता हो कोरोना भाइरसको क्षतिबाट जनतालाई बचाउनु। मानिसको जीवनरक्षा हामी सबैको प्राथमिकतामा पर्ने भएकाले भ्रष्टाचार,  अनियमितता, लापरवाही, ढिलासुस्ती जस्ता विषय उपयुक्त समयमा उठाउने गरी अहिले कोरोना भाइसरविरुद्ध लड्न सबै एकजुट हुने कुरामा हामी सबैले जोड दिनु पर्दछ।

प्रकोपबाट बच्ने तयारीका लागि पाइएको यो सुवर्ण अवसर हो भन्ने कुरा धेरैले बुझे तर सत्ताधारी पार्टी र सरकारमा बस्नेहरुले बुझेर पनि बुझ् पचाए। भावी दिनमा आउन सक्ने खतराको सामनाको तयारी गम्भीर रुपमा गर्न लाग्नु पर्नेमा उनीहरु कमिशनको खेलद्वारा धन आर्जन गर्ने खोजीमा भौतारिएको पाइयो। यस अवधिमा आवश्यक स्वास्थ उपकारणको तयारी पहिले नै गरिसक्नु पर्नेमा नक्कली कम्पनी खडा गरेर कमिशनको खेल खेल्न थाले मन्त्री र उच्च ओहोदाका कर्मचारीहरु नै। यो सुन्दर अवसरको हुनुसम्मको दुरुपयोग भयो। 

अष्ट्रेलियाको जंगलमा अनियन्त्रित रुपमा लागेको डढेलो जस्तो गरी सल्किएर फैलिएको कोरोना भाइरस चीनबाट धेरै टाढा फैलिइसक्दा पनि तयारी गर्ने मौका नेपालले पर्याप्त मात्रामा पाएको थियो। यसबाट अत्यधिक फाइदा लिन सक्नु पर्दथ्यो, यसबाट हुन सक्ने क्षतिबाट बच्नका लागि।

तर यो सरकार त युरोप, अमेरिका आदि देशबाट पर्यटक ओसार्ने योजनामा थियो ’पर्यटन वर्ष, २०२०’ मनाएर। शिक्षा मन्त्री कुनै हालतमा पनि एसईई परीक्षा सार्नै सकिँदैन भनेर भाषण गर्दै थिए। अनि किन नपरोस् र किन नफैलियोस कोरोना भाइरस नेपालमा। केही पार्टी, नागरिक समाज, डाक्टरहरु, सञ्चारमाध्यम आदिको कडा विरोधपछि मात्रै अन्तर्राष्ट्रिय उडान खारेज गरियो। एसईई परीक्षा रद्द गरियो। ‘लकडाउन’को घोषणा गरियो।

अहिले आएर तथ्यहरुले पुष्टि गरेका छन् कि यदि एक हप्ताअघि मात्र अन्तर्राष्ट्रिय उडान रोकिएको र भारतसँगको सीमा बन्द गरिएको भए अहिलेसम्म पनि नेपालीहरु यस प्रकारको संत्रासमा बाँच्नुपर्ने अवस्था आउने रहेन छ। हामी नेपालीले ‘ग्रिनजोन’मै बस्ने सौभाग्य पाइराख्‍न सक्थ्यौं कि !

विगतको समीक्षा राम्रैसँग गरौंला। यतिखेरको लागि भने हाम्रो पहिलो प्राथमिकता हो कोरोना भाइरसको क्षतिबाट जनतालाई बचाउनु। मानिसको जीवनरक्षा हामी सबैको प्राथमिकतामा पर्ने भएकाले भ्रष्टाचार,  अनियमितता, लापरवाही, ढिलासुस्ती जस्ता विषय उपयुक्त समयमा उठाउने गरी अहिले कोरोना भाइसरविरुद्ध लड्न सबै एकजुट हुने कुरामा हामी सबैले जोड दिनु पर्दछ।

तर, चैत २५ गते प्र म के पी ओलीले गरेको सम्बोधनमा सरकारको भूमिकालाई उल्टो आफैं तारिफ गर्नुलाई विडम्बना मान्नु पर्दछ। यस प्रकारको झुटो प्रचार प्रधानमन्त्री ओलीबाट हुनु चिन्ताजनक कुरा हो। वास्तवमा ओलीजीले त आत्माआलोचना गर्नु पर्दथ्यो, नेपाली जनतासामु।

खतराको घण्टी

माथि उल्लेख गरिसकिएको छ कि कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा प्रवेश गरिसकेको छ। चैत्र २२ गते कैलाली जिल्लामा विदेशबाट आएका विमारीबाट नेपालमै रहेकी महिलामा संक्रमित भएको घटनाले यो अवस्था सिर्जना भएको हो। यसले कोरोना भाइरसको खतराको घण्टी बजेको संकेत गरेको छ। यसलाई अटेर गर्न खोजियो भने त्यो ठूलो गल्ती मात्र होइन अपराध हुने छ।

‘लकडाउन’ यो संक्रमणलाई फैलिनबाट रोक्ने एउटा प्रभावकारी उपाय भएको हुनाले हामी सबैले यसको इमान्दारीपूर्वक पालना गर्नु पर्दछ। हाम्रो जस्तो देशका लागि यो एकदम महत्वूर्ण विधि हो। हामी आफ्नै लागि, हाम्रो परिवारका लागि, हाम्रो समाजका लागि, हाम्रो देशका लागि, संसारकै लागि कोरोनाबाट मुक्त गर्ने अभियानमा जुटौं।

यसको निमित्त सबैभन्दा खतरा निम्त्याउने तीनवटा समस्याहरु एकसाथ देखापरेका छन्। पहिलो,  भाइरसको संक्रमण दोस्रो चरणमा पुगेको प्रमाणित हुनु।

दोस्रो, सरकारी प्रवक्ताको भनाई अनुसार करिब एक लाख ४० हजार जति मानिस महामारी फैलिसकेका देशहरु, खासगरी  भारतबाट नेपाल प्रवेश गर्नु अनि तिनीहरु कहाँ छन् र उनीहरुले नेपालमा कति जनालाई संक्रमित गराए भन्ने कुराको आधिकारिक जानकारी सरकारलाई नहुनु।

तेस्रो, केही मानिस बाहेका उनीहरु सरकार वा अन्य संस्थाहरुले निर्माण गरेका वा आफ्नै घरका क्वारेण्टाइनमा नबसि स्वतन्त्र अवस्थामा हुनु। यी सबैलाई एकसाथ जोड्दा स्थिति निकै भयावह रहेको अनुमान गर्न सकिन्छ। सरकारलाई अब पनि ढिलो वा लापरवाही गर्ने छुट छैन। यसबेलाको भ्रष्टाचार त जघन्य अपराध नै हो।

सबैभन्दा पहिले यसको संक्रमणलाई रोक्नका निमित्त संक्रमण देखा परिसकेकाहरुको अस्पतालहरुमा शिघ्र उपचार। दोस्रो, छिटो भन्दा छिटो संक्रमणका सम्भावित सबैको परीक्षणद्वारा पहिचान। तेस्रो, शंकाको दायरामा भएका सबैलाई उचित किसिमले क्वारेण्टाइनमा राखी हाल्नु पर्ने आवश्यकता। चौथो, उपचारमा संलग्न डाक्टर, नर्श र स्वास्थकर्मीलाई चित्त बुझ्दो र उचित सुविधाको व्यवस्था। पाँचौं, पहिले सरकारले घोषणा गरेको आर्थिक प्याकेजले अहिलेको चुनौतीसँग मेल खाँदैन।

विगतमा सरकारको जुन ज्यादै कमजोर भूमिका रह्यो, त्यसलाई हेर्दा अर्को निराशाको वातावरण पैदा हुने अवस्था छ। यसका निमित्त सरकारलाई माथि उल्लेखनीय काम अघि बढाउनका लागि सहयोग गर्ने र उसले गरेका गलत कामको आलोचना र विरोध गर्दै सही काममा गतिशीलता ल्याउन हामी सबैको भूमिका महत्वपूर्ण हुने छ।

जनजीवन यस्तो खतरामा परेको बेलामा प्याकेजको घोषणामा देखाएको कञ्जुसी गलत छ। थप प्याकेजको घोषणा गर्नु पर्दछ। छैटौं, पर्याप्त अक्सिजन र आइसीयुको व्यवस्था जसरी पनि गर्नु पर्छ। कुनै पनि अप्रिय घटना भइहाल्यो भने त्यसको मुख्य जिम्मेवारी सरकारले लिनुपर्ने कुरामा राम्रोसँग ध्यान दिनु जरुरी छ।    

आत्तिएर होइन, साहसका साथ सामना

संयुक्त राज्य अमेरिका, इटाली, स्पेन, फ्रान्स, जर्मनी आदि देशमा कोरोना भाइसरले देखाएको विनासलीलाबारे जानकारी राख्ने सबै नेपालीमा एक प्रकारको सन्त्रास फैलिनैरहेको छ।

त्यसमाथि पनि नेपालमै यसको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको समाचारले झन् मानिसहरुमा यो सन्त्रास बढ्न सक्दछ। हाम्रो समाजमा अझै यो नियन्त्रण भित्रै छ, नियन्त्रण भन्दा बाहिर गइसकेको अवस्था छैन। यो अवस्थामा हामीले धैर्य र साहस दुवै कायम राख्नु पर्दछ। यो यस्तो महामारी हो जसको सामना हामी सबै मिलेर गर्न सकिन्छ।

‘लकडाउन’ यो संक्रमणलाई फैलिनबाट रोक्ने एउटा प्रभावकारी उपाय भएको हुनाले हामी सबैले यसको इमान्दारीपूर्वक पालना गर्नु पर्दछ। हाम्रो जस्तो देशका लागि यो एकदम महत्वूर्ण विधि हो। हामी आफ्नै लागि, हाम्रो परिवारका लागि, हाम्रो समाजका लागि, हाम्रो देशका लागि, संसारकै लागि कोरोनाबाट मुक्त गर्ने अभियानमा जुटौं।

विगतमा सरकारको जुन ज्यादै कमजोर भूमिका रह्यो, त्यसलाई हेर्दा अर्को निराशाको वातावरण पैदा हुने अवस्था छ। यसका निमित्त सरकारलाई माथि उल्लेखनीय काम अघि बढाउनका लागि सहयोग गर्ने र उसले गरेका गलत कामको आलोचना र विरोध गर्दै सही काममा गतिशीलता ल्याउन हामी सबैको भूमिका महत्वपूर्ण हुने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.